कोशी


पर्यटनको नयाँ गन्तव्य मिक्लाजुङको रमिते डाँडा(तस्बिरहरू)

पर्यटनको नयाँ गन्तव्य मिक्लाजुङको रमिते डाँडा(तस्बिरहरू)

सुमन सुस्केरा
साउन २४, २०८२ शनिबार १७:४७, बिराटनगर

पूर्वी नेपालमा पर्यटनको अपार सम्भावना बोकेको क्षेत्र हो मोरङको मिक्लाजुङ गाउँपालिकाको रमिते डाँडा। भौगोलिक हिसाबले इलाम, पाँचथर, धनकुटा र मोरङ जिल्लाको संगम स्थल मानिने यो क्षेत्र प्राकृतिक सौन्दर्य, विविध मौसमी अनुभव र अनुपम दृश्यावलोकनको स्रोत हो। तर यस्ता सम्भावनायुक्त गन्तव्यहरू पूर्वाधार, प्रचार र योजनाको अभावमा ओझेलमा छन्।

कोसी प्रदेश पर्यटन वर्ष २०८२ मनाइँदै छ, यसको प्रचार प्रसार भएको छैन। आफैँ बिस्तारै गति लिने चरणमा बल्ल पुगेको छ। गत वर्ष मात्रै सडक कालोपत्रे आइतारेसम्म पुगेपछि यहाँ चहलपहल देखिन्छ। पहिरो क्षेत्रको ३ किलोमिटर कालोपत्रे गर्न नै बाँकी रहेको छ। 

यो सबै सडक कालो पत्रे सकिने हो भनेँ यहाँको सम्भावना प्रशस्त रहेको घुमफिरमा यहाँ पुगेका पर्यटन व्यवसायी ज्ञानमणि नेपाल बताउँछन्। मोरङमै यति नजिकै यति सुन्दर पर्यटकीय क्षेत्र रहेर पनि प्रचार हुन नसकेको बताउँछन्।

पर्यटन वर्ष २०८२ निर्देशक समितिका सह-संयोजक भविश श्रेष्ठले मिक्लाजुङ-१ स्थित रमिते डाँडालाई ‘भर्जिन प्लेस’को रूपमा चिनाउँदै यसको प्रवर्द्धन आवश्यक रहेको बताएका छन्। भेरेटारदेखि रमितेसम्मको यात्रा अनुभवलाई उल्लेख गर्दै उनले भने, ‘यहाँको मौसम, हरियाली र दृश्यले पर्यटकलाई लोभ्याउँछ। तल झापा, मोरङमा ३५ डिग्री तापक्रम हुँदा यहाँ २० डिग्री जति मात्र हुन्छ।’ 

श्रेष्ठका अनुसार बेलबारी, लेटाङ, राजा-रानी, कानेपोखरीबाट महेन्द्र राजमार्ग हुँदै सजिलै आउने बाटो भएकाले यो क्षेत्रलाई झनै सहज बनाएको छ। बस्ने ठाउँको अभाव, होमस्टे विस्तारको आवश्यकता र प्रचारमा ध्यान दिएमा रमिते डाँडालाई भारतीय र आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बनाउन सकिने श्रेष्ठ बताउँछन्। विराटनगर अफ ट्राभल्स एजेन्टहरूको एउटा टोली त्यहाँको अवस्थाको बारेमा पर्यटनको सम्भावनाको खोजीमा त्यहाँ गएको बेला श्रेष्ठ त्यहीँ भेटिएका थिए। 


मिक्लाजुङ-१ मा रहेको आइतबारे बजार समुद्री सतहबाट करिब १,५०० मिटर उचाइमा छ, जहाँ बाह्रै महिना चिसो मौसम रहन्छ। पत्याउनै गाह्रो पर्ने तराईको जिल्लामा यति शीतलताको अनुभूति दिलाउने असाध्यै सुन्दर छ रमिते। धरान-धनकुटाको भेडेटारसँग मिल्दो मौसम र वातावरण रहेको यो क्षेत्र पूर्वी तराईका गर्मीबाट नजिकैको दुरीमा रहेको कारण सर्बसाधारणको रोजाइमा पर्न थालेको छ।


यहाँ घाम, पानी र हुस्सुको खेल एक छिनमै देख्न पाइने यहाँको मुख्य विशेषता भएको वडा सचिव जङ्ग राईले बताए। उनका अनुसार दमक, उर्लाबारी, पथरी, बेलबारी जस्ता स्थानबाट उल्लेख्य सङ्ख्यामा मानिस आउने गरेको बताए।

यस क्षेत्रबाट प्याराग्लाइडिङको सफल परीक्षण समेत भइसकेको छ। दक्षिणतर्फको बतासे डाँडाबाट सूर्योदय दृश्यावलोकन श्रीअन्तुजस्तै आकर्षक हुने स्थानीयहरू बताउँछन्। 

मिक्लाजुङ डाँडा जहाँ एकै ठाउँबाट सगरमाथा, कञ्चनजङ्घा लगायत १४ वटा हिमशृङ्खलाहरू अवलोकन गर्न सकिन्छ। ‘मिक्लाजुङ’ नामको अर्थ लिम्बू भाषामा ’आँखाले धेरै टाढा देख्न सकिने ठाउँ’ भन्ने अर्थ लाग्दछ, जुन यसको भौगोलिक विशेषतालाई नै झल्काउँछ। २,४०० मिटरको उचाइमा अवस्थित यो डाँडा, प्राकृतिक सौन्दर्य र हिमाल-तराई-पहाड देखिने अनुपम स्थान हो।  

त्यसको असर पर्यटनको विकासमा देखिएको छ। स्थानीय नेतृत्व र सरकारको योजनाबद्ध लगानी भएमा यो गन्तव्यले अन्तर्राष्ट्रिय पर्यटक पनि तान्न सक्ने सम्भावना बोकेको स्थल हो। 

पछिल्लो एक वर्षदेखि यहाँ जग्गाको किनबेच बढेको छ भनेँ लगानी कर्ताहरू समेत बढेको मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले जानकारी दिए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad