मोरङको कटहरी गाउँपालिका–१ महेशपुरमा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रदेश १–०४–००२ प ०४६४ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा राति करिब १ बजे आफैं अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक विराटनगर–६ का ३५ वर्षीय हरिओम राजवंशी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि कोशी अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै मोटरसाइकलमा सवार ३४ वर्षीय सन्दीप राजवंशी र ३३ वर्षीय वसन्त राजवंशी घाइते भएका छन्। दुबैजनालाई थप उपचारका लागि विराट नर्सिङ होममा रेफर गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, घाइते दुबैजनाको अवस्था मध्यम रहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
Shares

प्रतिक्रिया