कोशी


फेसबुकबाटै टिकट बाँड्दै हर्क, पूर्वी क्षेत्रमा टुंग्याए उम्मेदवार

फेसबुकबाटै टिकट बाँड्दै हर्क, पूर्वी क्षेत्रमा टुंग्याए उम्मेदवार

सुमन सुस्केरा
पुस ३०, २०८२ बुधबार १४:२२, विराटनगर

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो सांगठनिक गतिविधिलाई तीव्रता दिएको छ। 

सामाजिक सञ्जालमार्फत टिक वितरण सुरु गरेका अध्यक्ष साम्पाङले उम्मेदवारीका लागि ढिला हुन लागेको भन्दै उनले तत्काल सम्पर्क राख्न भनेका थिए।  उनले विभिन्न जिल्लाहरूमा उम्मेदवारहरूको नाम सार्वजनिक गरेका छन्। 

पार्टीले झापा, मोरङ, उदयपुर, पाँचथर, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभामा आफ्ना प्रत्यक्ष तर्फका उम्मेदवारहरू नाम तय गर्दै उनीहरूलाई तुरुन्त आधिकारिक टिकट बुझ्न आह्वान गरेको छन्। 

साम्पाङले बिहानै सामाजिक सञ्जालमा लेखेका छन्-हामीसँग धेरै समय छैन। साम्पाङले घोषित उम्मेदवारहरूलाई छिटोभन्दा छिटो चुनावी प्रक्रियामा सामेल हुन निर्देशन दिएका छन्। 

पार्टीले आफ्नो निर्वाचन चिन्ह ‘माटो’ लाई जनताको घरदैलोसम्म पुर्‍याएको र पुराना राजनीतिक दलहरूको विकल्पका रूपमा प्रस्तुत हुन कार्यकर्ताहरूलाई उनले अपिल गरेको छ।

साम्पाङले सार्वजनिक गरेको उम्मेदवारहरूमा मोरङ क्षेत्र नम्बर १ बाट शान्ति पाख्रिन गुरुङ रहेका छन्। त्यस्तै, क्षेत्र नम्बर २ बाट अबुहो रैरह (बाबु राजा) र क्षेत्र नम्बर ३ बाट अमिर मगरलाई उम्मेदवार बनाइएको हर्कले जनाएका छन्।

त्यस्तै झापाका पाँच वटै क्षेत्रमा केबलराम राई (क्षेत्र १), केशव भण्डारी (क्षेत्र २), दीपक तिम्सिना (क्षेत्र ३), अमृता राई (क्षेत्र ४) र शिवम् स्वरानी मगर (क्षेत्र ५) चुनावी मैदानमा उत्रिनेछन्। 

उदयपुर निर्वाचन क्षेत्र नम्बर २ बाट बलराज राई सर्वसम्मत उम्मेदवार चयन भएका छन्। भोजपुरबाट प्रतिनिधि सभाका लागि ध्रुव राईलाई उम्मेदवार बनाइएको छ। 

त्यस्तै पाँचथरबाट प्रतिनिधि सभा सदस्यका लागि बर्बिन शेर्मालाई उम्मेदवार सिफारिस भएका छन्।

संखुवासभा र सोलुखुम्बुबाट पनि उम्मेदवार तयार गरिसकेको त्यो पार्टीले जनाएको छ। सङ्खुवासभाबाट उमा राई र सोलुखुम्बुबाट बियस राईलाई प्रत्यक्ष तर्फको उम्मेदवार बनाइएको श्रम संस्कृति पार्टीले जनाएको छ।

‘श्रमको सम्मान र जय माटो, जय देश’को नारासहित स्थापना भएको यस पार्टीले विशेष गरी युवा र जुझारु व्यक्तिहरूलाई प्राथमिकता दिएको जनाएको छ। 

हर्क साम्पाङले गर्ने हरेक गतिविधिहरू धरानस्थित ग्रिनटीबाट गर्दै आएका छन् भने उनले जारी गर्ने सूचना तथा सन्देशहरू सामाजिक सञ्जालबाट नै गर्दै आएका छन्। 

हरेक दिन श्रम संस्कृति पार्टीबाट उम्मेदवार बन्नेहरूलाई भेट्न आउन आव्हान गर्दै आएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad