प्रतिनिधि सभा सदस्य तथा श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सुनसरी क्षेत्र नम्बर १ का महत्वपूर्ण योजनाहरू समावेश गर्न माग गर्दै प्रधानमन्त्रीलाई पत्र लेखेका छन्।
सुनसरी क्षेत्र नं. १ का जनताले भोग्दै आएका आधारभूत समस्या समाधानका लागि आगामी बजेटको ‘रातो किताब’मा विशेष प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले ३७ बुँदे मागपत्र पेश गरेका हुन्।
सांसद राईले बुझाएको मागपत्रमा धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि सप्तकोशी धरान खानेपानी आयोजनालाई मुख्य प्राथमिकतामा राखिएको छ। आगामी ३० वर्षसम्मको आवश्यकतालाई मध्यनजर गर्दै धरानका विभिन्न वडाहरूमा पर्याप्त खानेपानी आपूर्ति सुनिश्चित गर्न उनले माग गरेका छन्।
यसका साथै धरान–२० को स्वाराँ, बराहक्षेत्र र रामधुनी नगरपालिकामा भूमिगत पानी निकालेर व्यवस्थित ओभरहेड ट्याङ्क निर्माण गरी खानेपानीको स्तर उन्नति गर्नुपर्ने मागपत्रमा उल्लेख छ।
स्वास्थ्य क्षेत्रतर्फ धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत ११ वर्षदेखि निर्माणाधीन मातृशिशु स्वास्थ्य भवनलाई तत्काल सम्पन्न गरी सञ्चालनमा ल्याउन उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
हाल एउटै बेडमा २–३ जना सुत्नुपर्ने र कतिपय अवस्थामा भुइँमै सुतेर उपचार गराउनुपर्ने बाध्यता रहेको भन्दै उनले राज्यको लापरवाहीको पराकाष्ठा भएको टिप्पणी गरेका छन्। साथै, प्रतिष्ठानको मर्चरी (शव राख्ने भवन) को जीर्ण अवस्था सुधार्न र आवश्यक मेसिनहरू थप गर्न समेत माग गरिएको छ।
पूर्वाधार विकासअन्तर्गत धरान र आसपासका क्षेत्रलाई जोड्ने दर्जनौँ सडकहरूलाई कालोपत्रे र स्तरोन्नति गर्न साम्पाङले प्रस्ताव गरेका छन्।
धरान–२० भन्ज्याङ छेउ कोकाहा खोलामा पक्की मोटरेबल पुल निर्माण, धरान–४ को जीवनरेखा मानिने देवीगाउँ–दानाबारी सडक, र धार्मिक पर्यटन प्रवद्र्धनका लागि विजयपुर–विष्णुपादुका–बराहक्षेत्र–रामधुनी जोड्ने धार्मिक तीर्थ यात्रा प्याकेज सडक निर्माणलाई विशेष जोड दिइएको छ।
वर्षायाममा सर्दु, सेउती, शेरा र अधेरी खोलाको भेलले बस्ती कटान गर्ने जोखिम रहेकोले ती क्षेत्रमा तटबन्धन र कोरिडोर निर्माण गर्नुपर्ने आवश्यकता पत्रमा औँल्याइएको छ।
वातावरण संरक्षणका लागि वैज्ञानिक फोहरमैला व्यवस्थापन गर्न स्यानिटरी ल्याण्डफिल साइटको निर्माण, बजार क्षेत्रका जोखिमपूर्ण हाइटेन्सन विद्युत लाइन स्थानान्तरण र धरान आविष्कार केन्द्रका लागि आवश्यक उपकरण खरिद जस्ता विविध जनपक्षीय योजनाहरू समेत मागपत्रमा समेटिएका छन्।
जनताको दुःख र शास्तीलाई मध्यनजर गर्दै यी आयोजनाहरूलाई प्राथमिकता श्रेणी १ मा राखेर बजेट विनियोजन गर्न सांसद राईले प्रधानमन्त्रीसँग विशेष अनुरोध गरेका छन्।
Shares

प्रतिक्रिया