कोशी


उदयपुर-१: नारायण खड्का नहुँदा विरासत जोगाउन कांग्रेसलाई चुनौती, मौकाको खोजीमा एमाले र नेकपा

उदयपुर-१: नारायण खड्का नहुँदा विरासत जोगाउन कांग्रेसलाई चुनौती, मौकाको खोजीमा एमाले र नेकपा

सुमन सुस्केरा
फागुन २, २०८२ शनिबार १९:३३, विराटनगर

उदयपुर जिल्लामा यो पटक चुनावी  प्रतिस्पर्धामा अधिकांश नयाँ अनुहार प्रतिस्पर्धामा छन्।

२०६४ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका नारायण खड्काले यो निर्वाचनमा टिकट पाएनन्। नेपाली कांग्रेसबाट निरन्तर निर्वाचित हुँदै आएका खड्काले २०७९ को निर्वाचनमा ३१ हजार २७० मत ल्याएर एमालेका मञ्जुकुमारी चौधरीलाई पराजित गरेका थिए। चौधरीले २८ हजार ८९१ मत पाएकी थिईन्।

त्यसअघि २०७४ सालको निर्वाचनमा पनि उनै खड्का र चौधरी बिचमा प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धामा खड्काले ३३ हजार १४२ मत ल्याउँदा चौधरीले ३२ हजार ५९४ मत पाएकी थिईन्। 

२०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीबीच चुनावी एकता भएको थियो।

त्यस्तै २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीकोबीचमा गठबन्धन बनेको थियो। 

आगामी निर्वाचन फागुन २१ को चुनावी सरगर्मी बढेसँगै उदयपुर क्षेत्र नम्बर १ मा नयाँ अनुहारहरू अहिले चुनावी प्रतिस्पर्धामा छन्। डा.नारायण खड्काको विरासतमा यो पटक कांग्रेसले बिदुर बस्नेतलाई उम्मेदवार बनाएको छ। त्यस्तै एमालेबाट दुर्गा थापा (स्वस्ती), नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट बलदेव चौधरी चुनावी प्रतिस्पर्धामा छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले पारसमणि गेलाललाई उम्मेदवार बनाएको छ। यो निर्वाचन क्षेत्रमा अहिलेको प्रतिस्पर्धा भनेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाकोबीचमा नै हुने दाबी गरिएको छ। 

रास्वपाका उम्मेदवारलाई बाहिरबाट आएको ‘पर्यटक उम्मेदवार’को रुपमा चर्चा गरिन्छ। 

त्रियुगा नगरपालिका गाईघाटकी तारा राईले उदयपुर क्षेत्र नम्बर १मा स्थानीय एजेन्डालाई नागरिकले मन पराउने भएकोले  यसमा स्थानीय उम्मेदवारहरूको बिचमा नै प्रतिस्पर्धा हुने बताइन्।

ऐतिहासिक विरासत र सांगठनिक बल
कांग्रेस उम्मेदवार विदुर बस्नेत आफ्नो पारिवारिक पृष्ठभूमि २०१५ सालकै निर्वाचनसँग जोडिएको उल्लेख गर्छन्। 

‘मेरो पिता २०१५ सालमै जननिर्वाचित प्रतिनिधि हुनुहुन्थ्यो, म आफैँ २०४६ सालदेखि नेविसंघ हुँदै निरन्तर कांग्रेसको राजनीतिमा छु,’ उनले भने। 

उदयपुर–१ मा विगत चार कार्यकालदेखि डा. नारायण खड्काले जित्दै आएको र अहिले पार्टी पूर्ण रूपमा एकताबद्ध रहेकाले आफ्नो जित सुनिश्चित रहेको उनको दाबी छ।

बस्नेतले यसपटकको चुनावमा मुख्यगरी विकास निर्माण र पार्टीको नीतिगत सुधारलाई एजेन्डा बनाएका छन्। त्रियुगा नदी नियन्त्रणका लागि सञ्चालित ७ अर्बको आयोजनालाई पूर्णता दिने, जोगीदह विमानस्थल निर्माणका लागि बजेट सुनिश्चित गर्ने र शिक्षा एवं स्वास्थ्य क्षेत्रको सुधार उनका मुख्य स्थानीय एजेन्डा हुन्।

नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत आफूलाई रुपान्तरित गरेको र यसले नयाँ पुस्ताको भावनालाई समेटेको उनी बताउँछन्। 

‘कांग्रेसले आफूलाई बदलेको छ, अब हामी युवा स्वरोजगार र समृद्धिको नयाँ मोडलमा काम गर्छौँ,’ उनले थपे।

अहिलेको चुनावमा देखिएका नयाँ राजनीतिक दलहरूप्रति बस्नेत निकै आक्रामक देखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ दलहरूलाई ‘च्याउ जस्तै उम्रेका’ दलको संज्ञा दिँदै उनले ती दलहरूको कुनै सैद्धान्तिक धरातल नभएको टिप्पणी गरे। 

‘बाहिरबाट आएका उम्मेदवारलाई यहाँ कसैले चिन्दैनन्। प्रत्यक्ष निर्वाचनमा जनताले अनुहार र व्यक्तिगत सम्बन्ध हेर्छन्, केवल अर्काको विरोध गरेर मात्रै राजनीति टिक्दैन,’ उनले भने।

अहिलेसम्म कुनै पनि लाभको पद वा निर्वाचित भूमिकामा नपुगेका कारण यसपटक आम मतदाता र कार्यकर्ताले आफूलाई एकपटक अवसर दिन बस्नेतले मतदातासँग आग्रह गरेका छन्। 

सामाजिक छवि, पालिकाको अनुभव
नेकपा एमालेका उम्मेदवार दुर्गा थापा यतिखेर चुनावी अभियानमा आक्रामक रुपमा लागेका छन्। आफूलाई भुइँतहको कार्यकर्ताका रूपमा प्रस्तुत गर्न रुचाउने थापा पछिल्लो २६ दिनदेखि निरन्तर फिल्डमा खटिएका छन्। उनले माघ ६ गतेपछि दैनिक औसतमा ८ वटा कार्यक्रमहरूमा सहभागी भए।

उनी नेपालखबरसँग कुराकानी गर्दै गर्दा त्रियुगा नगरपालिकाको १३ नम्बर वडास्थित बेडुवा क्षेत्रको होमस्टे सञ्चालकहरूसँगको छलफलमा थिए। मतदाताहरूको मुख्य माग स्थानीय पूर्वाधारको विकास र आयआर्जनका क्षेत्रमा केन्द्रित रहेको देखिन्छ। 

गाउँघरमा मतदाताहरूले राष्ट्रिय राजनीतिका ठूला मुद्दाभन्दा पनि आफ्नै गाउँ–ठाउँको विकासको गति सुस्त भएकोमा चिन्ता व्यक्त गर्ने गरेका छन् भने युवाहरूले उद्यमशीलता र प्रविधिको प्रयोगमार्फत आर्थिक समृद्धिको अपेक्षा गरेका छन्।

थापाले आफ्ना प्रमुख एजेन्डाका बारेमा सुनाउँदै भने, ‘लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र बाँकी रहेका महत्वपूर्ण ऐनहरूको निर्माणलाई प्राथमिकता हो।’ 

उनले जिल्लाका अधुरा विकास आयोजनाहरूलाई पूर्णता दिने र सुशासनको प्रत्याभूति गराउँदै भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने संकल्प गरे। विशेषगरी उदयपुरको आर्थिक समृद्धिका लागि उत्पादन र बजारीकरणलाई जोड्ने उनको योजना छ।

आफ्नो जितको आधारका रूपमा थापाले झन्डै साढे चार दशक लामो राजनीतिक संघर्ष, विगतमा मेयर र गाविस अध्यक्षका रूपमा बटुलेको प्रशासनिक अनुभव र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानलाई अघि सारेका छन्। 

थापा २०७४ सालमा बेलका नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। मानव अधिकार, पत्रकारिता र विभिन्न सामाजिक संघसंस्थामा सक्रिय रहेका कारण जनताको दुःखसुखमा साथ दिएको हुनाले पनि आम मतदाताले आफूलाई विश्वास गर्नेमा उनी ढुक्क देखिन्छन्। थापाले यसपटक एमालेको बलियो संगठन र पार्टीभित्रको आन्तरिक एकता नै आफ्नो विजयको प्रमुख कडी हुने विश्वास व्यक्त गरेका छन्।

राजनीतिक र सामाजिक पृष्ठभूमि
नेकपाका उम्मेदवार बलदेव चौधरीको राजनीतिक यात्रा २०४१ सालदेखि विद्यार्थी राजनीतिबाट सुरु भएको देखिन्छ। एमालेको जिल्ला/अञ्चल कमिटी हुँदै पार्टी विभाजन पछि नेकपा (एकीकृत समाजवादी) को प्रदेश अध्यक्ष र केन्द्रीय सचिव, र हाल नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य छन्।

२०७४ सालको निर्वाचनबाट त्रियुगा नगरपालिकाको मेयर र नगर विकास कोष केन्द्रीय निर्देशकको भूमिकामा समेत रहेर काम गरेको अनुभव चौधरीसँग छ।

नेपाल बार एशोसिएशन (उदयपुर) को ४ पटक अध्यक्ष, बरुवा क्याम्पसको अध्यक्ष, र सामुदायिक कानुन अनुसन्धान केन्द्रमा ५ पटक अध्यक्ष भएको आफ्नो अनुभव भएको बताए।

उनले आफ्नो चुनावी एजेन्डाको रुपमा चौदण्डीगढी औद्योगिक ग्राम बनाउने, बेलकामा पर्यटनको हब (विशेषगरी प्याराग्लाइडिङ र कोसी टप्पुलाई जोडेर गोवा मोडालिटीमा विकास गर्ने चुनावी एजेन्डा सार्वजनिक गरेका छन्। त्रियुगालाई शिक्षाको हब (मेडिकल कलेज र शैक्षिक पूर्वाधार)को विकासको रुपमा अघि सार्ने उनका चुनावी योजना छन्। पहाडी क्षेत्रलाई हिल सिटी बनाउन मैनामैनीदेखि मध्यपहाडीसम्मको अवधारणा सहित त्रियुगा नदी नियन्त्रणको गुरुयोजना लागू गर्ने खालका योजना उनका छन्। 

उनले भने, ‘चक्लाबन्दी खेती र पशुपालन, चिनियाँ सरकारको सहयोगमा हिमालयन फुड इन्टरनेसनलमार्फत राँगा/भैँसीको मासु निर्यात गर्न घर–घरमा रोजगारी पुर्‍याउने जस्ता योजनाहरू मेरा चुनाव जित्ने आधार हुन्।’

उनले विगतमा मेयर हुँदा गरेका काम, निःशुल्क कानुनी सेवा र सामाजिक सक्रियतालाई जितको मुख्य आधार मानेका छन्। 

समानुपातिक हिसाव
निर्वाचन आयोगले सार्वजनिक गरेको २०७९ सालको समानुपातिक मत परिणामलाई हेर्दा यो क्षेत्रमा नेपाली कांग्रेस नै बलियो देखिन्छ।

उदयपुर निर्वाचन क्षेत्र नम्बर १ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेसले २६ हजार २ सय ६९ मत प्राप्त गरेको थियो।

एमालेले २२ हजार २५७ मत प्राप्त गरेर दोस्रो हुँदा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले यस क्षेत्रमा उल्लेख्य उपस्थिति जनाउन सकेन। रास्वपाले ६ हजार ३१४ दलीय मत प्राप्त गरेको थियो।

यसैगरी, नेकपा माओवादी केन्द्रले ५ हजार ४४५ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले४ हजार ४८९ मत पाएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad