कोशी


परिवारै जागिरे : छोरा-बुहारी, छोरीदेखि ज्वाइँसम्म सबै सरकारी सेवामा

परिवारै जागिरे : छोरा-बुहारी, छोरीदेखि ज्वाइँसम्म सबै सरकारी सेवामा

सुमन सुस्केरा
भदौ १०, २०८२ मंगलबार १५:३८, विराटनगर

सुन्दरहरैंचा नगरपालिकाको विराट चोकमा रहेको एउटा साधारण घर। तर, यस घरको कथा भने फरक छ। 

बाहिरबाट हेर्दा अन्य घरजस्तै साधारण लागे पनि भित्र पस्दा देखिने अनुशासन, पढाइ लेखाइ र सरकारी सेवाप्रतिको लगावले यसलाई विशेष बनाएको छ। 

यो घर डिल्लीराम न्यौपानेको हो। धनकुटाको डाँडाकाँडामा बाल्यकाल मात्रै बिताएनन्, डिल्लीरामले जीवनभर शिक्षा र समाजलाई अर्पण गरे। कहिले शिक्षक त कहिले प्रधानाध्यापक भएर उनले धेरै पुस्तालाई ज्ञान बाँडे। 

उनले सहिदभुमी गाउँपालिकामा रहेको ठाकुरदेवी माध्यमिक विद्यालयको प्रधानाध्यापकको रूपमा लामो समयसम्म काम गर्ने मौका पाए। अहिले उनी अवकाशप्राप्त शिक्षकको जीवन बिताइरहेका छन्।

तर, उनका ४ छोरी र १ छोरा सबै सरकारी सेवामा छन्। त्यति मात्रै होइन, उनका ४ वटै ज्वाइँ र १ बुहारी पनि सरकारी सेवामा छन्। 

५ सन्तानकी आमा इन्दिरा न्यौपाने बाहेक परिवारका सबै सरकारी सेवामा छन्। कुल मिलाएर अहिले पनि न्यौपाने परिवारबाट १० जना सरकारी जागिरे छन्। कोही शिक्षक, कोही, अधिकृत त कोही उपसचिवसम्म पुगेका छन्। 

जेठी सरस्वतीः कालो पाटीको यात्रा
५ सन्तानमध्ये जेठी छोरी सरस्वती न्यौपाने २०७१ सालमा इटहरीस्थित जनता माविमा अङ्ग्रेजी शिक्षकका रूपमा नियुक्त भइन्। 

कालो पाटीमा लेखिएका उनका शब्दहरूले सयौँ विद्यार्थीको जीवन सजाइरहेका छन्। उनका श्रीमान योगेन्द्र निरौला तरहरास्थित जनसहयोग माविका सहायक प्रधानाध्यापक हुन्।

दोस्रो सन्तान भवानीः गणितसँगको संगत
भवानीप्रसाद न्यौपानेको जीवन गणितका सूत्रसँग गाँसिएको छ। २०७१ सालमै शिक्षक सेवामा छिरेका उनले अहिले केराबारीको मच्छिन्द्र माध्यमिक विद्यालयमा गणित पढाउँछन्। 

सङ्ख्याको संसारसँग रमाउने उनले परिवारसँगै जीवनको सन्तुलन कायम गर्न पनि जानेका छन्। उनकी जीवनसाथी अर्चना ढकाल विद्युत् प्राधिकरण बेलबारीमा खरिदार पदमा कार्यरत छिन्।

माइली लक्ष्मीः प्रशासनिक सेवाको आरोहण
तेस्रो सन्तान लक्ष्मी न्यौपाने हुन्। उनी २०६९ सालमा सरकारी सेवामा छिरिन्। प्रास, शाखा अधिकृत हुँदै अहिले सामाजिक विकास मन्त्रालय, कोसी प्रदेशमा उपसचिव छिन्। 

लक्ष्मी आफ्नो नामजस्तै परिवार र समाजलाई उज्यालो दिन चाहन्छिन्। उनी कोसी प्रदेश लोकसेवा आयोगको परीक्षामा खुल्ला तर्फ उपसचिवमा नाम निकाल्ने पहिलो व्यक्ति हुन्। उनका श्रीमान् तारानाथ निरौला तथ्यांक कार्यालयमा खरिदार छन्।

साइली जानुकाः संघीयबाट प्रदेशसम्म
जानुका न्यौपानेको यात्रा केही भिन्न छ। २०७२ सालमा निजामती सेवा प्रवेश गरेर उनले २०७५ मा शाखा अधिकृतको जिम्मेवारी सम्हालिन्। १० वर्षमा उनले छलाङ मार्दै हालै २०८२ सालमा उपसचिवको नाम निकाल्दा उनी परिवारकै गर्व बनेकी छन्। 

संघीय निजामती सेवा अन्तरगतको उपसचिव भएकी जानुका अहिले उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोसी प्रदेशमा खटिएकी छिन्। उनका श्रीमान् जीवन सुवेदी पनि आर्थिक मामिला तथा योजना मन्त्रालय, कोसी प्रदेशमा शाखा अधिकृत हुन्। 

कान्छी चण्डिकाः विराटनगर महानगर
परिवारकी कान्छी चण्डिका न्यौपाने २०७६ सालदेखि विराटनगर महानगरपालिकामा कार्यरत छिन्। उनको मुस्कान सेवा भावसँगै जोडिएको छ। उनका श्रीमान् अनमोलमणि भट्टराई भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोसी प्रदेशमा शाखा अधिकृतका रूपमा खटिएका छन्।

एकै 'छानामुनि सेवा'को कथा
यो परिवारको विशेषता भनेकै घरको हरेक कोठामा सरकारी सेवाको भाषा गुन्जिनु। सरकारी सेवा भन्ने बित्तिकै कतिपयलाई कठोर अनुशासन, कडा नियम मात्र सम्झना आउँछ। 

तर, न्यौपाने परिवारको कथा भने सेवा भाव र इमान्दारीले भरिएको छ । लक्ष्मी भन्छिन्, ‘हाम्रो घरमा आमाबाहेक सबै सरकारी सेवामा छौँ। बुबाले दिनु भएको शिक्षण संस्कार र आमाले सिकाउनुभएको परिश्रमकै कारण हामी यो स्थानमा पुगेका हौँ।’ 

न्यौपाने परिवारको कथा सुन्दा लाग्छ, एक व्यक्तिको अनुशासनले पुस्तौँलाई दिशा दिन सक्छ। मेहनत र परिश्रमका कारण अहिले यो परिवारको सबै छोरा, छोरी, बुहारी तथा ज्वाइँ सबै सरकारी सेवामा छन्।  

खरिदारदेखि उपसचिव जस्तो निर्णायक तहमा पुग्दा यो परिवारमा विविधता देखिन्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad