हङकङमा अवैध दन्त क्लिनिक चलाउने ६ घरेलु कामदार पक्राउ

न औपचारिक शिक्षा न तालिम, आफैँ गर्थे उपचार
हङकङमा अवैध दन्त क्लिनिक चलाउने ६ घरेलु कामदार पक्राउ

पक्राउ पर्ने सबै फिलिपिन्सका हुन् (दुवै तस्बिर : ह्यान्डआउट)


नेपालखबर
भदौ २, २०८२ सोमबार १३:५४, काठमाडौँ

हङकङको एक फ्ल्याटमा गुप्त तरिकाले दन्त क्लिनिक चलाउने ६ विदेशी घरेलु कामदार पक्राउ परेका छन्।

सामसुई पोको टेनिमेन्ट फ्ल्याटमा विनाइजाजत सञ्चालित उक्त क्लिनिकमा अध्यागमन अधिकारीहरूले छापा मार्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्ने सबै फिलिपिन्सका भएको अध्यागमन विभागले जनाएको छ। विभागका अनुसार, उनीहरूमध्ये २ जनाले दन्त चिकित्सकको रूपमा काम गर्थे भने ४ जना सहयोगीको भूमिकामा थिए।

यहाँ स्केलिङ, अर्थोडोन्टिक उपचार र दाँत भर्ने जस्ता सेवाहरू प्रदान गर्ने गरिएको थियो। आइतबार छापा मार्ने क्रममा क्लिनिकमा १३ जना ग्राहक पनि थिए।

गुप्त रूपमा सञ्चालन गरिएको उक्त क्लिनिकको सरसफाइको अवस्था अत्यन्तै नाजुक छ। कथित शल्यक्रिया कक्षमा सोफा, डिस्टिल वाटर, टिस्यु, तौलिया, सुगन्ध, सिङ्क र शल्यक्रियाका लागि प्रयोग हुने साधारण उपकरण मात्र थिए।

‘हामीले पक्राउ गर्दा तथाकथित दन्त चिकित्सकहरू सामान्य कपडामा थिए,’ प्रमुख अध्यागमन अधिकारी धुबल ताईलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ, ‘यी कपडा, चिकित्सा वस्तु तथा उपकरण कुनै पनि तरिकाले निर्मलीकरण गरिएको थियो भन्ने संकेत गर्ने कुनै प्रमाण थिएन। क्लिनिकल फोहोरलाई उचित रूपमा बिसर्जन गरिएको थिएन, जसले गर्दा भाइरल संक्रमणको ठूलो जोखिम देखिन्थ्यो।’

विभागको प्रारम्भिक अनुसन्धान अनुसार, सन्दिग्धहरूले अनलाइन भिडिओबाट दन्तचिकित्सासम्बन्धी सीप सिकेका थिए। उनीहरू कसैसँग पनि औपचारिक शिक्षा र प्रशिक्षण छैन, योग्यताको कुरा त परै छ। पक्राउ परेकामध्ये एक जनाको दाबी चाहिँ फिलिपिन्समा दन्त चिकित्सकको सहायकको रूपमा काम गरेको भन्ने छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .