कोशी


सुनसरी गोलीकाण्डः पीडित र प्रशासनबीच ५ बुँदे सहमति

छानबिन समिति गठन, पीडितलाई राहत
सुनसरी गोलीकाण्डः पीडित र प्रशासनबीच ५ बुँदे सहमति

नेपालखबर
पुस १७, २०८२ बिहिबार १५:४६, विराटनगर

सुनसरीको कोशी गाउँपालिकामा सशस्त्र प्रहरीको गोली लागेर भएको मृत्यु पश्चात् उत्पन्न तनाव मत्थर पार्न प्रशासन र स्थानीय प्रतिनिधिबीच ५ बुँदे सहमति भएको छ। बिहीबार प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको सर्वपक्षीय छलफलले छानबिन समिति गठन गर्नेदेखि मृतकका परिवारलाई राहत र रोजगारी उपलब्ध गराउनेसम्मका निर्णय गरेको छ।

घटनाको सत्यतथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि सदस्य रहने गरी एक छानबिन समिति गठन गरिएको छ। 

उक्त समितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ। यदि छानबिनबाट सुरक्षा अधिकारीको लापरवाहीका कारण मृत्यु भएको पाइएमा नियमानुसारको राहत एवं क्षतिपूर्तिका लागि नेपाल सरकार गृह मन्त्रालयमा सिफारिस गरिने सहमति पत्रमा उल्लेख छ।

प्रशासनले मृतक विजय साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले पहलकदमी तथा सहजीकरण गरिदिने प्रतिबद्धता जनाएको छ। साथै, मृतकका छोराले सशस्त्र प्रहरीमा भर्ना हुने इच्छा राखेमा उनलाई नियमानुसार आवश्यक सहयोग र सहजीकरण सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनीले गरिदिने पनि सहमति भएको छ।

​छलफलमा भएको सहमतिसँगै स्थानीय बासिन्दा मृतकको शव पोस्टमार्टमका लागि नेपाल प्रहरीलाई हस्तान्तरण गर्न र त्यसपश्चात् दाहसंस्कार गर्न तयार भएका छन्। यसअघि सशस्त्र प्रहरीको गोलीबाट साहको मृत्यु भएपछि आक्रोशित स्थानीयले शव उठाउन नदिई राजमार्ग अवरुद्ध पारेर प्रदर्शन गरिरहेका थिए।

बुधबार राति करिब १ः१० बजे ८–१० बोरा चिनी लिएर भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले गोली चलाउँदा ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो।

सशस्त्र प्रहरीका डीआइजी कुमार न्यौपानेले तस्करको समूहले पहिले ठक्कर दिएर भागेपछि जवाफी कारबाही गर्दा साहलाई गोली लागेको र दुई जना सशस्त्र प्रहरी जवान समेत घाइते भएको बताएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad