कोशी


कोसी सरकार र सिंहदरबार वैद्यखानाबीच आयुर्वेद औषधि खरिद सम्झौता

कोसी सरकार र सिंहदरबार वैद्यखानाबीच आयुर्वेद औषधि खरिद सम्झौता

नेपालखबर
भदौ २, २०८२ सोमबार १३:५१, विराटनगर

कोसी प्रदेश सरकारले सिंहदरबार वैद्यखाना विकास समितिसँग आयुर्वेद औषधि खरिदका लागि औपचारिक सम्झौता गरेको छ।

सोमबार प्रदेश स्वास्थ्य मन्त्रालयमा प्रदेश सरकारले यस आर्थिक वर्षभित्र २३ प्रकारका आयुर्वेद औषधि जी-टु-जी प्रक्रियामा खरिद गर्ने सम्झौता गरेको हो। 

सम्झौतापत्रमा प्रदेश सरकारका तर्फबाट स्वास्थ्य मन्त्रालयका सचिव डा राधिका थपलिया र सिंहदरबार वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक प्रदीप केसीले हस्ताक्षर गरेका हुन्। 

सम्झौताका क्रममा प्रदेश स्वास्थ्य मन्त्री भूपेन्द्र राईले सरकार पारदर्शी हुनुपर्छ भनेर सरकारले नै औषधि खरिद गर्ने सम्झौता गरेको बताए। 

प्रदेश आपूर्ति केन्द्रमार्फत औषधि खरिद गर्ने गरिएकामा नागरिकलाई सहज होस् भनेर गत वर्षदेखि नै जिल्लास्तरमै औषधि खरिद प्रक्रिया अघि बढाइएको उनले बताए। 

उनले भने, ‘यसबाट नागरिकले स्वास्थ्य सुविधा सहजै पाउने र औषधि अभावको समस्या हट्ने प्रदेश सरकारको विश्वास छ।’

स्वास्थ्य मन्त्रालयका सचिव डा थपलियाले कोसी प्रदेश सरकारले २ करोड २० लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि खरिद गर्ने सम्झौता गरिएको जानकारी दिइन्। 

सम्झौताअनुसार प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र संघीय ससर्त अनुदान समेत गरी कुल २ करोड २० लाखको औषधि खरिद गरिने उनले बताइन्। 

वैद्यखानामार्फत औषधि खरिद गरिनुको मुख्य उद्देश्य गुणस्तरीय औषधिको आपूर्ति सुनिश्चित गर्नु रहेको उनको भनाइ छ।

सम्झौतामा सिंहदरबार वैद्यखानामार्फत औषधि आपूर्ति दुई चरणमा हुने व्यवस्था गरिएको छ। पहिलो चरणमा जिल्लास्तरका स्वास्थ्य संस्था आफैँले आवश्यकताअनुसार माग गर्नेछन् भने दोस्रो चरणमा आपूर्ति व्यवस्थापनमार्फत औषधि वितरण गरिने जनाइएको छ। 

यसरी औषधिको खरिद गर्दा कहिलेकाहीँ आपूर्ति व्यवस्थापन केन्द्रले औषधि उपलब्ध गराउन ढिला गरेको अवस्थामा तत्काल आवश्यक औषधि स्थानीय आयुर्वेद केन्द्रमार्फत खरिद गरी वितरण गर्न सकिने प्रदेश सरकारले जनाएको छ।

सम्झौताबाट २३ वटा आयुर्वेदऔषधि निःशुल्क वितरण गरिनेछ। संस्थागत छुटबाट समेत प्राप्त हुने भएकाले त्यसै रकमबाट थप औषधि खरिद गरेर वितरण गर्ने योजना कोसी सरकारको छ।

सम्झौता कार्यक्रममा सिंहदरबार वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक केसीले गुणस्तरीय औषधि आपूर्ति सुनिश्चित गर्न प्रदेशसँग सहकार्य गरी नयाँ काम थालनी गरिएको बताए। 

अहिलेसम्म कुनै पनि सरकारसँग वैद्यखानाले सिधै सम्झौता गरेर औषधि बिक्रीको सम्झौता नगरेको समेत उनले बताए। 

यस क्रममा उनले दोस्रो विश्वयुद्धका क्रममा नेपाली सैनिकले प्रयोग गरेका एन्टिसेप्टिक औषधिसमेत वैद्यखानामै उत्पादन भएको इतिहास स्मरण गराए। 

उनका अनुसार सिंहदरबार वैद्यखानाले हाल ५४ प्रकारका औषधि उत्पादन गरिरहेको छ। 

यो सम्झौता पारदर्शी ढंगले सुशासन कायम गर्न र नागरिकलाई समयमै आयुर्वेद औषधि उपलब्ध गराउन गरिएको दाबी कोसी सरकारले गरेको छ। 

पहिलो त्रैमासभित्र औषधि खरिद प्रक्रिया सुरु भई दोस्रो त्रैमासभित्रै औषधि जिल्ला-जिल्लामा पुर्‍याउने योजना छ। यसबाट प्रदेशमा औषधिको अभाव नहुने दाबी कोसी सरकारले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad