मोरङ जिल्लाका माध्यमिक शिक्षा परीक्षा (एसइई) का केन्द्राध्यक्षहरुले परीक्षा सञ्चालन बापत पाउने सेवा सुविधा र भत्ता अत्यन्तै न्यून भएको भन्दै आन्दोलनको चेतावनी दिएका छन्।
राष्ट्रिय परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले माग पूरा नभए आगामी परीक्षाका कुनै पनि कार्यमा सहयोग नगर्ने र कार्यक्षेत्रमा नखटिने घोषणा गरेका हुन्।
शिक्षा विकास तथा समन्वय इकाई, मोरङमार्फत बोर्डलाई पठाइएको पत्रमा केन्द्राध्यक्षहरुले विगतका वर्षदेखि नै भत्ता र खर्चको विषयमा ध्यानाकर्षण गराउँदै आए पनि हालसम्म कुनै सुनुवाइ नभएको गुनासो गरेका छन्।
हाल कायम रहेको भत्ताले परीक्षा मर्यादित रूपमा सञ्चालन गर्न र कर्मचारी खटाउन व्यवहारिक कठिनाइ भएको भन्दै उनीहरूले समय र सन्दर्भ अनुसार पारिश्रमिक वृद्धि गर्न माग गरेका हुन्।
माग पत्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकहरूको भत्ता एक दिनको तलब बराबर हुनुपर्ने अडान राखिएको छ। त्यस्तै, परीक्षा सहायक र कार्यालय सहयोगीको भत्तामा पनि वृद्धिको माग गरिएको छ। त्यस्तै स्टेसनरी, सरसफाइ र ढुवानी जस्ता प्रशासनिक खर्चका लागि उपलब्ध गराइने बजेटमा समेत हेरफेर गर्न आग्रह गरिएको छ।
केन्द्राध्यक्षहरूले आफ्ना मागहरू अविलम्ब सम्बोधन नभएमा आगामी परीक्षाका कार्यक्रमहरू सञ्चालन गर्न तथा व्यवस्थापनका लागि सहयोग गर्न असमर्थ रहने चेतावनी समेत दिएका छन्।
चैत १९ गतेदेखि माध्यमिक शिक्षा परीक्षा सञ्चालन हुँदै छ। परीक्षामा निरीक्षकहरूलाई कम्तीमा एक घण्टा अगावै उपस्थित हुनुपर्ने व्यवस्था छ। जनता माविका प्रधानाध्यापक चिन्तामणि रिजालले एक परीक्षामा झन्डै ५ घण्टा समय खर्चिनुपर्ने भए पनि निरीक्षकलाई ३५० र (१५ प्रतिशत कर कट्टीसहित) र कासलाई रु. २०० (१५ प्रतिशत कर कट्टीसहित) मात्र भत्ता प्रदान गरिनु श्रमको अवमूल्यन भएको बताए।
‘परीक्षा अवधि ३ घण्टाको हुन्छ भने उत्तर पुस्तिका सङ्कलन तथा प्याकेजिङका लागि थप करिब एक घण्टा समय लाग्छ, उनले भने, ‘यो शिक्षकप्रति देखिएको हेपाहा प्रवृत्तिको प्रतिफल हो, जसले श्रम शोषणको सङ्केत गर्छ। श्रमको उचित मूल्याङ्कन नहुनु वास्तवमै दुःखद पक्ष हो।’
वर्षौँदेखि भत्ता वृद्धि तथा अद्यावधिक गर्न माग उठ्दै आएपनि सम्बन्धित निकायबाट सुनुवाइ हुन सकेको छैन।

Shares

प्रतिक्रिया