उद्योग सङ्गठन मोरङले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस)को अवसरमा सुनसरी–मोरङ औद्योगिक करिडोरका श्रमिकलाई सम्मान गरेको छ। विभिन्न उद्योगमा कार्यरत तीन जना श्रमिकलाई उनीहरूको दीर्घकालीन सेवाको कदर गर्दै विशेष सम्मान गरेको हो।
दिवसको अवसरमा विराटनगरमा आयोजित शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रममा नेपाल लिकर्स प्रालिमा २५ वर्षदेखि कार्यरत मायावती थारु, स्वस्तिक जुट मिल ईण्डष्ट्रिज प्रालिमा २५ वर्षदेखि कार्यरत मोहम्मद ईद्रिस मिया र जयश्री पोलीमर्स प्रालिमा २० वर्षदेखि कार्यरत सीतादेवी लामिछानेलाई नगद तथा सम्मान पत्रसहित पुरस्कृत गरिएको हो।
सङ्गठनका अध्यक्ष नन्दकिशोर राठी, निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल लगायतका पदाधिकारी एवं ट्रेड युनियनका प्रतिनिधिहरूले श्रमिकहरूलाई संयुक्त रूपमा सम्मान गरेका थिए।
कार्यक्रममा सङ्गठनका अध्यक्ष राठीले श्रमिक दिवसलाई सङ्घर्ष, एकता र सामाजिक न्यायको प्रतीकका रूपमा चित्रण गर्दै उद्योग र श्रमिकबिचको सन्तुलित सम्बन्ध कायम गर्न सङ्गठनले सेतुको भूमिका निर्वाह गरिरहेको बताए। त्यस्तै, उपाध्यक्ष सुबोध कोइरालाले वर्तमान आर्थिक चुनौती र प्रविधिको विकासलाई अवसरमा बदल्न व्यवस्थापन र श्रमिकबिच घनिष्ठ सहकार्य हुनुपर्नेमा जोड दिएका थिए।
नेपाल ट्रेड युनियन कांग्रेस मोरङका अध्यक्ष सुशील कोइराला तथा नेपाल ट्रेड युनियन महासङ्घ जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमलाले संवाद र पारदर्शितामार्फत श्रमिकको अधिकार सुनिश्चित गर्दै औद्योगिक विकास गर्न सकिने धारणा राखेका थिए।
उनीहरूले अहिले विभिन्न श्रमिकहरू समस्यामा रहेकोले सबै मिले श्रमिकका समस्या समाधान गर्न आग्रह गरे। पूर्व अध्यक्षहरू, उद्योगी व्यवसायी एवं विभिन्न ट्रेड युनियनका प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यक्रमले औद्योगिक क्षेत्रमा श्रम र पुँजीबिचको सुमधुर सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ।
Shares

प्रतिक्रिया