कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्रिय सङ्घीय खाद्य तथा कृषि सङ्गठनको नेपाल र भुटान हेर्ने प्रतिनिधि केन सिमिजु बिच सोमबार भेटवार्ता भएको छ।
सो अवसरमा मुख्यमन्त्री कार्कीले कोसी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत परियोजनाहरू सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गरे। भेटमा मध्य पहाडी जिल्लाहरूमा वातावरणीय प्रभाव कम गर्ने, कृषि क्षेत्र र उच्च मूल्यका फलहरूको उत्पादन, बजारीकरण र व्यवस्थापनमा काममा सहयोग गर्नका लागि आग्रह गरे।
मुख्यमन्त्री कार्कीले कोसी प्रदेशको कृषि, जलवायु र विपद् जस्ता क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न सके उपलब्धि हासिल हुने बताए। कोसी प्रदेश सरकार जलवायु परिवर्तन र यसले पारेका असरका सन्दर्भमा अत्यन्तै चिन्तित रहेको बताए।
उनले कोसी प्रदेश हिमाल, पहाड र तराईको भौगोलिक विविधता युक्त भएकाले जैविक विविधतासहितको प्राकृतिक पहिचान रहेकोले जलवायु र कृषि उत्पादनका क्षेत्रमा काम गर्न सकिने बताए।
आगामी आर्थिक वर्ष विश्व राम सार दिवसका अवसरमा जलवायु परिवर्तनका असरका सम्बन्धमा सम्मेलन आयोजना गर्ने तयारी रहेको जानकारी गराए।
संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको प्रतिनिधि केन सिमिजुले आफूहरू पनि प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताए।
थप काम गर्नका लागि यहाँ सम्पर्क कार्यालय सञ्चालन गरेर अघि बढ्ने तयारी रहेको जानकारी दिएका सिमिजुले प्रदेश सरकारले सञ्चालन गर्न लागेका कृषि र जलवायु लगायतका विषयमा सहकार्य र समन्वय गर्न सकिने बताए।
उनले भने, ‘संयुक्त राष्ट्रिय सङ्घीय खाद्य तथा कृषि सङ्गठनले कोसी प्रदेशमा जैविक विविधता माटो संरक्षण व्यवस्थापन, चुरे क्षेत्रमा वातावरणीय प्रभाव न्यूनीकरण जस्ता विषयमा काम गरिरहेको छ।’
Shares

प्रतिक्रिया