‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ को मूल नारासहित कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख परशुराम खापुङले बिहीबारको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै संघीयताको सबलीकरण, उत्पादन वृद्धि, बसाइसराइ न्यूनीकरण र प्रविधिमैत्री सुशासनलाई केन्द्रमा राखेर सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
‘स्वदेशी काठ, आफ्नै पाखाः वन पैदावारमा बनौँ पक्का’ र ‘कोसीको चिया, संसारलाई पिया’जस्ता आकर्षक सोचका साथ सरकारले आन्तरिक उत्पादनलाई उच्च प्राथमिकता दिएको छ। चिया तथा कफीको अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तर कायम गर्न चिया परीक्षण प्रयोगशाला र अनुसन्धान केन्द्रलाई प्रभावकारी बनाइने उल्लेख गरिएको छ। कोसीको पहिचानलाई विश्व बजारमा पुर्याउन अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलन आयोजना गर्ने घोषणा गरिएको छ।
पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ‘नेपाली मन, आत्मीय पन’ नारा सहितको अर्को नारा थप भएको छ। वि।सं। २०८३ श्रावणदेखि २०८५ असारसम्मलाई कोशी प्रदेश भ्रमण वर्षका रूपमा मनाउँदै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने सरकारको लक्ष्य छ। चतरा–वराहक्षेत्रलाई व्यवस्थित कुम्भ क्षेत्रका रूपमा विकास गरिनेछ भने धरान–विराटनगर आसपासका धार्मिक परिपथ (वराहक्षेत्र–पिण्डेश्वरी–दन्तकाली–विष्णुपादुका–रामधुनी) लाई चारधाम सर्किटमा समेटिने नीति तथा कार्यक्रममा उल्लेख छ।
‘एक घर, एक धाराः कोशी प्रदेशको मूल नारा’लाई निरन्तरता दिँदै स्वच्छ खानेपानीको पहुँच नपुगेका क्षेत्रमा लिफ्ट र डिप बोरिङ प्रविधि जडान गरिने भएको छ। भौतिक पूर्वाधारतर्फ यातायात क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउन ‘अटोमेटेड ड्राइभिङ टेस्ट ट्रयाक’ प्रणाली लागू गरी सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षालाई स्वचालित बनाइने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
दीर्घकालीन योजनाअन्तर्गत संघीय सरकारसँगको समन्वयमा तमोर–चिसाङ डाइभर्सन परियोजना कार्यान्वयन गर्ने र तमोर–लेउती सुरूङमार्ग तथा चतरा–लुक्ला रेलमार्गको सम्भाव्यता अध्ययन गरिने नीतिमा समेटिएको छ। डिजिटल सुशासनलाई मजबुत बनाउन मुख्यमन्त्री ड्यासबोर्ड र विद्युतीय सूचना प्रणालीलाई प्रभावकारी बनाउने सरकारको योजना छ।
‘पढ्दै कमाउँदै, देशमै रमाउँदै’ अभियानमार्फत युवाहरूलाई प्राविधिक शिक्षा र रोजगारीसँग जोडिने उल्लेख छ। सामुदायिक विद्यालयको गुणस्तर सुधारका साथै मनमोहन प्राविधिक विश्वविद्यालयलाई वैज्ञानिक अनुसन्धान तथा आविष्कार केन्द्रको रूपमा विकास गरिने संकल्प गरिएको छ। धनकुटामा चिकित्सा शास्त्र विधाको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रक्रिया सुरु हुने भनिएको छ।
खेलकुद क्षेत्रको विकासका लागि विराटनगर महानगरपालिकाको बैजनाथपुरमा प्रदेश खेलकुद ग्रामको विकास गर्दै त्यहाँ रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन समन्वय गरिने सरकारको नीतिमा उल्लेख छ।
स्वास्थ्यतर्फ ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ अभियानलाई समुदायस्तरसम्म विस्तार गरिनेछ। शैलजा आचार्य कोसी प्रादेशिक अस्पताल तथा हृदय केन्द्रको पूर्वाधार विकास गरी आकस्मिक, हेमोडायलासिस र प्रसूति सेवा थप सुदृढ बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ।
Shares

प्रतिक्रिया