कोशी


मेघालय विस्फोटमा दाजुभाइसहित एकै गाउँका तीन जनाको मृत्यु भएपछि सन्नाटा

मेघालय विस्फोटमा दाजुभाइसहित एकै गाउँका तीन जनाको मृत्यु भएपछि सन्नाटा

मेघालयमा निधन भएका नरबहादुरकाे पत्नी (बायाँ) र पुनिरामका पत्नीसहितका आफन्त (घरभित्र)।


सुमन सुस्केरा
माघ २५, २०८२ आइतबार १२:०, विराटनगर

खोटाङको बराहपोखरी गाउँपालिका वडा नम्बर १, भन्ज्याङ सालघारीका नरबहादुर मगरको घरमा यतिबेला रुवाबासी छ। उनकी श्रीमती छोरी च्यापेर घरको पिँढीमा भाव विह्वल छिन्। कोही बोल्न सक्ने अवस्थामा छैनन्। बाँसको टाटीले बारेको घरबाहिर दलानमा बुबा रलबहादुर मगर झोक्राएर बसेका छन्।

शनिबार बिहानै भारतको मेघालयबाट नरबहादुर त्यहाँको कोइलाखानी विस्फोटमा परी बितेको खबर आएपछि उनको परिवार शोकमा परेको हो।

यही माघ २२ गते त्यस कोइलाखानीमा विस्फोट हुँदा उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा भोलिपल्टै २३ गते शुक्रबार उनको निधन भएको भए पनि परिवारले शनिबार मात्रै थाहा पाएको हो।

श्रीमती र छोरीको भविष्यका लागि भनेर कमाउन भारत गएका नरबहादुर नै बितेपछि मगर परिवारको मुख्य खम्बा नै ढलेको छ। 

शनिबार उनको घर पुग्दा बुबा रलबहादुरले छोराको शव तत्काल नेपाल ल्याउने व्यवस्था गरिदिन आग्रह गर्दै थिए।

उनको मृत्यु भएसँगै कोइलाखानी विस्फोटमा एकै गाउँ भन्ज्याङ सालघारीका ३ जनाको ज्यान गएको छ।

विस्फोटकै दिन माघ २२ गते यही गाउँका दाजुभाइकै मृत्यु भएको थियो।

कोइलाखानीमा सँगै काम गर्ने मगर दाजुभाइ २७ वर्षका पुनिराम र २४ वर्षीय सुरेन्द्र विस्फोटमा परी एकसाथ बितेका हुन्। 

परिवारको गर्जो टार्न र बालबच्चाको भविष्य बनाउन भनेर मेघालय पुगेका दाजुभाइकै मृत्यु भएपछि पीडित परिवार बोल्न सक्ने अवस्थामा छैन।

पुनिरामकी पत्नीको काखमा डेढ वर्ष पनि नपुगेकी सानी नानी छन्। जसले आफ्नो बुवा अब कहिले फर्किने छैनन् भन्ने भेउ पाएकी छैनन्।

दुई जवान छोरा एकसाथ गुमाउनुपर्दा बुवालाई परेको शोक बयान गर्न नसकिने खालको छ। आमा रुँदै मेघालयतिर गएकी छन्।

एकसाथ तीन युवा मेघालयमा बिलाएपछि भन्ज्याङ सालघारी गाउँ आँसुमय बनेको छ।

भन्ज्याङकै बमबहादुर मगर पनि गम्भीर घाइते अवस्थामा छन्। उनी कमाउन भनेर पुस ५ गते घरबाट मेघालय पुगेका थिए।

उनकी श्रीमती धनमाया मगरले अहिले देवर र आफन्त उनको उपचारका लागि भारत गएको जानकारी दिइन्।

उनका २ छोरी र एक छोरा छन्।

बमको छर्रा लागेर गम्भीर घाइते भएका मगर अहिले भारतको सिलोङमा उपचार गराइरहेका छन्। 

त्यही दुर्घटनामा परी कर्णबहादुर मगर पनि गम्भीर घाइते भएका छन्।

घरमा श्रीमती कविता मगर आफ्ना पाँच सन्तान (३ छोरी र २ छोरा) हेर्दै टोलाउँछिन्।

‘मेरो श्रीमान्‌लाई जसरी भए पनि नेपाल ल्याएर उपचार गरिदिनूस्,’ उनी जनप्रतिनिधिसँग हात जोड्दै रुन्छिन्।

शनिबार दिउँसो सालघारी पुगेका बराहपोखरी गाउँपालिका-१ का वडाध्यक्ष ढकबहादुर कार्कीले पीडित परिवारलाई भेटेर सान्त्वना दिए।

वडाध्यक्ष कार्कीले शव नेपाल ल्याउन स्थानीय सरकारले आवश्यक पहल गर्ने आश्वासन दिँदै यसको प्रक्रिया बुझ्ने काम भइरहेको बताए।

साथै उनले स्थानीय सरकारका तर्फबाट पीडित परिवारलाई आर्थिक सहायता दिन कार्यपालिका बैठकबाट छिट्टै निर्णय गरिने प्रतिबद्धता पनि जनाए।

मेघालय विस्फोटमा भन्ज्याङकै बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर पनि घाइते भएका छन्।

मेघालयको कोइलाखानीमा काम गर्ने सात नेपालीमध्ये बराहपोखरीस्थित वालम्पाका ताराबल मगर मात्र सकुशल छन्।

विस्फोटपछि ताराबलले नै फोनमार्फत घटनाको जानकारी गराएका थिए। 

यसैबिच खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले मेघालय विस्फोटमा परेका मृतकको शव ल्याउने तथा घाइतेको उपचार गर्नेबारे बुझ्ने काम भइरहेको बताइन्। 

‘मैले पनि समाचारमा सुनेको ३ जनाको मृत्यु भएको भन्ने जानकारी आएको छ’, उनले नेपालखबरसँग भनिन्, ‘अहिले मृतकका परिवार भारतको मेघालय गएको भन्ने जानकारी आएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad