कोशी


महामारीको ‘सारथि’ कोभिड अस्पताल बेवारिसे, करोडौँका उपकरण खिया लाग्दै

महामारीको ‘सारथि’ कोभिड अस्पताल बेवारिसे, करोडौँका उपकरण खिया लाग्दै

सुमन सुस्केरा
बैशाख ६, २०८३ आइतबार २१:२५, ​विराटनगर

कुनै बेला यहाँको माहोल अर्कै थियो। एम्बुलेन्सका साइरनहरू निरन्तर गुन्जिरहन्थे। सेतो पीपीई सेटमा सजिएका स्वास्थ्यकर्मीहरू जीवन बचाउने युद्धमा अहोरात्र खटिएका हुन्थे। उदयपुरको चौदण्डीगढी नगरपालिका–६ साताधारेस्थित कोभिड अस्पतालले महामारीको त्यो कठिन समयमा करिब सयौँ नागरिकलाई नयाँ जीवन दियो। तर, समय फेरियो, संकट टर्यो अनि संकटको त्यो ‘सारथि’ अहिले कसैले नहेर्ने ‘बेवारिसे’ संरचनामा परिणत भएको छ।

मदन भण्डारी राजमार्गसँगै रहेको सुविधायुक्त अस्पतालमा न अहिले कर्मचारी छन् न सेवा दिने डाक्टर, न साइरन बज्दै आउने एम्बुलेन्स नै छ, अहिले यहाँ सुनसान छ। अस्पतालको मूल ढोकामा ताल्चा झुण्डिएको छ भने वरिपरि मानवीय चहलपहल छैन। कोभिडको समयमा बनाइएको क्वारेन्टाइनका घरहरूमा सशस्त्र प्रहरी बसेको छ। त्यसको छेउमा बार लगाइएको छ भने अस्पताल तर्फको प्रयोगविहीन छ।

स्विजरल्याण्ड सरकार र उदयपुरका आठ स्थानीय तहको झन्डै  ३ करोड रुपैयाँको लगानीमा निर्मित यो अस्पताल अहिले सरकारी उपेक्षाको एउटा गतिलो उदाहरण बनेको छ।

​अस्पतालभित्र रहेका महँगा स्वास्थ्य उपकरणहरू अहिले प्रयोगविहीन भएर थन्किएका छन्। पोर्टेबल भेन्टिलेटर सहित ४० वटा आधुनिक बेड र ३० वटा अक्सिजन सिलिन्डरहरू त्यसै थन्किएको छ। महामारीको बेला एउटा बेड र अक्सिजनका लागि मानिसहरूले गरेको हारगुहार सम्झँदै स्थानीय अहिले ती सामग्रीहरू यसरी अलपत्र अवस्थामा देख्दा नमिठो मान्छन्। स्थानीय अञ्जनीकुमार अधिकारीले बनाउने बेलामा एक भएका पालिकाहरू यसलाई सञ्चालन र व्यवस्थापनका लागि पनि एक हुनु पर्ने बताउँछन्।

उनी भन्छन्,‘करोडौँको सार्वजनिक लगानी अहिले बालुवामा पानी हाले जस्तै भएको छ।’

चौदण्डीगढी नगरपालिकाले वर्षमा एकपटक अस्पताल देखाउनेसम्म काम गर्छ तर यसलाई व्यवस्थापन गर्ने कुरामा खासै चासो दिएको छैन।  
चौदण्डीगढी नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, अस्पतालभित्र अहिले पनि ४० वटा बेड, ३० वटा अक्सिजन सिलिन्डर (साना र ठूला), औषधि ट्रली र आईबी स्ट्यान्डहरू थन्किएका छन्। अस्पतालमा एउटा ‘पोर्टेबल भेन्टिलेटर’ समेत थियो, जुन हाल प्रयोगविहीन भएर थन्किएको  कर्मचारीहरू नै स्वीकार गर्छन्।

अस्पताल भवन निर्माणमा स्विस सरकारको करिब १ करोड ५० लाख र विभिन्न पालिकाहरूको १ करोड ८० लाख रुपैयाँ गरी करिब ३ करोडभन्दा बढी खर्च भएको अनुमान छ। बेड र अन्य उपकरणहरूमा मात्रै थप २५ लाख रुपैयाँभन्दा बढी खर्च भएको जनस्वास्थ्य अधिकृत श्रीकान्त चौधरी बताउँछन्।

अस्पताल नजिकै सशस्त्र प्रहरीको बेस क्याम्प रहेकाले भौतिक संरचना सुरक्षित देखिए पनि भित्रका उपकरणहरू भने सदुपयोग हुन सकेका छैनन्। केही समयअघि सो क्षेत्रमा आँखा शिविर सञ्चालन गर्ने तयारी गर्दा उपकरणहरू धुलोले पुरिएको अवस्थामा भेटिएका थिए।
‘यति धेरै लगानी भएका उपकरणहरू यसरी लथालिङ्ग राख्नुभन्दा ठूला अस्पतालहरूलाई हस्तान्तरण गरे जनताले सेवा पाउने थिए,’ तत्कालीन एक कर्मचारीले भने। 

​ट्रमा सेन्टर बनाउने गफ मात्रै
​करोडौँ लगानी गरेर निर्माण भएको कोभिड अस्पताललाई स्तर उन्नति गरी ट्रमा सेन्टर बनाउने कुरा नभएको पनि होइन। तर यसको नेतृत्व  लिन  कोही पनि अघि सरेन। चौदण्डीगढी नगरपालिकाले ट्रमा सेन्टर बनाउने विषयमा छलफल त गर्यो तर निर्णयमा पुग्न सकेन। मदन भण्डारी  राजमार्गमा दिनहुँजसो हुने दुर्घटनाका घाइतेहरूलाई तत्काल उपचार दिन यसलाई ‘ट्रमा सेन्टर’ का रूपमा विकास गर्न सकिने पर्याप्त आधारहरू छन्।

राजमार्गको छेउमै रहेकाले यहाँ आकस्मिक सेवा सुचारु हुनसके उदयपुर र आसपासका क्षेत्रका धेरैको ज्यान जोगिन सक्ने पालिकाको बुझाइ छ। चौदण्डीगढी नगरपालिकाका जनस्वास्थ्य अधिकृत चौधरीले अहिले प्रयोगविहीन अवस्थामा रहेको अस्पताललाई बहुउपयोगी बनाउने विषयमा छलफलसम्म भएको बताए।

​कोभिडको महामारीको समयमा उदयपुर जिल्लाका सबै पालिकाहरू मिलेर यो अस्पतालको परिकल्पना गरेका थिए। महामारी सकिएपछि ती संरचनाहरूलाई कसरी अन्य स्वास्थ्य सेवामा रूपान्तरण गर्ने भन्ने पूर्वयोजना नहुँदा आज यो अवस्था आएको हो। एकातिर आम नागरिक सामान्य उपचारका लागि पनि टाढाका सहर धाउन बाध्य छन्, अर्कोतिर दैलोमै भएको सुविधायुक्त अस्पताल झाडीले पुरिँदै छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad