जेनजी आन्दोलनको नाममा मोरङका विभिन्न प्रहरी कार्यालयमा गरिएको आगजनी र तोडफोडमा संलग्न २१ जना पक्राउ परेका छन्।
मोरङ प्रहरीले विराटनगर र जहदाबाट १०, पथरीशनिश्चरेबाट ६ र उर्लाबारीबाट ५ जनालाई नियन्त्रणमा लिएको हो।
गत भदौ २४ गते उर्लाबारी र पथरीस्थित इलाका प्रहरी कार्यालयमा आगजनी, तोडफोड तथा थुनुवा भगाउनेसम्मका गतिविधि भएको थियो।
विराटनगरमा समेत जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, विभिन्न प्रहरी बिट तथा सीआरभी गाडीमा आगजनी गरिनुका साथै ट्राफिक लाइट र सीसी क्यामेरा तोडफोड गरिएको थियो।
उर्लाबारीबाट उदय साह, बब्लु सहनी, मिलन राई, राजकुमार सहनी र रविन सुन्दास पक्राउ परे। पथरीमा चन्द्र कार्की, दीपक चौधरी, मुकेश बराइली, विश्वास थापा, सिद्धार्थ राई र मिथुन मण्डल पक्राउ परेको प्रहरीले जनाएको छ। त्यस्तै विराटनगर–५ का विशाल माल्मिकी, गोपी साह, विराटनगर–६ का विष्णु साफी, चन्दन बर्मा, किसन सहनी, विराटनगर–१४ का राकेश यादव तथा जहदा गाउँपालिकाका प्रवेश मण्डल, सुशील यादव, सुरज सिंह र मुकेश कामत पनि प्रहरी नियन्त्रणमा छन्।
पक्राउ परेकामाथि आपराधिक उपद्रव मुद्दा दर्ता गरी जिल्ला अदालत मोरङबाट म्याद थपेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए। आन्दोलनको नाममा प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरी आतङ्क मच्चाउनेहरूलाई एकपछि अर्को गरी कानुनी दायरामा ल्याउने प्रक्रिया सुरु भएको बताए।
भदौ २४ गतेको घटनामा संलग्न थप व्यक्तिको पहिचानका लागि सिसिटिभी फुटेज, भिडियो र फोटोको विश्लेषण भइरहेको प्रहरीले जनाएको छ। विराटनगरका सरकारी कार्यालय आगजनी र तोडफोडमा नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरू संलग्न रहेको भिडियोहरू बाहिरिएको थियो।
आन्दोलनको आवरणमा विराटनगरसहित मोरङका विभिन्न स्थानमा सरकारी तथा निजी सम्पत्ति, व्यापारिक मल र संरचनामा ठुलो क्षति पुर्याइएको थियो। घटना गर्न उक्साउनेहरूलाई समेत कानुनी दायरामा ल्याउने प्रहरीको प्रतिबद्धता छ।
Shares

प्रतिक्रिया