कोशी


कोसी प्रदेश सरकारका ४२ वटा भवन र  २३७ वटा सवारी साधनमा क्षति

कोसी प्रदेश सरकारका ४२ वटा भवन र  २३७ वटा सवारी साधनमा क्षति

सुमन सुस्केरा
भदौ ३१, २०८२ मंगलबार १९:३२, विराटनगर

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त मुख्यमन्त्री कार्यालयको आज अनुगमन तथा निरीक्षण गरेका छन्।

अनुगमनपछि प्रदेश सरकारका सचिव तथा उच्च पदस्थ कर्मचारीहरूसँग छलफल गर्दै मुख्यमन्त्री कार्कीले घटनाले प्रदेशमा ठुलो क्षति पुगेको बताए। उनले कर्मचारीहरूलाई त्रासमुक्त भएर काममा फर्कन र दशैंअघि नै कार्यालय सञ्चालनको सम्पूर्ण व्यवस्थापन मिलाउन निर्देशन दिए।

देशमा विषम परिस्थिति आइपरेको बताउँदै मुख्यमन्त्री कार्कीले यी सबै परिस्थितिको सामना गरेर काम गर्नका लागि आग्रह गरे। मुख्यमन्त्री कार्कीले घटनालाई नेपालको इतिहासमै सबैभन्दा ठूलो भौतिक क्षतिको घटनाको रूपमा चित्रण गरे।

‘विभिन्न राजनीतिक आन्दोलन र विरोधका कार्यक्रमहरू भए, तर यति ठूलो र सर्वाधिक क्षति कहिल्यै भएको थिएन,’ उनले भने, ‘यो घटनाले प्रदेशलाई ठूलो नोक्सान भएको छ यसले हामीलाई २० वर्ष पछाडि धकेलेको छ।’  

त्यस अवसरमा उनले आजैदेखि प्रदेश सरकार सञ्चालनमा आएको घोषणा गर्दै असोज २ गते मन्त्रिपरिषद्को बैठक बसेर थप निर्णयहरू गर्ने जानकारी दिए।

छलफलमा प्रदेशका सचिवहरूले मन्त्रालयगत क्षतिको विवरण प्रस्तुत गर्दै बाँकी रहेको अवस्थाबाटै केही दिनभित्र सेवा सुचारु गर्ने जानकारी दिएका थिए।

कोसी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलले प्रदेशको वस्तुस्थितिको बारेमा जानकारी गराएकी थिइन् ।

यसैबीच भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट कोसी प्रदेश सरकार मातहतका मन्त्रालय तथा कार्यालयहरूमा भएको क्षतिको प्रारम्भिक विवरण प्रदेश सरकारले संकलन गरेको छ।

आन्दोलनका क्रममा कोसी प्रदेशमा भवन र सवारी साधनतर्फ राज्यको सम्पत्तिमा ठूलो नोक्सानी भएको सरकारले जनाएको छ। यस आन्दोलनबाट कोसी प्रदेश सरकार मातहत रहेका प्रदेशभरका ४२ वटा भवन क्षतिग्रस्त बनेका छन्। जसमध्ये १८ वटा भवन पूर्ण क्षतिग्रस्त छन्। २४ वटा भवनमा तोडफोड भई आंशिक क्षति पुगेको छ।

आन्दोलनकारीले प्रदेश सरकारको २३७ वटा सवारी साधनमा क्षति पुर्‍याएको छ। जसमा ७५ वटा चार पाङ्ग्रे सवारी साधनमा क्षति पुगेको छ। 

त्यसमध्ये ६४ वटा चार पाङ्ग्रे सवारी साधन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने ११ वटामा आंशिक क्षति भएको प्रदेश सरकारले जनाएको छ। 

यसै गरी १६१ वटा मोटरसाइकलमा क्षति पुगेको छ। तीमध्ये १४४ वटा मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १७ वटामा आंशिक क्षति पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad