झापा जिल्लाको दमक नगरपालिका–६ मा रहेको सेवारो होटलमा आगलागी हुँदा करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
आज दिउँसो बजेतिर दिलमाया लावतीले सुरेश कुमार थापाको खाली जग्गा भाडामा लिएर संचालन गर्दै आएकी टिनको छानो र पर्खालले बनेको कच्ची होटलमा आगलागी भएको हो।
खाना पकाउने क्रममा ग्यास सिलिण्डरबाट ग्यास चुहावट भई सिलिण्डर विस्फोट हुँदा आगलागी फैलिएको प्रहरीले जनाएको छ।

होटलमा रहेका लत्ता कपडा, खाद्यान्न, ३ थान फ्रिज, ८ थान ग्यास सिलिण्डर, २ थान इन्भर्टरसहितको सम्पूर्ण संरचना जलेर पूर्ण रूपमा नष्ट भएको छ। होटलमा मात्रै करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको छ।
त्यस्तै, सोही स्थानमा रहेको ज्ञानु रिजालको पक्की दुईतले घरको पछाडिको झ्यालका ७ वटा सिसा फुटेका छन् भने भित्र रहेका लत्ताकपडामा आगो सल्किँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
आगो नियन्त्रणका लागि दमक नगरपालिका, उर्लाबारी नगरपालिका, कमल गाउँपालिकाको दमकल, नेपाल प्रहरी सशस्त्र प्रहरी लगायतको टोली तथा स्थानीयवासीहरूको सक्रिय सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Shares

प्रतिक्रिया