कोशी


ओलीको बदनाम गर्नु भनेको राष्ट्रियताको आन्दोलन कमजोर बनाउनु होः भानुभक्त ढकाल

ओलीको बदनाम गर्नु भनेको राष्ट्रियताको आन्दोलन कमजोर बनाउनु होः भानुभक्त ढकाल

नेपालखबर
माघ २०, २०८२ मंगलबार १४:४२, विराटनगर

नेकपा एमालेका सचिव भानुभक्त ढकालले आगामी निर्वाचनलाई पार्टीको विचार र दृष्टिकोण जनतामाझ पुर्‍याउने महत्वपूर्ण अवसरका रूपमा लिएको बताएका छन्।

प्रेस चौतारीद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता ढकालले निर्वाचन अभियानले सुस्ताएका कार्यकर्तालाई उत्साहित बनाउन र पार्टीलाई नयाँ ढंगले संगठित गर्न ठूलो सहयोग पुर्‍याएको उल्लेख गरे।

पार्टीको महाधिवेशनपछि नेतृत्व परिवर्तन नभएको भन्ने आलोचनाको खण्डन गर्दै ढकालले एमालेले एक वर्षअघि नै लोकतान्त्रिक अभ्यासबाट नीति र नेतृत्वको व्यवस्थापन गरिसकेको दाबी गरे। 

उनले भने, ‘हामीले कार्यकर्ताको सार्वभौमसत्तालाई स्वीकार गरेर उन्नत स्तरको लोकतान्त्रिक अभ्यासबाट महाधिवेशन सम्पन्न गर्यौँ। विगतमा जस्तो चुनावको बेला टिकट नपाएर पार्टी छोड्ने वा अर्को चिह्न लिएर हिँड्ने विचलन अहिले एमालेमा छैन, पार्टी पूर्ण रूपमा एकताबद्ध छ।’

भदौ २३ र २४ गतेका घटनाक्रम र सामाजिक सञ्जालमा उठेका प्रश्नहरूबारे टिप्पणी गर्दै सचिव ढकालले भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा युवाहरूले सुरु गरेको ‘जेनजी’ आन्दोलनलाई घुसपैठ गरी ‘हाइज्याक’ गरिएको आरोप लगाए।

संविधान नै खारेज गर्नुपर्ने जस्ता अराजक मागहरू उठाएर राष्ट्रियताको पक्षमा उभिने एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर बनाउने सुनियोजित षड्यन्त्र भएको उनको तर्क थियो। 

‘अध्यक्ष ओलीलाई बदनाम गराउनु भनेको राष्ट्रियताको आन्दोलनलाई कमजोर बनाउनु हो भन्ने कुरा जनताले स्पष्टसँग बुझिसकेका छन्,’ उनले भने।

आगामी फागुन २१ गते हुने निर्वाचनमा तेह्रथुम जिल्लाबाट उम्मेदवार रहेका ढकालले आफ्नो जन्मभूमिप्रति पूर्ण समर्पित भएर विकास र समृद्धिको नेतृत्व गर्ने संकल्प व्यक्त गरे।

विगतमा समानुपातिक सांसदका रूपमा जिल्लाको सेवा गरिसकेको स्मरण गर्दै उनले यसपटक प्रत्यक्ष निर्वाचित भएर अधुरा विकास योजनाहरू पुरा गर्ने र नयाँ सम्भावनाहरू उजागर गर्ने प्रतिबद्धता जनाए।

तेह्रथुमको विकासले अपेक्षित गति लिन नसकेको स्वीकार गर्दै उनले जिल्लाको कायापलट गर्न र समृद्धिको सपना साकार पार्न आफू दृढ संकल्पित रहेको दाबी पनि गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad