श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पार्टीका गतिबिधिहरुलाई तीव्र बनाउँदै लगेका छन्। हरेक दिन उनले आमसभा र भेलाहरू गर्न थालेका छन्।
सोमबार मोरङको लेटाङमा आम भेला गरेका साम्पाङले मंगलबार पाँचथरको फिदिममा आमसभा आयोजना गरेका हुन्। त्यहाँ करिब १२ सयको उपस्थिति रहेको आँकलन प्रहरीको छ।
सभालाई सम्बोधन गर्दै साम्पाङले अब ढुंगा हानेर देशको विकास नहुने भन्दै ढुंगा बोकेर देशको विकास गर्नको लागि श्रम संस्कृति पार्टी अभियानमा लागेको बताए।
कामको काम करणले विभेद गर्ने परम्परा पहिलादेखि अहिलेसम्म रहेको बताउँदै साम्पाङले सबैले सम्मानित जीवन जिउनको लागि सम्मानित जीवनका लागि श्रम गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताए।
‘तपाईँहरूलाई यो श्रम संस्कृति भनेको एउटा पार्टी रहेछ भन्ने लाग्ला त्यो हैन’, उनले भने, ‘हाम्रो रोल नम्बर २०४ हो, यस अघिको २०३ वटा पार्टी पहिले नै थिए तपाईँहरूलाई भोट माग्न आए भन्ने लागेको होला त्यस्तो हैन। भोट त तपाईँहरूको मन हामीले जित्यौँ भनेँ मात्रै दिने हो।’
श्रमको कारणले रहेको विभेद हटाउने र श्रमिकको सम्मान गर्ने गरी श्रम संस्कृतिको विकास गर्न यो पार्टी जन्मिएको दाबी गरे।
‘पुराना पार्टीको गुणगान गाएको ७० वर्ष बितिसकेकोले अब फेरी तिनै पार्टीको गुणगान गाउने र भाषण सुनेर बस्ने हामीलाई छुट छैन, हामी चाहँदैनौँ,’ राईले भने ।
देश बनाउने र देश बदल्ने अभियानमा आउने की नआउने भन्दै साम्पाङले स्थानीयको मन जित्ने प्रयास गरेका थिए। यो देशलाई बनाउने र बदल्नको लागि श्रम संस्कृतिको अभियानमा लाग्न उनले सबैलाई आग्रह गरे।
भाषण गर्ने क्रममै स्थानीयले एक स्वरमा अभियानमा लाग्ने प्रतिबद्धताप्रति हौसिए। ‘चाइनाबाट पनि सुन्यो कि क्या हो अभियानमा जोडिने भनेको कुरा,’ उनले भने, ‘सी चिन फिङले पनि हेरिरहेको क्या स्याटेलाईटबाट यो फिदिममा के भन्छ भनेर। यो सन्देश चीनलाई पनि दिनु पर्छ, अलिकति काम गरेँ भन्ने बित्तिकै धेरै काम गरेँ भनेर तपाईँ नभन्नुस्, चाइनिजले १८ घण्टा काम गर्छन् भनेँ हामीले १९ घण्टा काम गर्नु पर्छ।’
उनले १९ घण्टा काम गर्नु पर्छ काम गर्न तयार हो भनेर हात उठाउन समेत लगाएर स्थानीयलाई आकर्षित गर्न खोजेका थिए।
उनले कात्तिक १६ गते श्रम संस्कृति पार्टी दर्ता भएको प्रमाणपत्र निर्वाचन आयोगबाट पाएका थिए।
Shares

प्रतिक्रिया