राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुम जिल्ला कार्यसमितिले पार्टीको उम्मेदवार चयन प्रक्रियाप्रति गम्भीर असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएको छ।
जिल्ला सभापति इन्जिनियर सुजन खत्रीसहित सबै पालिका र वडा समितिका पदाधिकारीहरूले केन्द्रले जिल्लाको भावना विपरीत निर्णय गरेको आरोप लगाउँदै पदबाट राजीनामा दिएका हुन्।
राजीनामा पत्रका अनुसार, यसअघि भदौमा भएको राजनीतिक परिवर्तनपछि तेह्रथुमबाट ‘अवेयर तेह्रथुम’का संयोजक इन्जिनियर सुरेन्द्र कार्कीलाई साझा उम्मेदवारका रूपमा अघि बढाउने सहमति भएको थियो।
सो सहमतिका लागि प्रदेश र केन्द्रमा सबै औपचारिक प्रक्रिया पूरा गरिए पनि अन्तिम समयमा पार्टीले आफ्नै विधि र प्रक्रिया मिचेर अर्कै व्यक्तिलाई टिकट दिएपछि विवाद उत्पन्न भएको हो।
जिल्ला र प्रदेश समितिको सिफारिसलाई लत्याएर केन्द्रले अमूक व्यक्तिलाई उम्मेदवार बनाएपछि स्थानीय नेताहरूले यसलाई ‘जनभावना र राजनीतिक सहमतिमाथिको कुठाराघात’ भनेका छन्।
सामूहिक राजीनामा पत्रमा जिल्ला सभापति सुजन खत्री, म्याङ्लुङ पालिका संयोजक गणेश खापुङ, लालीगुराँस सभापति सुमन लिम्बु, मेन्छ्यायेम संयोजक छत्र बहादुर थापा, छथर सचिव थिर बहादुर कटुवाल, फेदाप संयोजक लक्ष्मण थापा र आठराई सभापति चेतन गौतमले हस्ताक्षर गरेका छन्। साथै तेह्रथुम–काठमाडौँ सम्पर्क विभागका संयोजक गुणनिधि गड्तौलाले पनि राजीनामा दिएका छन्।
केन्द्र र प्रदेशसँगको सहकार्यमा गरिएको सहमति कार्यान्वयन गराउन नसकेकोमा नैतिक जिम्मेवारी लिँदै आफूहरू पदबाट अलग भएको उनीहरूले बताएका छन्। निर्वाचनको मुखमा जिल्लाका सबै कमिटीले सामूहिक राजीनामा दिएपछि तेह्रथुममा रास्वपालाई ठूलो सांगठनिक क्षति पुग्ने देखिएको छ।

Shares

प्रतिक्रिया