कोशी


उदयपुर २: एमाले र माओवादीले पालैपालो जितेको ‘कम्युनिस्ट गढ’ भत्काउने कांग्रेसको दाउ

उदयपुर २: एमाले र माओवादीले पालैपालो जितेको ‘कम्युनिस्ट गढ’ भत्काउने कांग्रेसको दाउ

सुमन सुस्केरा
फागुन १, २०८२ शुक्रबार २२:१, विराटनगर

उदयपुर निर्वाचन क्षेत्र नम्बर २ मा अहिलेसम्म कम्युनिष्टहरूले नै कब्जा गर्दै आएका छन्। संघीय निर्वाचमा कहिले एमाले त कहिले माओवादीले यो निर्वाचन क्षेत्र जित्दै आएका छन्। 

यस निर्वाचन क्षेत्रमा २०४८ साल यता हेर्ने हो भने २०४८, २०५१ सालमा विष्णुबहादुर राउत निर्वाचित हुँदा २०५६ सालको आम निर्वाचनमा जगन्नाथ खतिवडा एमालेबाट निर्वाचित भए। २०६४ सालमा नेकपा माओवादीका मणि किराँती निर्वाचित हुँदा २०७० सालमा नेकपा एमालेबाट मञ्जुकुमारी चौधरी विजयी भएकी थिइन्।

२०७४ सालमा एमाले र नेकपा माओवादीको गठबन्धनबाट माओवादीका सुरेश कुमार राई निर्वाचित हुँदा २०७९ सालमा उनलाई फापेन। राई र नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडालाई नेकपा एमालेका अम्बरबहादुर रायमाझीले पराजित गरिदिए। 

यो निर्वाचन क्षेत्रमा कटारी नगरपालिका, उदयपुरगढ़ी गाउँपालिका, रौतामाई गाउँपालिका, ताप्ली गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका सहितका ४० वटा वडा पर्छन्।

यस निर्वाचन क्षेत्रबाट आगामी निर्वाचनका लागि नेपाली कांग्रेसबाट रामकुमार राई, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट सुरेशकुमार राई ‘हिमाल’, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सूर्य लामा, श्रम संस्कृति पार्टीबाट बलराज राई र स्वतन्त्र उम्मेदवार मेजरकुमार राईसहित १३ जना चुनावी मैदानमा छन्। 

एमालेका निवर्तमान सांसद अम्बरबहादुर रायमाझी पुनः उम्मेदवार बनेका छन्। २०७९ को निर्वाचनमा ४२ हजार १६१ मत सदर हुँदा रायमाझीले १५ हजार २५१ मत ल्याएर जितेका थिए। तत्कालीन एकीकृत समाजवादीका उम्मेदवार जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत पाएर पराजित भएका थिए।

कांग्रेसबाट असन्तुष्ट रहेर स्वतन्त्र उम्मेदवार बनेका रामकुमार राईले १० हजार ३७९ मत ल्याएका थिए। उनलाई पार्टी नियम विपरित उम्मेदवारी दिएको भन्दै पार्टीले कारबाही गरेको थियो। 

त्यो बेला वागी उम्मेदवार बनेका रामकुमार राई आगामी निर्वाचनका लागि नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार हुन्।

अधुरा योजना पूरा गर्ने एजेन्डा
२०७९ सालको निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्दै निर्वाचित भएका रायमाझीले आफ्नो छोटो कार्यकालमा सडक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखे।

विशेष गरी रणनीतिक महत्त्वको मिर्चैया–कटारी–घुर्मी सडक खण्डको स्तर उन्नतिका लागि एक अर्ब ५ करोड रुपैयाँ विनियोजन गराउन सफल भएको र वातावरणीय प्रभाव मूल्याङ्कनका कारण रोकिएका प्रक्रियाहरू अब अन्तिम चरणमा पुगेको उनले आफ्नो कार्यकालको मुख्य उपलब्धीको रुपमा प्रस्तुत गरे। रायमाझीले आफ्नो अधुरा विकास योजनाहरूलाई पूर्णता दिनका लागि आसन्न निर्वाचनमा पुनः उम्मेदवारी दिएको बताए। 

मुर्कुची–पुवारी–माझखर्क सडकको कालोपत्रे र विभिन्न पालिका जोड्ने लिङ्क रोडहरूको निर्माण कार्यलाई उनले आफ्नो उपलब्धि बताए। 

विकासका एजेन्डासँगै रायमाझीले उदयपुरको समृद्धिमा पर्यटनलाई अर्को मुख्य आधार मानेका छन्। रौता पोखरी, ताप्ली र लिम्चुङबुङ जस्ता पर्यटकीय गन्तव्यहरूको विकास गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दिएका छन्। करिब ३२ महिनाको संसदीय अनुभवले आफूलाई नीति निर्माणमा समेत परिपक्व बनाएको भन्दै उनले राष्ट्रिय राजनीति र स्थानीय विकासलाई सँगसँगै लैजाने बताए।

मैदानमा स्वतन्त्र उम्मेदवार, रास्वपा लगायतका अन्य शक्तिहरूको उपस्थितिका बीच रायमाझीले नेकपा एमालेको बलियो संगठन र जनताको अटुट विश्वास नै आफ्नो जितको मुख्य आधार रहेको नेपालखबरसँग दाबी गरे।

१३ जना प्रतिस्पर्धी चुनावी मैदानमा भएपनि जनताले विकासको संवाहक पात्रका रूपमा आफूलाई नै छनोट गर्नेमा उनी ढुक्क छन्।

मेडिकल कलेजको सपना
नेपाली कांग्रेसका उम्मेदवार रामकुमार राई २०५४ सालदेखि नै गाविस अध्यक्ष जनप्रतिनिधिको रुपमा काम गरेका व्यक्ति हुन्।  उनी आफूलाई कटारीमा इलाका प्रशासन, मालपोत तथा नापी कार्यालय स्थापना गर्न नेतृत्वदायी भूमिका खेलेको दाबी गर्छन्।

राईले आफूलाई विकासप्रेमी नेताका रूपमा प्रस्तुत गर्दै वैकल्पिक राजमार्गलाई राष्ट्रिय राजमार्गमा जोड्न र नेपाल टेलिकम तथा विद्युत् सब–स्टेसनका लागि व्यक्तिगत रूपमा जग्गा उपलब्ध गराएको भन्दै चुनाव प्रचार गर्ने गरेका छन्।

आफ्नो चुनावी एजेन्डाबारे प्रष्ट पार्दै राईले कटारीदेखि घुर्मीसम्मको सिद्धिचरण राजमार्गलाई बहुवर्षीय योजनामा पारेर गुणस्तरीय बनाउने र कटारीलाई केन्द्र बनाएर मेडिकल कलेज स्थापना गर्ने मुख्य संकल्प अघि सारेका छन्। 

उदयपुर मात्र नभई छिमेकी जिल्लाहरू सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु र खोटाङका जनताका लागि पनि कटारी पायक पर्ने भएकाले यहाँ मेडिकल कलेज अनिवार्य भएको उनको तर्क छ।

पार्टी क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेका उनले आफूलाई कारबाही फुकुवा भएर आएको अनुभवी र जनताको सुखदुःखमा साथ दिने नेताको रूपमा चित्रित गर्छन्। भावी प्रधानमन्त्रीको रूपमा गगन थापालाई हेरिएको प्रसङ्ग जोड्दै उनले नेतृत्वसँगको निकटता र स्थानीय आवश्यकताको सही पहिचान नै आफ्नो बलियो पक्ष भएको उल्लेख गरे।

संविधान र व्यवस्था बचाउने 
प्रतिस्पर्धी मध्येका अर्का उम्मेदवार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुरेश राई पनि चुनावी अभियानमा व्यस्त छन्। पालिका र वडास्तरका संगठन भित्रको कार्र्यक्रमहरू सकिएकाले उनी अब मतदाता भेटघाटको तयारीमा लागेका छन्। दलीय व्यवस्थामा जनतामा एकातर्फ उत्साह र अर्कातर्फ निराशा रहेको उल्लेख गर्दै उक्त निराशालाई चिरेर अराजकता नियन्त्रण गर्नु आफ्नो मुख्य अभियान भएको स्पष्ट पारे। 

देशको राजनीति र अर्थतन्त्र संकटमा परेको दाबी गर्दै राईले संविधानलाई सही बाटोमा ल्याउन र शासकीय स्वरूपमा आमूल परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिए। न्यायपालिकामा हुने दलीय भागबण्डाको अन्त्य, स्थानीय पालिकामा न्यायीक अधिकारका प्रस्ताव पनि उनीसँग छ।

विकास निर्माणका सन्दर्भमा उनले २०७४ सालको आफ्नो कार्यकालमा भएका कामहरूलाई नै जितको मुख्य आधार बनाएका छन्। तत्कालीन समयमा अन्धकारमा रहेका चारवटा पालिकामा विद्युत विस्तार गरेको, सुनकोशी लिफ्ट खानेपानी आयोजना अघि बढाएको र रणनीतिक सडकहरूको सञ्जाल विस्तार गरेको उनको दाबी छ।

वैज्ञानिक शिक्षा, निःशुल्क स्वास्थ्य र रोजगारी, कृषिमा आधुनिकीकरण, सिँचाइको व्यवस्था र प्रत्येक वडासम्म पक्की सडक पु¥याउने प्रतिबद्धता सहित मतदातामा गएको बताए। पुराना ठूला दलहरू प्रतिको जनगुनासो र २५ भन्दा बढी साना–ठूला कम्युनिस्ट पार्टीहरू मिलेर बनेको नयाँ नेकपाप्रतिको जनविश्वासले गर्दा यसपटक आफ्नो जित सुनिश्चित हुने उनको दाबी छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका सूर्य लामा सुशासन र युवाको मुद्दाको नारा बोकेर हिँडेका छन्। मुख्य दलहरूले कामै नगरेकोले आफू नै वैकल्पिक उम्मेदवार रहेको दाबी गर्दै आएका छन्। 

नेपाली नागरिक हुनुमा पश्चाताप रहेको भन्दै उनले केही वर्षअघि आफ्नै नागरिकता जलाएको घटनामा उनको आलोचना हुने गरेको छ।

दलहरू चुनावी प्रतिस्पर्धामा जाँदैगर्दा यो खसेको समानुपातिकतर्फ ४२ हजार ३५६ मतमध्ये नेकपा एमाले नै बलियो दलको रुपमा देखिन्छ। एमालेले १३ हजार ९०३, कांग्रेसले १० हजार ५१५, माओवादी केन्द्रले सात हजार ४०६ र एकीकृत समाजवादीले दुई हजार २३५ मत पाएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीले तीन हजार ८०६ मत पाएको थियो।

क्षेत्र नम्बर २ अन्तर्गत उदयपुरगढी गाउँपालिकामा २० हजार ८७९, रौतामाईमा १४ हजार ९९३, लिम्चुङबुङमा आठ हजार ६८९, कटारी नगरपालिकामा ४१ हजार ४०६ र ताप्ली गाउँपालिकामा १० हजार १५५ गरी कुल ९६ हजार १२२ मतदाता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad