कोशी


बम भनेर रातभर कडा सुरक्षा, बिहान हेर्दा हाँडी र खरानी

बम भनेर रातभर कडा सुरक्षा, बिहान हेर्दा हाँडी र खरानी

नेपालखबर
फागुन १९, २०८२ मंगलबार ९:४३, विराटनगर

निर्वाचनको मौन अवधि सुरु भएकै रात विराटनगरको संवेदनशील क्षेत्रमा शंकास्पद वस्तु फेला परेपछि स्थानीय प्रशासन र सर्वसाधारणमा त्रास फैलिएको छ।

सोमबार राति जिल्ला प्रशासन कार्यालय मोरङ नजिकै रहेको विराटनगर महानगरपालिका-७ स्थित डाँफे चोकमा कालो प्लास्टिकको झोला भेटिएपछि बमको आशंकामा रातभर सुरक्षा व्यवस्था कडा पारिएको थियो।

सीसी क्यामेरा फुटेजमा मध्यरातमा स्कुटर चढेर आएका एक व्यक्तिले झोला छाडेर हिँडेको दृश्य देखिएपछि नेपाल प्रहरीले तत्कालै उक्त क्षेत्र सिल गरी नेपाली सेनालाई खबर गरेको थियो।

सूर्यदल गण थलाहाबाट खटिएको सेनाको बम डिस्पोजल टोली र नेपाल प्रहरीको टोलीले सम्भावित खतरालाई ध्यानमा राख्दै रातभर उक्त क्षेत्रलाई उच्च निगरानीमा राखेका थिए।

मंगलबार बिहान करिब ७ बजे सेनाको टोलीले हेर्दा झोलाभित्र कुनै विस्फोटक पदार्थ नभई केवल माटोको हाँडी, खरानी र पूजाको सामग्री फेला परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालले निर्वाचनको मुखमा यस्तो शंकास्पद गतिविधि देखिएपछि प्रशासनले सम्भावित खतरा मानेरै उच्च सतर्कता अपनाएको बताए।

उनले जाँचपछि मात्रै पूजाको सामग्री भएको पुष्टि भएको र सबै ढुक्क भएको जानकारी दिए। निर्वाचनको समय अति संवेदनशील भएकाले सचेत बन्नु परेको बताए।

घटनामा कुनै विस्फोटक वस्तु नभेटिए पनि निर्वाचनको समयमा सार्वजनिक स्थलमा यसरी त्रास फैलाउने गरी वस्तु राख्ने व्यक्तिको खोजी तीव्र पारिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad