कोशी


झुम्का कारागारमा फेरि २ कैदीको मृत्यु

झुम्का कारागारमा फेरि २ कैदीको मृत्यु

सुमन सुस्केरा
भदौ १७, २०८२ मंगलबार १९:४९, विराटनगर

सुनसरीको झुम्का कारागारमा फेरि २ कैदी बन्दीको ज्यान गएको छ। धरान-१० का २४ वर्षीय सागर राई र गढी गाउँपालिका-६ का ४८ वर्षीय रामदेव उराँवको मृत्यु भएको हो। 

उराँव कर्तव्य ज्यान मुद्दामा २५ वर्षको सजाय भुक्तान गरिरहेका थिए भने राई लागु औषध मुद्दामा पुर्पक्षका लागि गत वैशाखदेखि कारागारमा थुनामा थिए। 

दुवैलाई श्वासप्रश्वासमा समस्या देखिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।  

उनका अनुसार उराँवलाई शनिबार राति समस्या देखिएपछि अस्पताल पुर्‍याएको  थियो। उपचार भइरहँदा सोमबार दिउँसो उनको मृत्यु भयो। त्यस्तै, राईको मंगलबार बिहान मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।  
 

लगातार मृत्यु भएपछि जिल्ला सुरक्षा समिति सुनसरीले कारागारमा स्वास्थ्य शिविर सञ्चालन गर्न निर्देशन दिएको छ। १३ दिनको अन्तरालमै झुम्का कारागारमा ३ कैदीको मृत्यु भएको हो। 

यसअघि भदौ ४ गते धरान-१२ बस्ने भोजपुर हतुवागढीका २८ वर्षीय विकास राईको बीपी प्रतिष्ठानमै उपचारको क्रममा मृत्यु भएको थियो। 

प्रमुख जिल्ला अधिकारी मिश्रले मृत्युको कारण कारागारको व्यवस्था वा अन्य कुनै बाह्य कारण नभई मृत्यु भएका तीनै जना कैदी दीर्घ रोगी भएको बताएका छन्।  

‘बिरामी कैदीहरू अन्य जिल्लाबाट उपचारका लागि सुनसरी ल्याइएका थिए र अस्पतालमा ल्याउँदा उनीहरू पहिले नै गम्भीर अवस्थामा रहेका थिए,’ उनले भने, ‘उनीहरू रोगी थिए, यहाँको कारागारको कारणले होइन।’

केही अन्य कैदीहरू अझै अस्पतालमा उपचाररत रहेको समेत जानकारी दिए। प्रमुख जिल्ला अधिकारी मिश्रले कारागारमा मृत्युको घटनामा कुनै अन्य कारण नभएको समेत सुरक्षा समितिको अनुगमनबाट निष्कर्ष निकालिएको जानकारी दिए।  

बारम्बार बिरामी पर्ने सङ्ख्या बढ्दै गएको भन्दै सुरक्षा समितिले कैदीहरूको स्वास्थ्य विवरण संकलन गर्ने, गम्भीर बिरामीलाई स्थानान्तरण गर्ने लगायतका योजना अघि सारेको उनले बताए। हाल झुम्का कारागारका ‘ए’ र ‘बी’ गरी दुई ब्लकमा १ हजार ७९४ जना कैदी रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad