कोशी


विराटनगरबाट देउवालाई शेखरको सुझाव: उहाँले सबै नेतासँग संवाद र समन्वय गर्नुपर्छ

‘जिल्ला जाँदा कांग्रेसकै भिड देखिन्छ तर चुनावमा हारिन्छ’
विराटनगरबाट देउवालाई शेखरको सुझाव: उहाँले सबै नेतासँग संवाद र समन्वय गर्नुपर्छ

नेपालखबर
साउन १७, २०८२ शनिबार १२:१९, विराटनगर

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबै दलका नेताको अभिभावक भएर प्रस्तुत हुन सुझाव दिएका छन्।

उनले देउवाजत्तिको अनुभवी र वरिष्ठ नेता अहिले नेपाली राजनीतिमा कोही नभएको टिप्पणी गर्दै भने, ‘उहाँले सबै नेतासँग संवाद र समन्वय गर्दै देशको समस्याको समाधानतर्फ मार्गप्रशस्त गर्नुपर्छ।’

नेपाली कांग्रेसको विराटनगर-४ वडा समितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै कोइरालाले देशमा लोकतन्त्रको स्थायित्वका लागि कांग्रेस बलियो हुनुपर्ने बताए।

‘लोकतन्त्रको पर्याय कांग्रेस हो, कांग्रेस कमजोर भयो भने लोकतन्त्र मात्र होइन, देश नै कमजोर हुन्छ’, उनले भने, ‘त्यसैले कांग्रेसलाई युवाबीच लिएर जानुपर्छ, उनीहरूलाई पार्टीप्रति आकर्षित गराउनुपर्छ।’

उनले पछिल्ला चुनावहरूमा कांग्रेस आफैँभित्रको असहयोग, गुटबन्दी र अहम्का कारण हार्नुपरेको बताए। 

`जीवन्त र लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो’, उनले भने, ‘तर प्रतिस्पर्धा अर्का पार्टीसँग हो, पार्टीभित्रको इगोका कारण पार्टीलाई हराउने प्रवृत्तिले कांग्रेसलाई घाटा भएको छ।’

कोइरालाले संगठन बलियो भए पनि मत नझर्ने समस्यालाई गम्भीर रूपमा लिनुपर्ने बताए।

‘जिल्ला जाँदा कांग्रेसकै भिड देखिन्छ, तर चुनावमा हारिन्छ’, उनले भने, ‘यसको मुख्य कारण कांग्रेसले कांग्रेसलाई भोट नहाल्नु हो।’

उनले देउवालाई सत्ता गठबन्धनबाहेकका दलहरूसँग पनि संवाद गर्न र राष्ट्रिय सहमतिको वातावरण बनाउन आग्रह गरे।

देउवालाई घरमै नेताहरूलाई चिया खुवाएर देशको विकासबारे छलफल गर्न  सुझाव उनले दिए। 

कोइरालाले भने, ‘नेता भएपछि सबैसित भेट्नुपर्छ, संवाद गर्नुपर्छ।’

कार्यक्रममा राष्ट्रियसभाका पूर्व सदस्य रमेशजंग रायमाझी, सहमहामन्त्री डा. प्रमिला गच्छदार, पूर्वमुख्यमन्त्री केदार कार्की, मोरङ कांग्रेसका सहसचिव सञ्जय मण्डल, महिला संघकी केन्द्रीय सदस्य डा. सीता घिमिरेलगायतले बोलेका थिए।

उनीहरूले कांग्रेसले अब आर्थिक रूपान्तरणको नेतृत्व लिनुपर्नेमा जोड दिएका थिए।

सो अवसरमा ७२ वर्ष उमेर नाघेका दस जना ज्येष्ठ क्रियाशील सदस्यलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad