कोशी


१ अर्ब ३१ करोड भ्याट छली अभियोगमा हार्डवेयर व्यवसायी वियानी कारागार चलान

१ अर्ब ३१ करोड भ्याट छली अभियोगमा हार्डवेयर व्यवसायी वियानी कारागार चलान

नेपालखबर
असार १७, २०८२ मंगलबार २०:१०, काठमाडौँ

विराटनगर महानगरपालिका–७ निवासी ३२ वर्षीय सौरभ कुमार वियानीलाई १ अर्ब ३१ करोड ६४ लाख रुपैयाँ बराबरको मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको आरोपमा  कारागार चलान भएका छन्।

वियानीलाई सोमबार पक्राउ गरी थुनामा पठाइएको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपाल शाक्यले जानकारी दिए।

वियानीले विराटनगरको भट्टाचोकमा ‘न्यू सौरभ ट्रेडिङ र बियानी एण्ड ब्रदर्स हार्डवेयर एण्ड मार्वल’को नाममा चारवटा सटरमा हार्डवेयर पसल सञ्चालन गर्दै आएका थिए।

लामो अनुसन्धानपछि उनले फर्मको नामबाट १ अर्ब ३१ करोड ६४ लाख १८ हजार ५६४ रुपैयाँ बराबरको भ्याट छली गरेको पाइएको शाक्यले बताए। भ्याट छली गरेको प्रमाणित भएपछि आन्तरिक राजस्व कार्यालयले सोही रकम बराबरको धरौटी बुझाउन आदेश दिएको थियो।

तर, वियानीले धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको हो। आन्तरिक राजस्व कार्यालय विराटनगरका कर अधिकृत भवानी प्रसाद दाहालले हस्ताक्षर गरेको थुनुवा पूर्जीमा उनलाई कारागार चलान गर्न भनिएको छ।

प्रमुख कर अधिकृत शाक्यका अनुसार भ्याट छलिको अभियोगमा पक्राउ परेका वियानीलाई अनुसन्धान जारी राख्न आन्तरिक राजस्व विभागका महानिर्देशकको स्वीकृतिपछि कारागार चलान गरिएको हो।

कार्यालयका अनुसार धरौटी वापत नगद वा जमानत बुझाउन आदेश दिइए पनि वियानीले तोकिएको रकम बुझाउन नसकेकाले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २३(घ) अनुसार अर्को आदेश नभएसम्मका लागि उनलाई थुनामा राख्न मोरङ कारागार कार्यालयलाई पत्राचार गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad