झापाका छुट्टाछुट्टै स्थानमा नाबालिगहरूमाथि भएका हिंसाजन्य घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
अर्जुनधारामा एक १६ वर्षीया नाबालिगलाई जबरजस्ती करणी गरेको र भद्रपुरमा १४ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ परेको हो।
अर्जुनधारा नगरपालिका- ११ स्थित सूर्योदय होटलमा गत मंसिर २७ गते दिउँसो १२:३० बजे अर्जुनधारा–९ बस्ने २३ वर्षीय कृष्ण बुढाथोकीले एक १६ वर्षीया नाबालिगलाई ललाई–फकाई जबरजस्ती करणी गरेको घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ। पीडितका आफन्तले इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएलगत्तै प्रहरीले पुस १५ गते बुढाथोकीलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय अनारमनीले अभियुक्तलाई हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत झापाबाट बुधबार पहिलो पटकका लागि ६ दिनको म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।
त्यसैगरी, भद्रपुर नगरपालिका-१ मा विद्यालय जाँदै गरेकी १४ वर्षीया बालिकालाई बाटो छेकी अश्लील हर्कत देखाएको अभियोगमा ४० वर्षीय मंगल टुडु पक्राउ परेका छन्। गत पुस १३ गते टुडुले ती बालिकाको बाटो छेक्ने, जिस्क्याउने र आफूले लगाएको लुगा खोलेर संवेदनशील अङ्ग देखाई हैरानी दिएको प्रहरीले जनाएको छ।
अभियुक्त टुडुले यसअघि पनि पटक–पटक विद्यार्थीहरूलाई सार्वजनिक बाटोमा यस्ता अश्लील हर्कत देखाई त्रसित बनाउने गरेको प्रहरीको दाबी छ।
इलाका प्रहरी कार्यालय पृथ्वीनगरको टोलीले टुडुलाई पुस १४ गते नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापा पठाएको थियो। निजलाई मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धी कसूर अन्तर्गत बाल यौन दुर्व्यवहारको अभियोगमा जिल्ला अदालत झापाबाट आज पुस १६ गते ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया