निर्वाचन सम्पन्न भएसँगै मोरङमा मतगणनाको तयारी शुरू भएको छ। जिल्ला प्रशासन कार्यालयले शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया सकिएकोमा सन्तोष व्यक्त गर्दै अबको ध्यान मतगणना व्यवस्थापनमा केन्द्रित हुने जनाएको छ।
जिल्लाका ६ वटा निर्वाचन क्षेत्रहरूमा गणनालाई व्यवस्थित बनाउन र छिटो टुङ्ग्याउने तयारी मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयले गरिरहेका छन्।
यसका लागि आजै राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूसँग सर्वदलीय बैठक बसेर आवश्यक कार्यतालिका निर्माण गर्ने तयारी भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए।
आजै रातिसम्म सबै पक्षबीच सहमति जुटेमा आजै राति वा भोलि बिहानैदेखि मत गणना शुरू गर्ने तयारी भइरहेको कटेलले बताए। भौगोलिक विकटताका कारण केही स्थानहरूबाट मतपेटिका ल्याउन समय लाग्ने देखिएको छ।
विशेषगरी उत्तरी मोरङको केराबारी, मिक्लाजुङ लगायतका क्षेत्रबाट मतपेटिका आइपुग्न करिब चार घण्टा लाग्ने अनुमान गरिएकोले ती क्षेत्रमा भोलिदेखि मात्रै गणनाले गति लिने सम्भावना छ। अन्य क्षेत्रमा भने आजै राति प्रक्रिया अगाडि बढाउने प्रशासनको योजना छ।
Shares

प्रतिक्रिया