कोशी


धरानका वडाध्यक्षलाई एमाले नगर कमिटीले गर्‍यो कारबाहीको सिफारिस

धरानका वडाध्यक्षलाई एमाले नगर कमिटीले गर्‍यो कारबाहीको सिफारिस

नेपालखबर
असार २१, २०८२ शनिबार २१:१९, धरान

नेकपा एमाले धरान उपमहानगर कमिटीले धरान उपमहानगरपालिका वडाध्यक्षलाई कारबाहीको सिफारिस गरेको छ। 

धरान उपमहानगरपालिका वडा नम्बर-४ का वडाध्यक्ष धनबहादुर राईलाई पदबाट बर्खास्त गर्न नेकपा (एमाले) धरान नगर कमिटीले पार्टी जिल्ला कमिटीलाई सिफारिस गरेको हो।

नेकपा एमाले धरान नगर कमिटीका उपसचिव योगेश काफ्लेले वडा नम्बर ४ का वडा अध्यक्ष राई माथि पार्टी अनुशासन उल्लंघन गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाइएको बताए।

वडा कमिटीको बैठकले ती अध्यक्षले पटक–पटक चेतावनी र लिखित स्पष्टीकरण माग्दा समेत अनुशासन उल्लंघन जारी राखेको भन्दै नगर कमिटीमार्फत जिल्ला कमिटीलाई कारबाहीको सिफारिस गरिएको उनको भनाइ छ।

वडा कमिटी स्रोतका अनुसार, पहिलो पटक २०८० साल वैशाख १६र१७ गतेतिर अध्यक्ष राईलाई वडा कमिटीले लिखित स्पष्टीकरण मागेको थियो। सो समयमा सम्बन्धित वडा अध्यक्ष राईले माफी मागेका थिए र गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए। 

तर, त्यसपछि पनि पार्टी नीति विपरीत गतिविधि दोहोरिएपछि दोस्रो पटक समेत लिखित स्पष्टीकरण सोधिएको थियो। उपसचिव काफ्ले भन्छन्, ‘पछिल्लो पटक असार १० गतेको वडा कमिटी बैठकले अनुशासन उल्लंघनकै कारण कारबाही सिफारिस गर्ने निर्णय गरेको हो।’

श्रमदान कार्यक्रमलाई लिएर स्थानीय कमिटीसँग समन्वय नगरी एकल निर्णय लिएको, अन्य पार्टीहरूसँग सामूहिक कार्यक्रमको योजना नबनाएको र वडा अध्यक्ष राईको अभिव्यक्तिहरूले पार्टीको छवि धमिल्याउने काम गरेको आरोप छ।

‘पटक–पटक मौखिक सम्झाइ–बुझाइ गरिँदा पनि गतिविधि नरोकेपछि कारबाही प्रक्रिया अघि बढाइएको हो’, काफ्लेले भने, ‘नगर कमिटीले वडा कमिटीको सिफारिसलाई जिल्ला कमिटीमा पठाइसकेको छ।’

कारबाहीका लागि सिफारिस भएको भनिएका वडा अध्यक्ष राईले कारबाहीको बारेमा आधिकारिक जानकारी नभएको बताएका छन्। ‘जो दोषी छ, कारबाहीमा परेको छ उसले जानकारी त पाउनु पर्ला नि। अहिलेसम्म जानकारी नै आएको छैन,’ राईले भने, ‘श्रम नगर्नु, छाता ओढेर जनतालाई काम अह्राउँदै हिँड्नु भनेर पार्टीले भनेको होला, मेरो त्यस्तो स्वभाव छैन।’

२०७४ सालको निर्वाचनमा वडा सदस्य निर्वाचित राई जनताको सेवामा निरन्तरता कै कारण नेकपा एमालेबाट टिकट पाएपछि २०७९ सालको निर्वाचनमा सहजै वडा अध्यक्ष जित्न सफल भएको बताउँछन्।

‘राजेन्द्र राई र योगेश काफ्लेले स्पष्टीकरण दिनुपर्ने भनेर पटक पटक  आएको र स्पष्टीकरण आफैँले लेखेर लिएर आऊ भनेपछि उनीहरूले नै यस अघि पनि स्पष्टीकरण लेखेर ल्याएपछि सही गरेर पठाएको हुँ,’ उनले भने। 

वडा अध्यक्ष राई आफूले हर्क राईलाई सहयोग गरेको, कोकाहाको पानी ल्याउन पाइप तान्न गएको, मच्छड मार्न हिँडेको तथा सबै खालको गतिविधिमा लागेर हिँडेकोमा आपत्ति देखिएको बताउँछन्। 

‘मलाई धेरै नबोल्नु भन्थे, मलाई लागेको कुरा मैले बोलेँ,’ उनले भने, ‘म चुप लागेर बस्दा ४ नम्बर वडा अध्यक्ष राम्रो, म बोल्दा नराम्रो भन्ने खालको पार्टीको निर्देशन भएपछि म एक डेढ वर्ष मौन पनि बसेँ।’ नेकपा एमाले जिल्ला कमिटीले भने यस बारेमा कुनै निर्णय गरी नसकेको जनाएको छ।

नेकपा एमाले सुनसरीका सचिव राम कोइरालाले पार्टीका नीतिभन्दा मेयरको निर्देशनलाई मात्रै प्राथमिकता दिएको, श्रम अभियानमा लागेको, पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति दिएको र सामाजिक सञ्जाल तथा डिजिटल मिडियामा पार्टी विरोधी गतिविधि गरेको भन्ने उजुरीहरू नगर कमिटीमार्फत जिल्लामा आएको बताए।

‘पटक–पटक सम्झाउँदा पनि अटेर व्यवहार नरोकेपछि पार्टीले औपचारिक रूपमा लिखित स्पष्टीकरण माग्ने निर्णय गरेको छ’, उनले भने, ‘भोलिदेखि सात दिनको म्याद दिएर स्पष्टीकरण मागिने छ।’

यदि चित्तबुझ्दो जवाफ आएन वा आत्मालोचना गरेर माफी मागिएन भने पार्टीको विधानअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने उनले बताए। 

चित्तबुझ्दो जवाफ आएमा भने सम्बन्धित व्यक्तिसँग छलफल, लिखित आत्मालोचना लगायतका सचेत मात्रै गराउने बताए। ‘पार्टीको कारबाही भनेको निष्कासन मात्रै होइन, विभिन्न चरणमा सचेत गराउने, चेतावनी दिने लगायतका प्रक्रिया पनि हुन्छन्,’ उनले स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad