कोशी


विराटनगरमा कांग्रेस इतर समूहको भेला : क्रियाशील सदस्यता अध्यावधिक नगर्ने

विराटनगरमा कांग्रेस इतर समूहको भेला : क्रियाशील सदस्यता अध्यावधिक नगर्ने

नेपालखबर
जेठ ७, २०८३ बिहिबार २१:२८, विराटनगर

​नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर विराटनगरमा इतर समूह (शेखर कोइराला तथा  पूर्णबहादुर खड्का पक्ष) को भेलाले सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ।

विराटनगरस्थित रामजानकी सेवा सदनमा आयोजित उक्त भेलामा पार्टीका केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका नेताहरूको उपस्थिति थियो। नेपाली कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईंले त्यसलाई पार्टीलाई फुटतर्फ लैजान नभई झन् व्यवस्थित, मर्यादित र पारदर्शी बनाउनका लागि छलफल गरिएको स्पष्ट पारे।

भेलाको मुख्य उद्देश्य साथीभाइहरूलाई धम्क्याउने र दुःख दिने कार्य बन्द गराई निष्पक्ष ढंगले महाधिवेशन सम्पन्न गराउने वातावरण तयार गर्नु रहेको उनको भनाइ छ।

​बैठकमा मुख्य गरी वडा सभापतिहरूको अधिकार कटौती गरिएको विषयमा गम्भीर असन्तुष्टि र आक्रोश व्यक्त भएको छ। केन्द्रीय कार्यसमितिले जेठ २१ गतेभित्र वडालाई पत्र पठाएर अनलाइनमार्फत क्रियाशील सदस्यता अद्यावधिक गर्न समय तोकेको भए तापनि कतिपय वडाहरूमा वडा सभापतिहरूले प्रक्रिया सुरु नगर्दै उनीहरूलाई बाइपास गरिएको नेताहरूले बताएका छन्।

तोकिएको समय सीमा नसकिँदै वडाकै अन्य व्यक्तिहरूलाई जिम्मेवारी दिई सदस्यता अद्यावधिक गराउने काम भएकाले यसले वडा सभापतिहरूको अधिकारमाथि सीधा प्रहार गरेको ठहर भेलाले गरेको छ। यसका साथै जिल्ला सभापति वा अन्य पदाधिकारीलाई हटाउने वा कारबाही गर्ने भन्दै नेतृत्वबाट आइरहेका ठाडो र धम्कीपूर्ण अभिव्यक्तिप्रति पनि स्थानीय र जिल्ला तहका नेता-कार्यकर्ताले आक्रोश पोखेका थिए।

‘​कांग्रेसलाई प्रविधियुक्त र आधुनिक बनाउने कुरामा हाम्रो कुनै दुविधा वा कुनै विमति छैन, तर महाधिवेशनको मुखमा आएर चौतर्फी दबाब सिर्जना गरी हतारहतार घरमै बसेर फर्म भर्न लगाउने शैली न्यायसंगत हैन,’ महानगर सभापति चापागाईंले भने।

कार्यकर्ताहरूले दुई महिना अगाडि नै लेवी र आवश्यक शुल्क बुझाएर सदस्यता नवीकरण गरिसकेको अवस्थामा फेरि नयाँ ढंगले प्रविधिको नाममा अद्यावधिक गर्ने कार्यको औचित्यमाथि प्रश्न उठेको प्रदेश महामन्त्री भुपेन्द्र राईले जानकारी दिए। विगतको सोही नवीकरणलाई नै मान्यता दिएर महाधिवेशनमा जानुपर्ने अडान यो समूहले राखेको छ। अनलाइन प्रणालीमा केन्द्रको एकलौटी अधिकार हुने भन्दै यसलाई अस्वाभाविक मानेका छन्।

​केन्द्रीय कार्यसमिति वा निश्चित कोठामा बसेका व्यक्तिको हातमा मात्र आईडी र प्रणालीको साँचो रहँदा, त्यसैको आडमा हजारौँ नयाँ क्रियाशील सदस्यहरू थपिएमा त्यसको पारदर्शिता कायम नहुने नेताहरूको भनाइ छ।

‘​यस्तो अनलाइन प्रणालीमा न त सम्बन्धित वडा सभापतिको हस्ताक्षर रहन्छ, न क्षेत्रीय, प्रदेश वा जिल्ला सभापतिककै प्रमाणीकरण हुन्छ। जसको हातमा प्रणालीको साँचो रहन्छ उसैको मात्र एकाधिकार चल्ने र भोलि महाधिवेशन पूर्ण रूपमा एकपक्षीय र विवादित हुने जोखिम उच्च हुने देखिन्छ,’ राईले भने।

​रामजानकी सेवा सदनमा भएको उक्त भेलामा पार्टीका शीर्ष र स्थानीय नेतृत्वको बलियो उपस्थिति थियो। भेलामा नेपाली कांग्रेस कोसी प्रदेशका महामन्त्री भूपेन्द्र राई, पूर्व केन्द्रीय सदस्य भीम पराजुली, मोरङ जिल्ला उपसभापति नागेश कोइरालालगायत वडा, नगर, प्रदेश र केन्द्रसम्मका करिब  एक सय जना नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad