नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा विकासको कायापलट भएको दाबी गर्दै अब कालोपत्रे नभएको सडक खोज्नुपर्ने अवस्था आएको बताएका छन्।
बुधबार झापाको दमकमा तीन पाङ्ग्रे सवारी चालक श्रमिकहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त धारणा राखे। विगतको स्मरण गर्दै ओलीले पहिले यो क्षेत्रमा चुनाव प्रचारमा हिँड्दा गाडीमा कोदालो र फरुवा बोकेर हिँड्नुपर्ने बाध्यता रहेको तर अहिले पूर्व-पश्चिम राजमार्गबाहेक अन्यत्र पनि सडक सञ्जालको व्यापक विस्तार भएको उल्लेख गरे।
खासगरी २०७२ सालपछि नेकपा एमालेको नेतृत्वमा सरकार बनेपछि नेपालमा पूर्वाधार विकासले असाधारण फड्को मारेको अध्यक्ष ओलीको दाबी छ। ओलीका अनुसार, पछिल्लो १० वर्षको अवधिमा भएको भौतिक विकासकै कारण दमक नगरपालिकाभित्र मात्रै अहिले ६ हजारभन्दा बढी तीनपाङ्ग्रे सिटी रिक्साहरू सञ्चालनमा रहेका छन्।
नगरका प्रायः सबै क्षेत्रमा कालोपत्रे सडक पुगिसकेकाले यति ठूलो संख्यामा सवारी साधन चल्न सहज भएको र यसले प्रत्यक्ष रूपमा ६ हजार मजदुरलाई रोजगारी दिलाएको उनले बताए।
अन्तरक्रियामा चालकले ९ वर्षदेखि लाइसेन्स बिना नै जोखिमपूर्ण रूपमा रिक्सा चलाइरहेको र यातायात कार्यालयको झन्झटिलो प्रक्रियाले गर्दा लाइसेन्स पाउन नसकेको गुनासो पोखेका थिए।
चालकको पीडा सुनेपछि अध्यक्ष ओलीले कुनै पनि कानुनी अड्को थापेर काम नरोक्न र लाइसेन्स लिने प्रक्रियालाई सहज एवं गुणस्तरीय बनाउन सम्बन्धित कार्यालयलाई आग्रह गरे। उनले सवारी चलाउँदा ट्राफिक नियम पालना गर्नुपर्ने अनिवार्य सर्त रहेकाले दुर्घटनाको जोखिम न्यूनीकरणका लागि लाइसेन्स प्रक्रियामा सुधार हुनुपर्नेमा जोड दिए।
सोही अवसरमा दमक जिफन्टका अध्यक्ष मेघनाथ सुवेदीले स्थानीय तह र यातायात कार्यालयबीच समन्वय नहुँदा कर प्रणालीमा एकरूपता नभएको विषय उठाए। नगरपालिकाले प्रति सिटी वार्षिक ६ सय रुपैयाँ र यातायात कार्यालयले ६ हजार रुपैयाँ कर लिने गरेको भन्दै उनले ब्लुबुक नवीकरण र श्रमिकको बीमा व्यवस्था हुनुपर्ने माग अध्यक्ष ओली समक्ष राखेका थिए।
जवाफमा अध्यक्ष ओलीले एमाले सधैँ विपन्न र न्यून आय भएका मजदुरको हितमा लड्ने र संविधानमा व्यवस्था भएअनुसार नागरिकको गास, बास र कपासको अधिकार सुनिश्चित गर्न नीतिगत सुधार गरिरहने प्रतिबद्धता व्यक्त गरे।
Shares

प्रतिक्रिया