झापाको दमक नगरपालिका–८ र इलामको चुलाचुली गाउँपालिका–४ बाट हातहतियार लुटपाटमा संलग्न ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले २ थान चाइनीज पेस्तोल र २० राउण्ड गोलीसहित तीनजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका ८ का २५ वर्षीय सरोज पुरी, दमक–६ का २९ वर्षीय विश्व लिङ्देन, र इलाम चुलाचुली–४ का पवन हाङ्सुरुम्बा रहेका छन्।
गत भदौ २४ गते काठमाडौँमा भएको जेन्जी आन्दोलनका क्रममा महानगरीय प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी तथा हातहतियार लुटपाटमा सरोज पुरी संलग्न रहेको प्रहरीको दाबी छ।
लुटपाटपछि फरार रहेका पुरी आफ्नै घरमा लुकी बसेको विशेष सूचनाका आधारमा मंसिर ८ गते इलाका प्रहरी कार्यालय दमक र लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
पुरीको साथबाट १ थान चाइनीज पेस्तोल र १५ राउण्ड गोली बरामद गरिएको झापा प्रहरीले जनाएको छ।
लुटिएको पेस्तोल विश्व र पवनमा पुगेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, पुरीले आफूसँग रहेको अर्को १ थान पेस्तोल र ५ राउण्ड गोली विश्व लिङ्देनलाई दिएको स्वीकारेका छन्। त्यसपछि लिङ्देनले उक्त हातहतियार इलाम चुलाचुली–४ का पवन हाङ्सुरुम्बालाई सुरक्षित राख्न दिएको खुलेको हो।
इलाका प्रहरी कार्यालय दमक, प्रहरी चौकी पेल्टीमारी र लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले पवनलाई पक्राउ गरी उनको बारीमा खाल्डो खनी लुकाइ राखिएको १ थान पेस्तोल र ५ राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया