कोशी


प्रतिनिधि छनोट गर्दा एमाले मोरङमा गुटगत प्रतिस्पर्धा

प्रतिनिधि छनोट गर्दा एमाले मोरङमा गुटगत प्रतिस्पर्धा

सुमन सुस्केरा
मंसिर १०, २०८२ बुधबार १४:३०, विराटनगर

नेकपा एमालेको मोरङमा आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन प्रक्रियाले गुटगत प्रतिस्पर्धा सतहमा आएको छ। 

मोरङबाट ४६ प्रतिनिधि मात्र चयन हुने अवस्थामा १४५ भन्दा बढी नेताहरूले उम्मेदवारी दर्ता गराएका छन् र यो तथ्यले जिल्लाभित्रै शक्ति परीक्षण गर्ने तयारी दुवै पक्षहरू स्थानीय गुट र नेतृत्व नजिकको लाइनबीच तीव्र बनेको सङ्केत देखिएको छ। 

६ वटै क्षेत्र र दलित कोटामा देखिएको असाधारण भिडभाडले जिल्लामा लामो समयदेखि चलिरहेको विद्या भण्डारी र केपी शर्मा ओली गुटबिचको अविश्वास र वर्चस्व संघर्ष महाधिवेशन प्रतिनिधि छनोटमै देखिएको छ। खुल्ला, महिला, दलित र युवा कोटा सबैमा गुटगत असर देखिएपछि दोहोरो उम्मेदवारी दर्ता भएको हो।

आफ्नाले जिताउने अभियान
प्रत्येक क्षेत्रमा स्थानीय नेतृत्व र केन्द्रीय लाइन नजिकका नेताहरूले ‘गुटका उम्मेदवार’ उठाएका कारण धेरै स्थानमा ३–४ सिटका लागि १२ देखि २४ सम्म प्रतिस्पर्धी उभिएका छन्।  

कतिपय क्षेत्रमा पुराना नेतृत्वसँग असन्तुष्ट समूह सक्रिय देखिन्छन्। कतिपय क्षेत्रमा क्षेत्रीय प्रभुत्व जोगाउन र महाधिवेशनमा आफ्नो प्रभाव जमाउने दाउमा पुराना नेताहरू देखिएका छन्। विशेष गरी क्षेत्र नं. ३ मा २४ जना सम्म उम्मेदवार छन्। आन्तरिक शक्ति–सन्तुलन कता झुक्ने हो भन्नेबारे दुवै खेमामा अनिश्चितता बढेको देखिएको छ। 

महिला र युवा कोटामा पनि गुटगत सेटिङ देखिएको छ। महिला र युवा कोटामा सामान्यतया कम प्रतिस्पर्धा हुने परम्परा भए पनि यस पटक हरेक क्षेत्रमा ४-८ जनासम्म उम्मेदवार उभिनु गुटगत समीकरण मिलाउन नसकेको परिणामका रूपमा हेरिएको छ। 

महिला कोटामा जिल्ला स्तरमा समानान्तर रूपमा दाबी गर्ने समूह बढेपछि सबै क्षेत्रबाट ‘आफ्नो सम्भावित प्रतिनिधि’ अघि सारिएको एमाले नेताहरू बताउँछन्।

दलित क्षेत्रको खुला २ सिटका लागि ७ जनाको दाबी पनि सामान्य प्रतिस्पर्धा होइन। स्थानीय तहमा नै विभाजन भएका समूहहरू केन्द्रमार्फत ‘मान्यता पाउने’ मौका लिन एक अर्कासँग भिडिरहेका छन्।

मोरङमा २३ हजार १७९ मतदाता रहेका कारण प्रतिनिधि छनोटलाई नेतृत्व पक्षले ‘संगठनिक एकता प्रदर्शन’ का रूपमा देखाउन चाहेको भए पनि स्थानीय कार्यकर्ता यसलाई गुटीय जनमतको रूपमा व्याख्या गरेका छन्। 

कसले कति प्रतिनिधि जितेर काठमाडौँ पुर्‍याउँछ, त्यसले नै महाधिवेशनमा शक्तिको स्थिति निर्धारण गर्ने भएकोले नेताहरू आफ्नो शक्ति देखाउन लागि परेका छन्। मंगलबार दर्ता भएका उम्मेदवारको अन्तिम नामावली मङ्सिर ११ गते प्रकाशित हुनेछ भने मतदान मङ्सिर १३ गतेलाई तय गरिएको छ।  

हाल देखिएको गुटगत ध्रुवीकरणका कारण प्रतिनिधि छनोट ‘सहज’ भन्दा ‘अत्यन्त पेचिलो’ बनेको एमालेका नेताहरूले बताएका छन्। 

यस्तो छ अवस्था
मोरङ जिल्लामा २३ खुला, १४ महिला, ३ दलित र ६ युवा प्रतिनिधिका लागि १४५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। मोरङ १ को खुला तर्फ ४ प्रतिनिधिका लागि १३ जना, ३ महिलाका लागि ८ जना र एक युवा प्रतिनिधिका लागि ३ जनाको उम्मेदवारी परेको छ।  

क्षेत्र नं. २ को खुल्ला तर्फ ४ प्रतिनिधिका लागि १२ जना, महिला तर्फ २ प्रतिनिधिका लागि ६ जना र युवा तर्फ एक प्रतिनिधिका लागि ३ जनाको उम्मेदवारी परेको छ। 

क्षेत्र नं.३ को खुल्लातर्फ ५ प्रतिनिधिका लागि २४ जना, महिलातर्फ ३ प्रतिनिधिका लागि ७ जना युवा तर्फ एक प्रतिनिधिका लागि ६ जनाको उम्मेदवारी परेको छ।

यस्तै क्षेत्र नं. ४ को खुल्ला तर्फ ३ प्रतिनिधिका लागि ७ जना र महिला तर्फ २ प्रतिनिधिका लागि ५ जना तथा युवा तर्फ एक  प्रतिनिधिका लागि ४ जनाको उम्मेदवारी परेको छ। क्षेत्र नं। ५ को खुल्ला तर्फ ३ प्रतिनिधिका लागि ८ जना, महिला तर्फ २ प्रतिनिधिका लागि ४ जना र युवा तर्फ एक प्रतिनिधिका लागि २ जनाको उम्मेदवारी परेको छ।

क्षेत्र नं. ६ को खुल्ला तर्फ ४ प्रतिनिधिका लागि ११ जना, महिला तर्फ ३ प्रतिनिधिका लागि ५ जना र युवा तर्फ एक प्रतिनिधिका लागि ७ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।  

त्यस्तै दलित क्षेत्रको खुल्ला तर्फ २ प्रतिनिधिका लागि ७ जना र महिला तर्फ एक प्रतिनिधिका लागि ३ को उम्मेदवारी परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad