प्रतिनिधिसभाको फागुन २१ मा हुने निर्वाचनका लागि मोरङको क्षेत्र नम्बर ५ विभिन्न कारणले चर्चामा छ। २०७९ मा स्वतन्त्र उठेर मोरङ ५ बाट विजेता बनेका योगेन्द्र मण्डल यसपटक आफैं दल खोलेर चुनावी मैदानमा छन्।
यसपटक सबै दलहरू एक्लै प्रतिस्पर्धामा भएका कारण पनि यो क्षेत्रमा धेरैको नजरमा छ। उनी अहिले दल खोलेर चुनावमा छन्।
कांग्रेसबाट उम्मेदवार बनेका फुलकुमार यो क्षेत्रका पुराना नेता हुन् भने माओवादीका शिवकुमार मण्डल यसअघि यही क्षेत्रबाट जितिसकेका नेता हुन्।
यसअघि पटकपटक पराजित भएका जसपाका राजकुमारप्रति सहानुभूतिको मत प्रकट हुने सम्भावना पनि उत्तिकै छ। यसबाहेक मधेशी बहुल क्षेत्रमा जातीय आधारले पनि मत विभाजित बन्न सक्छ। यसको फाइदा कसले लिन्छ यसै अनुमान गर्न कठिन छ।
स्वतन्त्रको ३ वर्ष, शिक्षा स्वास्थ्य एजेन्डा
योगेन्द्र मण्डल यसपटक राष्ट्रिय ऊर्जाशील पार्टीबाट उम्मेदवार बनेका छन्। स्वतन्त्र उम्मेदवार बनेर राम्रो मत ल्याएर निर्वाचित भएका मण्डल आफ्नो कार्यकालको समीक्षा गर्दै संसदमा जनताका आवाज बुलन्द गर्नेदेखि नीतिगत सुधारका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको दाबी गर्छन्।
विशेषगरी तराई–मधेसको ठूलो समस्याको रूपमा रहेको नागरिकता विधेयकलाई निष्कर्षमा पुर्याउन र सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाणपूर्जा दिलाउन संसदीय समिति मार्फत कानुन निर्माणमा आफूले आवाज उठाएको दाबी सहित चुनावी मैदानमा छन्। त्यसैलाई उनी चुनावी एजेन्डा बनाउन चाहन्छन्।
वर्षौँदेखि रोकिएका सडक पूर्वाधारका कामहरूलाई गति दिनु आफ्नो कार्यकालको अर्को महत्वपूर्ण उपलब्धि भएको उनको दाबी छ।
‘सामूदायिक विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा सुरु गर्ने मेरो अभियानले सार्थकता पाउँदै छ, अब यसलाई सबै विद्यालयमा विस्तार गरिनेछ,’ उनी भन्छन्।
किसानका समस्या समाधानका लागि कृषिमा आधुनिक प्रविधिको प्रयोग र व्यवसायीकरणलाई प्राथमिकता दिने बताउँदै मण्डलले मुलुकको कानुन जनमुखी र पारदर्शी हुनुपर्नेमा जोड दिए।
‘देश बन्यो भने क्षेत्र आफैँ बन्छ’ भन्ने मान्यता राख्ने मण्डलले सांसदले आफ्नो क्षेत्रसँगै राष्ट्रिय मुद्दाहरूमा पनि उत्तिकै गम्भीर भएर लाग्नुपर्ने धारणा व्यक्त गरे।
स्थिर मत नै जितको मुख्य आधार
मोरङ निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका नेता राजकुमार यादवको यो पटक चौथो प्रतिस्पर्धा हो। विगतका तीनवटा चुनावको अनुभव र प्राप्त मतको विश्लेषण गर्दै उनले आफ्नो स्थिर मतदाता सफलताको आधार मान्छन्।
संविधान सभा निर्वाचन २०७० देखि नै सक्रिय प्रतिस्पर्धामा रहेका यादवले २०७४ र २०७९ को संघीय निर्वाचनमा प्राप्त मतले आफूलाई यस क्षेत्रको बलियो शक्तिको रूपमा स्थापित गरेको दाबी छ।
२०७४ सालको निर्वाचनमा उनी आबद्ध दल एक्लै चुनाव लड्दा १८ हजार मत प्राप्त भएको थियो, जबकि एमाले र माओवादीको वाम गठबन्धनका उम्मेदवार शिवकुमार मण्डलले २१ हजार मत ल्याएर विजयी भएका थिए।
२०७९ को चुनावमा भने परिस्थिति बदलियो। जसपाले एमालेसँग गठबन्धन गरे पनि भित्रैबाट अन्तर्घात भएको उनको गुनासो छ। योगेन्द्र(जोगी)मण्डलले स्वतन्त्र उम्मेदवारी दिएपछि र कांग्रेसको समेत मत उनलाई गएपछि आफूले झिनो मतान्तरले पराजय भोग्नुपरेको यादवको गुनासो छ।
गत चुनावमा यादव र नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट उम्मेदवार भएका शिवकुमार मण्डलबीच ९५ मतको मात्रै फरक रहेको र जोगी मण्डलले बाजी मारेको स्मरण गर्दै उनले भने, ‘यसपटक भने सबै दलका आफ्नै उम्मेदवार भएकाले परिणाम फरक आउने विश्वास छ।’
यादवले आफ्नो १७ देखि १८ हजारको आधारभूत मत कतै नडगमगाएको दाबी गरे। वर्तमान सांसदले तीन वर्षको अवधिमा जनतालाई सन्तुष्ट पार्न नसकेको र जातीय मतको समीकरण पनि पहिलेको जस्तो नरहेकाले आफूलाई सहज हुने उनको बुझाइ छ। यादवले मोरङ क्षेत्र नम्बर ५ मा पुराना र भिजेका उम्मेदवार नभएका कारण रास्वपाको प्रभाव खासै नपर्ने दाबी गरे।
बदला लिने प्रयास
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट शिवकुमार मण्डल मोरङको क्षेत्र नम्बर ५ बाट उम्मेदवार छन्। उनी निर्वाचन क्षेत्र नम्बर ५ आमबारीमा आफ्ना नेता कार्यकर्ताहरूसँगको भेटघाटमा ब्यस्त थिए। आगामी निर्वाचनको लागि चुनावी योजना सहित मतदातालाई आफ्ना कुराहरू पनि सुनाउँदै थिए।
यो पटक आगामी निर्वाचनमा मतदाताको मनस्थिति विगतको तुलनामा निकै सचेत र भिन्न देखिएको उनको बुझाई छ। मतदाताहरू अब दलको अन्धभक्त भएर भन्दा पनि उम्मेदवारको बौद्धिकता र संसदमा खेल्न सक्ने भूमिकालाई हेरेर निर्णय गर्ने अवस्थामा पुगेको विश्लेषण हुुन थालेको छ।
नेता मण्डलका अनुसार सहरी र बौद्धिक क्षेत्रमा दलगत आस्थाभन्दा पनि उम्मेदवारको व्यक्तिगत क्षमता र राष्ट्रिय राजनीतिमा उसको दख्खललाई प्राथमिकता दिने लहर छ। उता ग्रामीण क्षेत्रमा भने राष्ट्रिय राजनीतिको दाउपेचभन्दा पनि स्थानीय विकास, कृषि र दैनिक जनजीविकाका सवालहरूले बढी प्राथमिकता पाएका छन्। ग्रामीण भेगका जनताले कसको पालामा के काम भयो, आफ्ना मागहरू कसले पुरा गर्न सक्छ भन्ने कुरालाई नै चुनावी आधार बनाइरहेको छन्।
आफ्ना चुनावी एजेन्डाहरूका बारेमा स्पष्ट पार्दै मण्डलले वर्तमान लोकतान्त्रिक व्यवस्था र राजनीतिक उपलब्धिको रक्षा गर्नुलाई नै पहिलो प्राथमिकतामा राखेको बताए।
राज्यको लगानीमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको सुनिश्चितता हुनुपर्नेमा जोड दिँदै निजीकरणको बढ्दो प्रभावलाई नियन्त्रण गरी किसानका समस्या र स्थानीय उद्योगको प्रवर्द्धन गर्ने विषयलाई आफ्नो मुख्य मुद्दा बनाएका छन्। विगतको संसदले जनभावना अनुसारको सशक्त भूमिका निर्वाह गर्न सके/नसकेको विषयमा मतदाताहरू गम्भीर रहेको उनले उल्लेख गरे।
विरासत जोगाउने अवसर
नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ५ का उम्मेदवार फुलकुमार लालवानीले आफ्नो लामो राजनीतिक विरासत र सामाजिक सेवा नै चुनाव जित्ने मुख्य आधार भएको बताएका छन्।
आफू मोरङको रैथाने परिवारबाट आएको र आफ्नो परिवारको तीन पुस्ता लोकतन्त्रका लागि समर्पित रहेको उनले उल्लेख गरे। उनका मावली हजुरबुवा भीमराज नौलखा मुक्ति सेनाका सदस्य रहेको, बुवा गिरिजाप्रसाद कोइरालासँगै भूमिगत राजनीतिमा सक्रिय रहेको र आमा महिला संघको संस्थापक जिल्ला सदस्य रहेको भन्दै उनले आफ्नो नसामा कांग्रेसको रगत बगेको दाबी गरे।
विगत ४० वर्षभन्दा लामो समयदेखि सक्रिय राजनीतिमा रहेका लालवानीले २०३५ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका थिए। राजनीतिबाहेक सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय उनी जेसीजको पूर्व राष्ट्रिय अध्यक्ष र लायन्स क्लबको पूर्व गभर्नरका रूपमा स्थापित छन्।
उम्मेदवार लालवानीले आफ्नो मुख्य चुनावी एजेन्डा युवा पलायन रोक्नु र स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्नु रहेको स्पष्ट पारेका छन्। यसका साथै उनले वैज्ञानिक कृषिको प्रवर्द्धन, लोकतन्त्र र गणतन्त्रप्रतिको जनविश्वास बलियो बनाउने तथा सीमान्तकृत समुदायको आधारभूत आवश्यकता परिपूर्तिका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्।
क्षेत्र नम्बर ५ का जनताको सुख–दुःखमा सधैँ साथै रहेको, सामाजिक कार्यमार्फत जनतासँग प्रत्यक्ष जोडिएकाले आफ्नो आत्मीय सम्बन्ध नै जितको प्रमुख आधार भएको उनको तर्क छ।
सामाजिक सेवा र समृद्धिको संकल्प
नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नम्बर ५ का उम्मेदवार मनोज अग्रवालले आफ्नो सामाजिक छवि र सांगठनिक बललाई मुख्य चुनावी आधार बनाउँदै चुनावी मैदानमा उत्रिएका छन्। लामो समयदेखि विभिन्न सामाजिक, धार्मिक र शैक्षिक संघसंस्थामा सक्रिय अग्रवालले यसपटक आफ्नो क्षेत्रको समग्र विकास र गरिबी निवारणलाई मुख्य एजेन्डा बनाएका छन्।
मंगलबार दिनभर उनी आफ्ना मतदाता भेटभाटमा ब्यस्त थिए। रंगेली नगरपालिका वडा नम्बर ५ मा बिहानै ६ बजे पुगेका आग्रवाल रंगेली ७ मा समय बिताए। उनले धनपालथान गाउँपालिकाका युवाहरूसँग त्यहाँको भेटघाट पछि दिनभर विराटनगरका मतदातासँग आफ्ना एजेण्डा सुनाउँदै थिए।
रंगेली गोचर गौशालाको दुई कार्यकाल उपाध्यक्ष र तिरुपति आर्यघाट व्यवस्थापन समितिको अध्यक्षका रूपमा सामाजिक सेवामा स्थापित भइसकेका अग्रवालले पब्लिक माध्यमिक विद्यालयको पूर्व विद्यार्थी मञ्च र नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको पूर्व महासचिव भएको पृष्ठभूमीबाट राजनीतिमा छन्।
सुनचाँदी व्यवसायलाई पूर्ण रूपमा परिवार र साथीहरूको जिम्मा लगाएर उनी अहिले राजनीतिमा होमिएका हुन्। उनले समाजको तल्लो तहका जनताको जीवनस्तर सुधार्नु नै आफ्नो मुख्य लक्ष्य रहेको स्पष्ट पारेका छन्।
आफ्नो निर्वाचन क्षेत्रमा बिहान–बेलुकाको हातमुख जोड्ने समस्या झेलिरहेका विपन्न वर्गलाई गास, बास र कपासको ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाएका छन्। उनले प्रत्येक पालिकामा एक खेलकुद मैदान र एक सुविधासम्पन्न अस्पताल निर्माण गर्ने योजना अघि सारेका छन्।
यस्तै, स्थानीय खोलानालाको सदुपयोग गरी सिँचाईको व्यवस्था गर्ने, तटबन्ध निर्माण र धार्मिक तथा सांस्कृतिक पर्यटनका माध्यमबाट रोजगारी सिर्जना गर्ने उनको योजना छ।
युवा पलायनको समस्याप्रति लक्षित गर्दै अग्रवालले स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्ने र ब्यवसाय गर्न चाहने युवाहरूको लागि राज्यस्तरबाटै न्यून वा शून्य ब्याजदरमा ऋणको व्यवस्था गर्ने नीतिगत योजना आफ्नो परिवर्तनका योजना रहेको सुनाए।
नेकपा एमालेको बलियो सांगठनिक संरचना र आफ्नो दशकौँ लामो सामाजिक संलग्नता नै जितको मुख्य आधार भएको दाबी गर्दै उनले पिछडिएको यस क्षेत्रलाई एमालेको नेतृत्वमा ‘सुखी र समृद्ध’ बनाउने चाहनाका साथ आफू मतदाताका बीचमा गएको बताएका छन्।
कसको अवस्था के?
क्षेत्र नम्बर ५ बाट नेकपा एमालेबाट मनोजकुमार अग्रवाल, नेपाली कांग्रेसबाट फुलकुमार लालवानी, नेपाली कम्युनिष्ट पार्टीबाट शिवकुमार मण्डल, जनता समाजवादी पार्टी नेपालबाट राजकुमार यादव मुख्य प्रतिस्पर्धी हुन्।
यस्तै, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट नरेशकुमार लाभ तथा सुजितकुमार साह, राजकुमार राजवंशी, अमरकुमार यादव, जयनारायण शर्मा, सूर्यनारायण ठाकुर, ममता यादव, मोहमद रेजा हुसैन र विकाश श्रेष्ठहरू स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा छन्।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीबाट गंगाकुमारी राजवंशी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशा झा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुमोद राय, जनमत पार्टीबाट परमेश्वर मुर्मु, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजेन्द्रप्रसाद मण्डल र मंगोल नेशनल अर्गनाइजेसनबाट सकुन्तला श्रेष्ठ उम्मेदवार छन्।
त्यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मंगल ऋषिदेव, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट गंगाप्रसाद गिरी सहित कूल २२ जना उम्मेदवार चुनावी मैदानमा छन्।
२०७९ को निर्वाचनमा मोरङ ५ मा दुईटा गठबन्धन थिए। एमाले र जसपा मिलेका थिए भने माओवादी, कांग्रेस, एकीकृत समाजवादीको अलग्गै गठबन्धन थियो। तर, ती दुवै गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले जित हात पारे।
उनले २१ हजार ८२० मत प्राप्त गरेर जित्दा माओवादीका शिवकुमार मण्डल १७ हजार ४८६ मत पाएर दोस्रो बनेका थिए। जसपाका राजकुमार यादव १७ हजार ३९० मतसहित तेस्रो भएका थिए।
समानुपातिक तर्फ हेर्दा २०७९ मा यो क्षेत्रमा कांग्रेसले २४ हजार ६२९ मत पाउँदा जनता समाजवादी पार्टी नेपालले १२ हजार ७३१, एमालेले ९ हजार ४२८, माओवादीले ७ हजार २२३, जनमत पार्टीले ३ हजार ६०४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ४२५ र राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार ९०७ मत प्राप्त गरेका थिए।
यसपटक सबै दलहरूले आ–आफ्ना उम्मेदवार खडा गरेका कारण मोरङ ५ मा रोचक प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ। मधेशी समुदायको बाहुल्य रहेको मोरङ ५ मा धनपालथान गाउँपालिका, जहदा गाउँपालिका, रंगेली नगरपालिकाको ४, ५, ६ र ७ नम्वर वडा र विराटनगर महानगरपालिकाको १३, १४, १५ , १६, १७ र १८ नम्वर वडा समेटिएको छ। यसपटक यो क्षेत्रमा कूल १ लाख १० हजार १७७ मतदाता छन्।
Shares

प्रतिक्रिया