कोशी


जलेको संरचनामाथि प्रदेश सरकारको संविधान दिवस

जलेको संरचनामाथि प्रदेश सरकारको संविधान दिवस

नेपालखबर
असोज ३, २०८२ शुक्रबार १४:४९, विराटनगर

वरिपरि जलेका भवनका भग्नावशेषहरू। मन्त्रालय परिसरमा बिहानै केही अगुवा मान्छेहरू आउन थालिसकेका थिए। केही कुर्सीहरू लामबद्ध राखिएका राखिएका छन्। शुक्रबार कोसी प्रदेश सरकारको आयोजनामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा संविधान दिवस मनाउने सम्बन्धमा कार्यक्रमको आयोजना गरिएको थियो।  

मन्त्रालयको आँगनमा पसेपछि पहिलो झल्को, जलेका गाडीहरू थिए। कालो धुवाँ अझै भित्तामा टाँसिएझैँ देखिन्थ्यो। तलका कोठाहरू सबै भग्नावशेषको रूपमा देखिन्थे। 

परपर देखिएका खरानी, नष्ट भएका सामान र ढलेको संरचना, मानौँ पीडाको गवाही दिइरहेका थिए। जलेका गाडीहरू, धुवाँको गन्धका बिचमा भएको यो कार्यक्रममा सहभागीको उपस्थितिले संविधानको संरक्षणमा सबैको एक मत जस्तै देखिन्थ्यो। 

त्यही वातावरणबिच, कार्यक्रम सुरु भयो। मञ्चमा सोफा सजाइएका थिए, मञ्चमा मुख्यमन्त्री र मन्त्रीहरू तथा विशिष्ट कर्मचारीहरू थिए। सरकारले आयोजना गरेको कार्यक्रममा कोसी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्ट भने देखिएनन्। 

दशौँ संविधान दिवस मनाउने कार्यक्रममा सहभागीहरूको कुर्सी निक्कै परसम्म लामबद्ध थियो।  तर, पीडाबिच पनि केही किरण चम्किने सङ्केत गर्दै कोसी प्रदेशका मुख्यमन्त्री  हिक्मतकुमार कार्की भने, ‘नयाँ पुस्ताको चाहना अनुसार हामी अघि बढ्नुपर्छ।’

उनको भनाई लामो थिएन, छोटकरीमा समेटिएको थियो। शब्द साना भए पनि अर्थ ठूलो देखिन्थ्यो। मुख्यमन्त्री कार्कीले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एक ढिक्का भएर अघि बढ्न आह्वान गरे।

कार्यक्रम छोटो थियो, १५ मिनेटमै सकियो। कार्यक्रममा सहभागीहरूले अब नेताहरू सच्चिएर प्रदेशको विकासमा लाग्नु पर्ने बताए। कार्यक्रममा सहभागी मानव अधिकार सञ्जालका अध्यक्ष बासु अधिकारीले दु:खको खरानीमाथि पनि आशाको हरियो अङ्कुर पलाउन सक्छ भन्ने सन्देश यो कार्यक्रमले दिएको बताए। 

विसं २०७२ साल असोज ३ गते जन निर्वाचित संविधानसभाबाट जारी संविधान नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको आधार स्तम्भ भएकोले यसको रक्षा गर्न सबैले हातेमालो आवश्यक रहेको सहभागीको भनाई थियो।

कार्यक्रममा सरकारका मन्त्रीहरू, कर्मचारीहरू, विभिन्न सामाजिक सङ्घ संस्थाका अगुवा लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad