पश्चिम बंगालको साउथ कलकत्ता ल कलेजमा भएको सामूहिक बलात्कार प्रकरणका विषयमा व्यक्त धारणाले सत्तारुढ तृणमूल कंग्रेस (टीएमसी) का नेताहरूबीच व्यक्तिगत तहमै विवाद भएको छ।
सुरुमा टीएमसी सांसद कल्याण बनर्जीले सामूहिक बलात्कारबारे यस्तो अभिव्यक्ति दिएका थिए, जसका विषयमा पार्टीमाथि प्रश्न उठ्यो तर तृणमूल कंग्रेसले उनको धारणा पार्टीको नभएको बतायो।
यसपछि पार्टीकै अर्का सांसद महुआ मोइत्राले कल्याण बनर्जीको नाम नलिई उनको भनाइको निन्दा गरिन्। जसको जवाफमा बनर्जीले महुआको व्यक्तिगत जीवनमै आक्षेप लगाएका हुन्।
महुआ मोइत्राले एक्समा गरेको पोस्टको जवाफमा कल्याण बनर्जीले भनेका छन्, ‘महुआ आफ्नो हनिमुन मनाएर भारत फर्किइन् र मसँग झगडा गर्न थालिन्! उनी मलाई महिलाविरोधी भएको आरोप लगाउँछिन्, त्यो के हो? उनले आफ्नो ४० वर्ष पुरानो वैवाहिक सम्बन्ध तोडेर ६५ वर्षीय पुरुषसँग विवाह गरिन्, के त्यसले महिलालाई चोट पुर्याएन?’
भनिन्छ- महुआ मोइत्राले गत महिना मात्र जर्मनीको बर्लिनमा बीजेडी नेता तथा वरिष्ठ वकिल पिनाकी मिश्रासँग विवाह गरेकी थिइन्।
कल्याण बनर्जीले महुआ आफ्नो निर्वाचन क्षेत्रका सबै महिला नेताको विरुद्धमामा रहेको आरोप पनि लगाएका छन्। टीएमसी सत्तामा आएको धेरै समयपछि उनी २०१६ मा पार्टीमा सामेल भएको र राहुल गान्धीको साथीका रूपमा आफ्नो राजनीतिक करिअर सुरु गरेको टिप्पणी बनर्जीले गरेका छन्।
उनले अगाडि भनेका छन्, ‘पार्टीले मलाई कालीगन्ज उपचुनावमा प्रचार गर्न भन्यो, त्यसैले म राजी भएँ। जब म विधानसभामा गएँ, तब स्थानीय विधायकहरूले मलाई भने- महुआले कल्याण बनर्जीलाई प्रचारका लागि यस क्षेत्रमा आउन दिनु हुँदैन भनेकी छन्। मैले मुख्यमन्त्रीलाई फोन गरेर सोधेँ तर उहाँले मलाई प्रचार गर्न कुनै प्रतिबन्ध छैन भन्नुभयो, मैले दीदीलाई भनेँ- यदि म गएँ भने उनी तृणमूल कंग्रेसका उम्मेदवारलाई हराउन प्रयास गर्नेछिन्।’
कल्याण बनर्जीले थप भनेका छन्, ‘नैतिकता उल्लंघनका कारण संसद्बाट निष्कासित सांसदले मलाई उपदेश दिइरहेकी छन्। उनी सबैभन्दा ठूलो महिलाविरोधी हुन्, उनलाई आफ्नो भविष्य कसरी सुरक्षित गर्ने र पैसा कसरी कमाउने भन्ने मात्र थाहा छ।’
दुई नेताबीच किन भयो विवाद?
शनिबार महुआले कसैको नाम नलिई एक्समा लेखिन्, ‘देशको हरेक पार्टीमा महिलालाई घृणा गर्ने मानिसहरू छन्। टीएमसीलाई अन्य दलभन्दा फरक बनाउने कुरा के हो भने हाम्रो पार्टी त्यस्ता घृणित भाषणको निन्दा गर्छ, चाहे त्यस्तो अभिव्यक्ति जसले दिएको होस्।’
सामूहिक बलात्कार प्रकरणबारे कल्याण बनर्जीको भनाइ टीएमसीले आलोचना गरेपछि महुआले उक्त पोस्ट गरेकी थिइन्।
तर कल्याण बनर्जीले आफ्नो पार्टीको वक्तव्यप्रति आपत्ति जनाउँदै भने, ‘म टीएमसीका तर्फबाट एक्समा गरिएको पोस्टसँग पूर्ण रूपमा असहमत छु। के पार्टीले यी अपराधीलाई संरक्षण गर्ने नेताहरूलाई अप्रत्यक्ष रूपमा समर्थन गरिरहेको छ?’
भारतीय सञ्चारमाध्यमका अनुसार वास्तवमा यो विवाद कल्याण बनर्जीले कलकत्ता ल कलेजमा भएको सामूहिक बलात्कारबारे टिप्पणी गरेपछि सुरु भएको हो।
उनले भनेका छन्, ‘यदि साथीले आफ्नो साथीलाई बलात्कार गर्छ भने के गर्न सकिन्छ र? के अब स्कूल र शैक्षिक संस्थाहरूमा प्रहरी तैनाथ हुन्छ? विद्यार्थीहरूले अर्की एक छात्रालाई बलात्कार गरे। उनलाई (पीडित) कसले सुरक्षा दिने? यस्तो अपराध र दुर्व्यवहार कसले गर्छ? केही पुरुषहरूले यसो गर्छन्, त्यसोभए महिलाहरूले कसका विरुद्धमा लड्नुपर्छ? महिलाहरूले यी विकृत पुरुषहरू विरुद्ध लड्नुपर्छ।’
टीएमसीले कल्याण बनर्जीको बयानको आलोचना गरेको छ र यसलाई उनको व्यक्तिगत बयान भनेको छ। साथै पार्टीले उनको भनाइ पार्टीको धारणा नभएको स्पष्टीकरण पनि दिएको छ।
टीएमसीले भनेको छ, ‘यस्तो विचारले साउथ कलकत्ता ल कलेजमा भएको जघन्य अपराधमा पार्टीको विचारलाई कुनै पनि हिसाबले प्रतिनिधित्व गर्दैन। हाम्रो अडान स्पष्ट छ- महिलाविरुद्धको अपराधमा हाम्रो शून्य सहनशीलताको नीति छ र हामी यस अपराधमा संलग्न सबैलाई कडा भन्दा कडा सजायको माग गर्दछौँ।’
हालै पश्चिम बंगालको राजधानी कोलकातास्थित कलकत्ता ल कलेजकै परिसरमा एक छात्रालाई सामूहिक बलात्कार गरिएको थियो। घटनामा संलग्न आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
Shares

प्रतिक्रिया