कोशी


कांग्रेस इतर समूहको निष्कर्ष: नेतृत्वले एकताको नारा दिएर विभाजनको खाडल बढाउँदै लग्यो

कांग्रेस इतर समूहको निष्कर्ष: नेतृत्वले एकताको नारा दिएर विभाजनको खाडल बढाउँदै लग्यो

नेपालखबर
बैशाख २९, २०८३ मंगलबार २१:११, विराटनगर

नेपाली कांग्रेसको संस्थापन इतर समूहको भेलाले पार्टीलाई बलियो बनाउन सभापति जिम्मेवार हुनु पर्ने निष्कर्ष निकालेको छ। भेलाले नेतृत्वको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ।

पार्टी एकताको नारा दिइए पनि नेतृत्वले चालेका पछिल्ला कदमहरूले विभाजनको खाडल झन् बढाउँदै लगेको निष्कर्ष सहभागीहरूको छ। विशेष गरी क्रियाशील सदस्यता नवीकरण र केन्द्रीय सदस्य मनोनयनका सन्दर्भमा देखिएको गतिविधिले पार्टीको तल्लो तहसम्म संशय पैदा गरेको उनीहरूको भनाई छ। 

भेलामा सहभागी नेताहरूले कांग्रेस अहिले इतिहासकै कठिन मोडमा रहेको र यो अवस्थामा पार्टी एकजुट नहुने हो भने लोकतन्त्र, संविधान र राष्ट्रियता नै जोखिममा पर्न सक्ने बताएका थिए। विगतमा न दुई कांग्रेस मिलेर बनेको इतिहास स्मरण गर्दै उनीहरूले काङ्ग्रेसभित्र विचार समूह हुनु स्वाभाविक भए पनि नेतृत्वले सबैलाई समेटेर लैजान नसक्नु मुख्य कमजोरी भएको बताएका छन्।

हिजोका दिनमा महामन्त्री हुँदा गगन थापाले क्रियाशील सदस्यता अनलाइनमार्फत पनि भर्न सकिने र विदेशमा रहेकाले पनि भर्न पाउने अडान राखेको तर अहिले सभापतिको जिम्मेवारीमा पुगेपछि ‘सशरीर उपस्थिति’ को अनिवार्य सर्त अघि सार्नु विरोधाभासपूर्ण रहेको टिप्पणी भेलामा गरिएको छ।

नेतृत्वले एकातिर डा. शेखर कोइराला र पूर्णबहादुर खड्का जस्ता शीर्ष नेताहरूसँग वार्ताको नाटक गर्ने र अर्कातिर धमाधम एकलौटी ढङ्गले १९ जनाको मनोनयन गर्ने कार्यले एकताको वातावरणलाई बिगारेको सहभागीहरूको बुझाइ छ।

विगतका महाधिवेशनहरूमा निर्वाचन समिति वा क्रियाशील छानबिन समिति बनाउँदा संस्थापन र इतर पक्षलाई सन्तुलित ढङ्गले समेट्ने अभ्यास रहेकोमा यस पटक त्यसलाई पूरै बेवास्ता गरिएकोमा आक्रोश व्यक्त गरेको बैठकमा सहभागी नेताहरूले बताएका छन्। १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुको साटो शक्ति कब्जा गर्ने रणनीतिमा नेतृत्व लागेको आरोप समेत लगाइएको छ।

बैठकमा वर्तमान राजनीतिक परिस्थिति र सरकारका गतिविधिप्रति पार्टी मौन रहेकोमा पनि आलोचना भएको छ। बैठकमा सहभागी मन सङ्ग्रौलाका अनुसार, प्रधानन्यायाधीश प्रकरण, स्वतन्त्र विद्यार्थी युनियनको खारेजी र विदेशी प्रभावमा यूथ काउन्सिलहरू गठन गर्ने प्रयास भइरहँदा पनि लोकतन्त्रको पहरेदार मानिने कांग्रेसले सशक्त आवाज उठाउन नसक्नु विडम्बनापूर्ण रहेको सहभागीहरूले बताएका थिए।

नेपाली विद्यार्थी सङ्गठनहरूलाई ध्वस्त बनाउने खेल भइरहँदा पार्टीले आफ्नो अडान स्पष्ट नगरेको भन्दै नेतृत्वको आलोचना भएको उनले बताए। विराटनगरको यो भेलामा केदार कार्की, भीम पराजुली, हसन अन्सारी, भूपेन्द्र राई, मदन सङ्ग्रौला, मृदुला घिमिरे, भगीरथ पोद्दार लगायत २० जना बढी नेताहरूले पार्टी सुधारका लागि ठोस कदम चाल्न नेतृत्वलाई सुझाव दिएका छन्।

नेतृत्वले वार्ता र संवादमार्फत तत्काल समस्याको समाधान नखोजे चुप लागेर नबस्ने र विकल्पको खोजी गर्ने समेत उनीहरूले चेतावनी दिएका थिए।  

यो समूहले कोसी प्रदेशमा आगामी जेठ १० गतेअघि नै डा. शेखर कोइराला, विजयकुमार गच्छदार र कृष्णप्रसाद सिटौला लगायतका शीर्ष नेताहरूको उपस्थितिमा एक बृहत् भेला आयोजना गर्ने सहमति समेत गरेको छ। कतिपयले आजको यो छलफललाई सिटौला समूहको भेला भने पनि केही शेखर कोइराला समूहका नेताहरू पनि सहभागी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad