कोशी


झापामा चितुवाको आक्रमणबाट सशस्त्र प्रहरीसहित चार जना घाइते

स्थानीयको प्रतिकारमा चितुवा मर्‍यो
झापामा चितुवाको आक्रमणबाट सशस्त्र प्रहरीसहित चार जना घाइते

नेपालखबर
चैत ८, २०८२ आइतबार २०:५७, विराटनगर

झापाको बुद्धशान्ति गाउँपालिकामा चितुवाको आक्रमणबाट एक सशस्त्र प्रहरी नायब निरीक्षक सहित चार जना घाइते भएका छन्।

आइतवार दिउँसो बुद्धशान्ति–४, टिमाई स्थित कमल खड्काको मकैबारीमा घाइते अवस्थामा चितुवा फेला परेको थियो। उक्त चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय झापासँगको समन्वयमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट बेलुका ६बजे विज्ञ टोली घटनास्थल पुगेको थियो।

विज्ञ टोलीले नियन्त्रणमा लिने प्रयास गर्दा चितुवा एक्कासी बिच्किएर आक्रमणमा उत्रिएको थियो। चितुवाको आक्रमणबाट घटनास्थलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी सुरक्षा बेस टिमाईका स।प्र।ना।नि। केदार श्रेष्ठ गम्भीर घाइते भएका छन्।

उनको अनुहार, हात, खुट्टा, कान र बायाँ पाखुरामा चोट लागेको प्रहरीले जनाएको छ। त्यसैगरी बुद्धशान्ति–६ का ५० वर्षीय कृष्ण गजमेर र ५४ वर्षीय दुर्गा बहादुर कटुवाल तथा मेचीनगर–१० का २६ वर्षीय विशाल कार्की समेत चितुवाको आक्रमणबाट घाइते भएका छन्। घाइते तीनै जनाको अवस्था सामान्य छ।

घाइते चारै जनाको अहिले बुद्धशान्तिस्थित भागिरथा न्यौपाने अस्पतालमा उपचार भइरहेको छ। विज्ञ टोली र सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि चितुवा स्थानीय बस्तीतर्फ मोडिएर सर्वसाधारणलाई समेत आक्रमण गर्न थालेको थियो।

सोही क्रममा स्थानीयले प्रतिकार गर्दा चितुवाको मृत्यु भएको छ। मृत चितुवालाई आवश्यक प्रक्रियाका लागि डिभिजन वन कार्यालय झापा लगिएको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad