विराटनगरको सीमा क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
विराटनगर महानगरपालिका–१५ स्थित सुनसरी ट्रेडिङ सेन्टर अगाडि भारतबाट नेपालतर्फ आउँदै गरेको कारलाई चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद भएको हो।
इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय रानी (सीमा) बाट खटिएको संयुक्त प्रहरी टोलीले प्रदेश १-०४-००१ च ०१६४ नम्बरको सेतो रङको कारलाई शंका लागेर रोकेको थियो।
चेकजाँचका क्रममा कारभित्र लुकाई छिपाई राखिएको अवस्थामा स्रोत नखुलेको ६ लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
रकमसहित पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. ६ बस्ने ४९ वर्षीय अरबिन्द्र अग्रवाल रहेका छन्। प्रहरीले कार र नगदसहित अग्रवाललाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक(प्रनाउ) कोपिला चुडालका अनुसार पक्राउ परेका अग्रवालमाथि इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको छ। उक्त रकम अवैध हुण्डी कारोबार वा अन्य कुनै गैरकानुनी प्रयोजनको लागि ल्याइएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
Shares

प्रतिक्रिया