कोशी


इलाममा ६५ फिट अग्लो बुद्ध प्रतिमासहितको पार्क उद्घाटन

युवालाई लक्षित गरी ‘उदय परियोजना’ ल्याइँदै
इलाममा ६५ फिट अग्लो बुद्ध प्रतिमासहितको पार्क उद्घाटन

नेपालखबर
चैत १८, २०८२ बुधबार १९:४८, ​विराटनगर

इलामको सूर्योदय नगरपालिका–३ बौद्धधाममा नवनिर्मित ६५ फिट अग्लो बुद्धको प्रतिमासहितको पार्क उद्घाटन गरिएको छ। ११ वर्षको निरन्तर प्रयासपछि निर्माण सम्पन्न भएको यस पार्कको बुधबार एक विशेष समारोहकाबीच मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले बुद्ध पार्क निर्माणसँगै कोसी प्रदेशमा अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्य थपिएको बताए।

उनले यस पार्कलाई प्रदेश सरकारले धार्मिक पर्यटकीय क्षेत्रको सूचीमा सूचीकरण गर्ने र बाँकी रहेका थप संरचना निर्माणको जिम्मा समेत प्रदेश सरकारले लिने प्रतिबद्धता जनाए। संघीय सरकार, कोसी प्रदेश र सूर्योदय नगरपालिकाको करिब ८ करोड रुपैयाँको लागतमा १७ रोपनी क्षेत्रफलमा यो पार्क निर्माण भएको हो।

गौतम बुद्ध स्मृति प्रतिष्ठानका अध्यक्ष लाकेल लामाका अनुसार, नेपाल–भारत सीमा क्षेत्र पशुपतिनगरबाट मात्र २ किलोमिटरको दूरीमा रहेको यो पार्क भारतीय पर्यटकका साथै तेस्रो देशका पर्यटकका लागि पनि प्रमुख आकर्षणको केन्द्र बन्ने देखिएको छ। उद्घाटन पूर्व बौद्ध धर्मगुरु खेन्छेन नाम्डोल छेरिङ रिम्पोछेसहितका धर्मगुरुहरूबाट प्रतिमाको प्राण प्रतिष्ठा गरिएको थियो।

उदय परियोजना शुरु गर्ने
मुख्यमन्त्री कार्कीले प्रदेशका युवा उद्यमीहरूलाई लक्षित गरी बिहीबारदेखि सुनसरीको इटहरीबाट ‘उदय परियोजना’ शुभारम्भ गर्न लागिएको जानकारी दिए। नवप्रवर्तन कार्यक्रममार्फत युवाहरूलाई व्यावसायिक बनाउन र बेरोजगारी समस्या समाधान गर्न यो परियोजना ल्याइएको उनको भनाइ थियो।

‘युवा उद्यमीलाई सहयोग गर्न प्रदेश सरकारले दुई वर्षभित्र ८ अर्ब रुपैयाँ लगानी गर्ने योजना बनाएको छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘यसका लागि स्वीस सरकारसँगको समन्वयमा आर्थिक वर्ष २०८२र०८३ को बजेटमा रकम विनियोजन भइसकेको छ।’

​परियोजनाअन्तर्गत साना तथा मझौला युवा उद्यमीले विभिन्न बैंकमार्फत ३० लाखदेखि ३ करोड रुपैयाँसम्म सहुलियत ब्याजदरमा ऋण पाउनेछन्। यस्तै, हिमाली र पहाडी जिल्लाका युवाहरूलाई १० लाखसम्मको ऋण ३० देखि ४० प्रतिशत धितोमा उपलब्ध गराइनेछ।

​प्रदेश सरकारले गत वर्षदेखि नै कृषि मन्त्रालयमार्फत ६ करोड रुपैयाँ विनियोजन गरी १५० भन्दा बढी परियोजनामा ६ प्रतिशत ब्याज अनुदान कार्यक्रम सञ्चालन गरिरहेको र यसले पहाडी क्षेत्रको बसाइँसराइ रोक्न समेत मद्दत पुग्ने मुख्यमन्त्रीले विश्वास व्यक्त गरे। 

सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बरालले पार्क सञ्चालनमा आएसँगै स्थानीय पर्यटन प्रवर्द्धन र आर्थिक आयआर्जनमा ठूलो टेवा पुग्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad