कोशी


विश्वप्रकाशले छोडेको झापा-१ मा नयाँ अनुहारबीच प्रतिस्पर्धा, ‘हात्ती भगाउने’ मुख्य एजेन्डा

विश्वप्रकाशले छोडेको झापा-१ मा नयाँ अनुहारबीच प्रतिस्पर्धा, ‘हात्ती भगाउने’ मुख्य एजेन्डा

सुमन सुस्केरा
माघ २२, २०८२ बिहिबार १८:२५, विराटनगर

दुई जना स्वतन्त्रसहित १५ उम्मेदवार रहेको झापा क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन निक्कै रोमाञ्चक हुने देखिएको छ। यो पटकको चुनावी प्रतिस्पर्धामा प्रायः सबै नयाँ अनुहारहरू देखिन्छन्। चुनावी भिडन्त  पनि तिनै नयाँ अनुहारहरूको बिचमा हुने देखिएको छ।

अघिल्लो २०७९ सालको चुनावमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा निर्वाचित भएका थिए। कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति प्रमुख बनेर देशव्यापी अभियानमा निस्केका शर्माले २०७९ को चुनावमा यो क्षेत्रबाट जित हात पारेका थिए।

झापा १ बाट कांग्रेसले पार्टीका जिल्ला उपसभापति केशवराज पाण्डेलाई उम्मेदवार बनाएको छ। एमालेले रामचन्द्र उप्रेतीलाई मौका दिँदा नेपाली कम्युनिष्ट पार्टीले इन्जिनियर अशेष घिमिरेलाई मैदानमा उतारेको छ। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वसांसद निशा डाँगी र श्रम संस्कृति पार्टीले केवलराम राईलाई उम्मेदवार बनाएको छ। यो क्षेत्रमा यीनै दलहरूको बिचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

को उम्मेदवार कस्ता?
नेकपा एमालेको तर्फबाट झापा–१ का उम्मेदवार रामचन्द्र उप्रेती राजनीतिसँगै सामाजिक क्षेत्रबाट आएका उम्मेदवार हुन्। आफ्नो लामो राजनीतिक तथा सामाजिक अनुभव र निष्कलंक छविलाई नै यसपटकको चुनाव जित्ने मुख्य आधारको रुपमा प्रस्तुत गर्दै अहिले उनी आफ्ना कार्यकर्ता सहित मतदातासँग भेटघाटमा छन्।

पहिलो पटक संसदीय निर्वाचनको मैदानमा उत्रिएका उप्रेतीले मतदातामाझ जाँदा आफूप्रति ठूलो उत्साह र इमानदार प्रतिनिधिको खोजी भइरहेको महसुस गरेको बताए।

उप्रेतीको परिचय राजनीतिकर्मीसँगै सहकारी अभियन्ताको रूपमा पनि स्थापित छ। वि.सं. २०४३ सालदेखि राजनीतिमा जोडिएका उप्रेतीले पञ्चायत विरोधी आन्दोलनका क्रममा दुई वर्ष जेल जीवन समेत बिताएका थिए।  

नेकपा एमालेको गाउँ कमिटीदेखि जिल्ला कमिटी र सहकारी विभागसम्मको जिम्मेवारी प्राप्त गरिसकेका उप्रेती नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को ३० वर्षसम्म नेतृत्व गरी यस क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेका ब्यक्ति हुन्। 

आफूले निर्वाचित गरेर पठाएका प्रतिनिधिहरू इमानदार र पारदर्शी होउन् मतदाताको चाहना पाएको उनले सुनाए। उप्रेतीले आफूमाथि हालसम्म कुनै नकारात्मक टिप्पणी नहुनु र स्वच्छ छवि कायम रहनु नै सबैभन्दा ठूलो पुँजी भएको दाबी गरे।

उनले सहकारीमार्फत प्रत्यक्ष रूपमा सयौँलाई रोजगारी दिएको र कृषि क्षेत्रमा डेरी तथा एग्रो फार्ममार्फत किसानहरूलाई सघाउँदै आएकोले स्थानीय स्तरमा आफू परिचित र विश्वसनीय उम्मेदवार भएको पनि दाबी गरे।

उनले सडक, खानेपानी, बिजुली र स्वास्थ्य जस्ता भौतिक पूर्वाधारको स्तरोन्नतिलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। झापा क्षेत्र नम्बर १ को मुख्य समस्याको रूपमा रहेको हात्ती आक्रमणको समस्या समाधान गर्न र मेची, निन्दा तथा हडिया जस्ता नदीहरूको कटान रोक्न आफूले विशेष पहल गर्ने उनको योजना छ।

चिया, सुपारी जस्ता नगदे बालीको प्रबद्र्धन र मजदुरहरूको जीवनस्तर सुधारलाई पनि उनले आफ्ना चुानावी एजेण्डा अघि सारेका छन्।

मुलुकको पुरानो पार्टी र सांगठित संरचना, आफ्नो व्यवसायिक पृष्ठभूमि फर्निचर उद्योग र ट्रेडिङ भए पनि समाजसेवा र राजनीतिलाई नै जीवनको मुख्य कर्म मान्दै आएकोले आफ्नो चुुनाव जित्ने आधार निष्ठा र इमान्दारिता भएको उनको ठम्याई छ।

सच्चिएको र परिष्कृत कांग्रेस
अर्कातर्फ, नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डे जिल्ला उपसभापति र मेची नगर उद्योग वाणिज्य संघको पूर्व पदाधिकारी समेत रहेकाले उनी युवा, हक्की र आर्थिक रूपमा सबल पात्रका रूपमा चिनिन्छन्। पाण्डेको धार्मिक र सामाजिक घुलमिल पनि राम्रो प्रभाव राख्ने व्यक्ति हुन्। 

यसपटकको निर्वाचनमा आफूलाई ‘सच्चिएको र परिष्कृत’ कांग्रेसको प्रतिनिधि पात्रका रूपमा उनी मतदाता माझ प्रस्तुत गर्दै गईरहेका छन्। अहिलेको मुख्य चुनौती जनतामा छाएको निराशा चिर्नु रहेको बताउने पाण्डे जुन भाषणले मात्र नभई व्यवहारिक काम र जनचाहना अनुसारको व्यवस्थापनबाट मात्र सम्भव हुने जिकिर गर्छन्। 

चुनावी एजेन्डाबारे स्पष्ट पार्दै उनले सीमा क्षेत्रको अव्यवस्थालाई अन्त्य गरी व्यापार सहजीकरणमा जोड दिने प्रतिबद्धता जनाएका छन्। उनी भन्सार एजेन्ट समेत हुन्।

कृषि प्रधान क्षेत्र भएकाले कृषि उद्यमशीलताको विकास र सिँचाइको भरपर्दो व्यवस्थापनलाई प्राथमिकतामा राख्छन्। क्षेत्रको प्रमुख समस्याका रूपमा रहेको हात्तीको आतंकलाई प्रकृति मैत्री ढङ्गले समाधान गर्ने ठोस योजना आफूसँग रहेको उनको दाबी छ।

आफ्नो व्यावसायिक पृष्ठभूमिलाई पनि चुनावी बलका रूपमा प्रस्तुत गर्दै उनले उद्योग वाणिज्य संघको नेतृत्व गर्दा आर्जन गरेको अनुभवले लगानी मैत्री वातावरण निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। पार्टीभित्रको बृहत् एकता र आफूले विगतमा गरेको कामको मूल्याङ्कन नै चुनाव जित्ने मुख्य कडी भएको उनको तर्क छ।

रास्वपाको चर्चा
विशेषगरी मेचीनगर केन्द्रित यस क्षेत्रको चुनावी मैदानमा अहिले मुख्य रूपमा नेकपा एमाले र नेपाली कांग्रेसबीच नै कडा प्रतिस्पर्धा हुने आकलन छ। त्यो सँगै देशभर जस्तै यहाँ पनि राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चा चुलिएको छ। यद्यपी रास्वपाको चर्चा बजारमा सुनिए पनि त्यसलाई केवल सतही र नाराबाजीमा मात्र सीमित रहेको एमाले र कांग्रेसका कार्यकर्ताहरू टिप्पणी गर्छन्।

यो क्षेत्रमा रास्वपाको परिपक्व र वजनदार नेतृत्वको अभाव रहेकोसमेत उनीहरूको दाबी छ।

विघटित प्रतिनिधिसभाकी समानुपातिक सांसद निशा डाँगीका लागि क्षेत्रको भूगोल पनि नयाँ हो।  झापा क्षेत्र नम्बर २ बाट उम्मेदवार हुने चर्चाका बिच क्षेत्र नम्बर १ मा पुगेकी निशाले अहिले आफ्ना कार्यकर्ता र मतदातामा मात्रै भेटघाट भइरहेको बताइन्। अरु दलले रास्वपालाई सतही रुपमा लिँदै आएको भए पनि उनी भने बलियो रहेको दाबी गर्छिन्।

नेपाली कम्युनिस्ट पार्टीबाट अशेष घिमिरे चुनावी प्रतिस्पर्धामा छन्। उनी विद्यार्थी राजनीतिबाट आएका हुन्। उनी इन्जिनियरिङ क्षेत्रमा भएर पनि राजनीतिमा अग्रसर युवा हुन्। 

झापा १ को भूगोलको अवस्था
अहिले झापा १ भनेर चिनिने यो क्षेत्रको बहुसंख्यक भूगोल कुनैबेला झापा ३ मा पर्‍थ्यो। यो क्षेत्रमा मुख्यतया मेचीनगरका १५ वटा वडा, बुद्धशान्तिका ४ वटा वडा र भद्रपुरका २ वटा वडाको मतमा निर्भर गर्दछ।

विशेषगरी धुलाबारी र काँकडभिट्टा जस्ता बजार क्षेत्रहरूमा ४० हजारभन्दा बढी मत रहेकाले यी ठाउँ नै निर्णायक ठाउँ हुन्। काँकडभिट्टा क्षेत्रका ६ र ७ नम्बर वडा तथा धुलाबारी तर्फको ९ र १० नम्बर वडालाई चुनावको निर्णायक केन्द्र मानिएको छ। 

कांग्रेसका उम्मेदवार पाण्डे, एमालेका रामचन्द्र र रास्वपाका निशा डाँगी बीचको यो लडाइँमा कसले बजार क्षेत्रको ठूलो मत आफ्नो पक्षमा पार्न सक्छ भन्ने कुरा नै जितको आधार बन्ने देखिन्छ।

विगतको अंक गणित
२०४८ मा एमालेका राधाकृष्ण मैनाली, २०५१ मा एमालेकै देवीप्रसाद ओझा, २०५६ मा कांग्रेसका नरेन्द्रविक्रम नेम्वाङ यस क्षेत्रबाट निर्वाचित भए। २०६४ को पहिलो संविधानसभामा माओवादीका धर्म घिमिरे निर्वाचित भएको झापा १ मा २०७० मा एमालेका रविन कोइराला र २०७४ मा वाम गठबन्धनका माओवादी उम्मेदवार राम कार्की विजयी भएका थिए।

यही क्षेत्रबाट २०७९ सालमा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा तेस्रो पटकमा चुनाव जितेका थिए। उनी २०७० र ७४ मा पनि उम्मेदवार थिए। 

२०७९ मा शर्माले एमालेका अग्नि खरेललाई पराजित गरेका थिए। शर्माले ३९ हजार ६ सय २४ मत प्राप्त गर्दा उनका मुख्य प्रतिस्पर्धी एमालेका खरेलले २५ हजार ३ सय ४९ मत पाएका थिए। 

समानुपातिक मत परिणामलाई हेर्दा नेपाली कांग्रेस बलियो स्थितिमा देखिन्छ। कांग्रेसले २५ हजार ४ सय २० मत प्राप्त गर्दा एमालेले २२ हजार ५ सय ४७ मत प्राप्त गरेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले १३ हजार ७ सय ५० मत प्राप्त गर्दा माओवादी केन्द्रले ५ हजार मत पाएको थियो। यसपटक यो क्षेत्रमा १ लाख ३१ हजार ६७ जना मतदाता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad