पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलियाले सरकारद्वारा कार्यकारी परिषद्बाट बर्खास्त गरिएका डा. रमेशबाबु काफ्लेलाई विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त गरेका छन्। पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारको जिम्मेवारी सहप्राध्यापक काफ्लेलाई तोकिएको हो।
विश्वविद्यालयको २०८३ जेठ ७ गतेको निर्णयबमोजिम काफ्लेलाई रजिस्ट्रारको पदभार सुम्पिएको उल्लेख छ। उनलाई बढीमा तीन महिनाका लागि यो जिम्मेवारी तोकिएको पत्रमा जनाइएको छ।
नवनियुक्त रजिस्ट्रार काफ्ले यसअघि पूर्वाञ्चल विश्वविद्यालय जनसंख्या तथा विकास केन्द्र, विराटनगर, मोरङमा सह–प्राध्यापकका रूपमा कार्यरत थिए। गणित विषयका सह–प्राध्यापक डा. काफ्ले यसअघि पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १२ को खण्ड (ग) बमोजिम शिक्षकहरू मध्येबाट कार्यकारी परिषद्को सदस्यमा मनोनीत भएका थिए।
सरकारले हालै जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ को अनुसूची १ को ३६ मा भएको व्यवस्थाअनुसार उनी पदमुक्त भएका थिए। सोही प्रावधान बमोजिम बर्खास्तीमा परेका काफ्लेलाई उपकुलपति थपलियाले कार्यकारी परिषदको सदस्य सचिव रहने, विश्वविद्यालयकै झनै महत्वपूर्ण मानिने रजिस्ट्रारको जिम्मेवारी प्रदान गरेका हुन्।
सरकारले उपकुलपति थपलियालाई बर्खास्त गरेको १२ दिनपछि पुन: उपकुलपतिको जिम्मेवारी थमाएको थियो। बर्खास्त गरेकै व्यक्तिलाई पुन: जिम्मेवारी दिइएको भन्दै आलोचना भइरहेका बेला उपकुलपति थपलियाले सरकारकै पदचाप पछ्याउँदै आफ्ना विश्वासपात्र डा. काफ्लेलाई रजिस्ट्रारको जिम्मेवारी दिएका हुन्।
उनको नियुक्तिका विषयलाई लिएर अहिले विश्वविद्यालयभित्र असन्तुष्टि देखिन थालेका छन्। डा. काफ्ले केही दिन अगाडि मात्र सेवा आयोगद्वारा लिइएको प्राध्यापक पदको अन्तर्वार्तामा असफल भएका थिए। प्राध्यापक पदमा बढुवा हुनबाट रोकिएका काफ्लेलाई उपकुलपति थपलियाले त्यसैको सहानुभूति स्वरूप रजिस्ट्रारको जिम्मेवारी थमाएको प्राध्यापकहरू बताउँछन्। उनी सेवा आयोगले लिएको गणित विषयको प्राध्यापक पदका लागि एक्लै हुँदासमेत असफल बनाइएका थिए।
विश्वविद्यालयका सह–कुलपति समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई विश्वासमा लिएका उपकुलपति थपलियाले उनकै आडमा लामो समयसम्म विश्वविद्यालयमा टिकिरहने कसरतमा लागेको एक प्राध्यापकले बताए। उपकुलपति आफैँ कामचलाउ रहेको सन्दर्भमा उनले आफू अनुकूलको नियुक्ति दिएको विषयमा समेत थपलियाको आलोचना सुरु भएको छ।
नाम सार्वजनिक नगर्ने सर्तमा एक प्राध्यापकले भने, ‘अहिलेसम्म त चुप लागेरै बसेका छौँ, निकट भविष्यमा विश्वविद्यालयमा ठूलै भुइँचालो आउने खतरा देखिँदैछ।’ झन्डै दुईतिहाइको सरकारले विश्वविद्यालयमा सुधार गर्ने अपेक्षा गरिए पनि पदाधिकारीहरू हटाएजस्तो गरेर फेरि तिनै व्यक्तिलाई अहिले जिम्मेवारीमा ल्याएको छ।
बाहिर देख्दा सुशासन गरेको तथा हटाएको जस्तो देखिए पनि भित्र ठूलो चलखेल भइरहेको ती प्राध्यापक बताउँछन्। बर्खास्तमा परेकै पदाधिकारीहरूलाई खोजेर जिम्मेवारी दिने भए सरकारको बर्खास्तीको निर्णयको कुनै अर्थ नरहेको टिप्पणी असन्तुष्ट पक्षले गरेको छ।

विश्वविद्यालयका उपप्राध्यापक दिनेशराज सुवेदीलाई परिषदले दुई वर्षसम्मका लागि उपकुलपतिको सल्लाहकारमा नियुक्त गरिएको छ। त्यस्तै, अनुगमन तथा मूल्यांकन केन्द्रको कार्यकारी निर्देशक रहेका डा.उत्तम रेग्मीे कार्यकारी पदमा रहेकै समयमा पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायको डिनको जिम्मेवारी भर्खरै दिइएको छ। जनसंख्या विषयका सहप्राध्यापक रामप्रसाद ढकाल, जो यसअघि योजना महाशाखा प्रमुख भइसकेका व्यक्ति विश्वविद्यालय कला, कानुन तथा शिक्षाशास्त्र संकायको डिन बनाइएको छ। उनलाई योजना महाशाखा प्रमुखको समेत थप जिम्मेवारी तोकिएको छ।
पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायको डिनको जिम्मेवारी डा. श्यामकुमार मल्लिकलाई दिइएको छ। उनी यसअघि सहडिनको रूपमा कार्यरत थिए। विज्ञान तथा प्रविधि संकायको डिनको जिम्मेवारी नवीन भट्टराईले प्राप्त गरेका छन्। उनी पनि सहडिनको रूपमै कार्यरत थिए। इन्जिनियरिङ संकायको सहडिन देवलाल यादवलाई डिनको जिम्मेवारी तोकिएको छ। यी सबै पदाधिकारीहरू काम चलाउको रूपमा उपकुलपतिको जिम्मेवारीमा आएपछि थपलियाले नियुक्त गरेका हुन्।
तर प्राध्यापक संघ भने यसबारेमा विभाजित देखिएको छ। नियुक्ति लिएका र नपाउनेको बिचमा दुई समूह देखिएको छ। प्राध्यापक संघका महासचिव प्रसन्न दाहालले विश्वविद्यालयको प्राज्ञिक नेतृत्व बाहिरबाट ल्याउनुभन्दा आन्तरिक प्राध्यापकहरूमध्येबाटै छानिनुपर्छ भन्ने संस्थागत अडानका साथ संघले लबिइङ र पत्राचार मात्र गरेको दाबी गरे। रजिस्ट्रार लगायतका पदहरूमा हुने नियुक्ति नेपाल सरकारको निर्णय र उपकुलपतिको सिफारिसमा हुने भएकाले यसलाई अल्पकालीन व्यवस्थाका रूपमा बुझ्नुपर्ने भन्दै संघले हालै भएका नियुक्तिहरूको बचाउ गरेको छ।
पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष नरेश साहले कामचलाउ नेतृत्वले कामचलाउकै रूपमा काम गर्नुपर्ने बताए। अप्ठ्यारोमा विश्वविद्यालयलाई सहज बनाउन जिम्मेवारी पाएका पदाधिकारीहरूले आफ्नो जिम्मेवारीमा बसेका काम गर्नुपर्ने बताए। उनले भने, ‘जिम्मेवारी पाएका व्यक्तिहरूले यस अवधिमा आफ्नो सीमा भुलेर कुनै दीर्घकालीन नीतिगत निर्णय वा ठूलो आर्थिक कारोबार गरेमा भने त्यो क्षेत्राधिकार बाहिरको र अख्तियार दुरुपयोगको विषय बन्नेतर्फ भने सचेत हुनुपर्छ।’
थपलिया निरन्तर शक्तिमा
उपकुलपति थपलिया वि.सं २०५६ सालतिर विश्वविद्यालय सेवामा प्रवेश गरेका थिए। २०५८ सालमा स्थायी भए। उनी निरन्तर डिन, कार्यकारी परिषद् सदस्य, प्राज्ञिक परिषद् सदस्य, निमित्त उपकुलपति तथा पूर्ण उपकुलपति जस्ता शक्तिशाली पदहरूमा रहँदै आएका छन्।
निरन्तर प्रशासनिक र राजनीतिक पदमै व्यस्त रहेका कारण उनले आफ्नो मूल जिम्मेवारी अर्थात् विद्यार्थी पढाउने काम चाहिँ कम गरेको भनेर टीकाटिप्पणी हुने गर्छ। उनी उपप्राध्यापक छँदै २०६१ सालतिर नर्वेमा अध्ययनका लागि पूर्ण तलबी बिदामा गएका थिए। सामान्यतया स्नातकोत्तर दुई वर्षको हुने र पाँच वर्षभन्दा बढी बिदा नपाइने नियम भए तापनि उनले विभिन्न प्रक्रिया मिलाएर झन्डै ६ वर्षसम्म उतै बसे। सीधै विद्यावारिधि (पीएचडी) गरेर उनी फर्किएका हुन्।
उनी विदेशमा अध्ययन गरिरहेकै अवधिमा पनि यहाँ नेपालमा उनको सेवा अवधि गणना भई पदोन्नति (बढुवा) को प्रक्रिया अघि बढेको थियो, जसकारण उनी फर्किएर आउनासाथ सह–प्राध्यापक (रिडर) बन्न सफल भए। तत्कालीन उपकुलपति शिरिष रिजालको कार्यकालमा उनले कामचलाउ डिनको भूमिका निभाएका थिए।
तत्कालीन उपकुलपति घनश्याम लालदासको कार्यकाल सकिन केही दिन बाँकी रहँदै (संवत् २०७६ सालतिर) उनलाई पुन: व्यवस्थापन संकायको डिन बनाइएको थियो। लालदास बाहिरिएपछि उनलाई निमित्त उपकुलपतिको जिम्मेवारी मिल्यो, जुन तीन महिनाका लागि भनिए पनि थपिँदै ६ महिना पुग्यो।
त्यसपछि २०७६ फागुनमा यादवराज कोइराला उपकुलपति बनेर आए पनि उनको डिनको चार वर्षको कार्यकाल सुरक्षितै रह्यो। कोइरालाको पालामा उनी कार्यकारी परिषद्, प्राज्ञिक परिषद् र सिनेट (सभा) गरी विश्वविद्यालयका निर्णय गर्ने तीनवटै सर्वोच्च निकायमा एकैपटक सदस्य बन्न सफल भएको विश्वविद्यालय प्रशासन बताउँछ।
विश्वविद्यालय प्रशासनका अनुसार यादवराज कोइरालाको कार्यकाल सकिएको ठीक एक महिनापछि उनी पुन: चार वर्षका लागि पूर्ण उपकुलपति नियुक्त भएका थिए। यद्यपि चार वर्षको अवधि पूरा हुन नपाउँदै दुई वर्षमै उनलाई अहिलेको सरकारले हटायो। अहिले फेरि उनी कामचलाउ उपकुलपतिको रूपमा शक्तिमा फर्किएका छन्।
उपकुलपति थपलियाले विश्वविद्यालयमा डिन पद रिक्त हुँदा प्रशासनिक तथा शैक्षिक कार्य ठप्प हुने भएकाले तत्कालका लागि मौजुदा सहायक डिनहरूलाई नै जिम्मेवारी तोकिएको बताए। विश्वविद्यालयका पाँचवटा संकायमध्ये तीनवटामा उप–डिन कार्यरत रहेकाले उनीहरूलाई नै विभागीय जिम्मेवारी दिइएको र बाँकी दुई संकायमा अन्य बहालवाला पदाधिकारीहरूलाई अतिरिक्त जिम्मेवारी सुम्पिएको उनको भनाइ छ।
यो व्यवस्था संक्रमणकालीन अवधिका लागि मात्र भएको र नयाँ पदाधिकारी आएपछि स्वत: खारेज हुने उनले प्रस्ट पारे। गुटबन्दीको आरोपलाई अस्वीकार गर्दै उनले विश्वविद्यालयका शतप्रतिशत शिक्षक र कर्मचारी आफ्ना लागि समान रहेको दाबी गरे।
रजिस्ट्रार नियुक्तिको सम्बन्धमा उपकुलपति थपलियाले कानुनी र व्यावहारिक बाध्यताका कारण उक्त निर्णय लिनुपरेको उल्लेख गरे। उपकुलपति थपलियाले भने, ‘सुरुमा डिनहरूको जिम्मेवारी तोक्दा रजिस्ट्रार नियुक्त नगर्ने सोच भए तापनि विश्वविद्यालयका दैनिक र आधारभूत निर्णयहरू प्रक्रियागतरूपमा अगाडि बढाउन एकल निर्णयबाट सम्भव नभएकाले रजिस्ट्रारको आवश्यकता परेको हो।’
माथिल्लो निकायबाट पनि नयाँ पदाधिकारी नियुक्त भई नआउँदासम्म दैनिक कार्य सञ्चालनका लागि निमित्त तोक्न निर्देशन आएकाले सोहीबमोजिम गरिएको उनले जानकारी दिए। पूर्वाञ्चल विश्वविद्यालय ऐनको दफा २८ (ख) बमोजिम कुनै पनि पद रिक्त भएमा बढीमा तीन महिनाका लागि दैनिक कार्य सञ्चालन गर्न जिम्मेवारी तोक्न सकिने कानुनी प्रावधान रहेकाले सोही आधारमा डा. रमेशबाबु काफ्लेलाई वरिष्ठताका आधारमा जिम्मेवारी दिइएको उनले प्रस्ट पारे।
पूर्वाञ्चल विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयहरूमा भइरहेका पछिल्ला पदाधिकारी नियुक्तिहरू तत्कालको प्रशासनिक शून्यता मेट्नका लागि गरिएको कामचलाउ व्यवस्था मात्रै भएको सरकारले जनाएको छ। विश्वविद्यालयहरूमा उपकुलपति, रजिस्ट्रार तथा डिन लगायतका पदहरूमा भइरहेका नियुक्तिहरू नियमित वा स्थायी नभएर निमित्त प्रकृतिको मात्र भएको शिक्षा तथा खेलकुद मन्त्रालयका अधिकारीहरू बताउँछन्।
मन्त्रालयको उच्च शिक्षा महाशाखा प्रमुख सहसचिव श्रीप्रसाद भट्टराईका अनुसार अहिले रिक्त रहेका स्थानहरूमा जहाँ–जहाँ नियुक्तिहरू भएका छन्, ती सबै निमित्त र कामचलाउ प्रयोजनका लागि मात्रै गरिएको हो।
पूर्वाञ्चल विश्वविद्यालयको ऐनमा व्यवस्था भएबमोजिम नै उपकुलपतिले निमित्त डिनहरूको नियुक्ति गरेको र कानुनी परिधिभित्र रहेर गरिएका यस्ता सबै नियुक्तिहरू अहिलेका लागि कामचलाउ स्वरूपकै रहने सहसचिव भट्टराईले जानकारी दिए।
Shares

प्रतिक्रिया