कोशी


रास्वपा कोसीमा शक्ति संघर्ष : पूर्वसभापति तिम्सिना र प्रवक्ता मैनाली पार्टीबाटै निकालिए

रास्वपा कोसीमा शक्ति संघर्ष : पूर्वसभापति तिम्सिना र प्रवक्ता मैनाली पार्टीबाटै निकालिए

पार्टीको साधरण सदस्यबाटै निकालिएका प्रवक्ता कमलबाबु मैनाली (बायाँ) र पूर्व प्रदेश सभापति राजेश तिम्सिना (दायाँ)।


सुमन सुस्केरा
जेठ २०, २०८२ मंगलबार १४:२२, काठमाडौँ

गत २०७९ को प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र-१ बाट गोमा तामाङ (सरिन), क्षेत्र नम्बर २ बाट लालविक्रम थापा र क्षेत्र नम्बर ३ बाट कमलबाबु मैनाली उम्मेदवार थिए। चुनावताका पार्टीभित्र यी ३ जनाको निक्कै चर्चा हुँदै आएको थियो।  

यद्यपि, ३ जनाले नै चुनाव हारे। चुनाव हारेलगत्तै यी ३ जनाका बीच ध्रुवीकरण हुँदै गयो। अहिलेसम्म दुई जनामध्ये देखिने गरी विवादमा नआएकी गोमा तामाङ हुन्। तर यिनलाई पनि पार्टीभित्र कसैले राम्रो मान्दैनन्। गोमालाई लालविक्रमको इशारामा चलेको भनेर आरोप लाग्दै आएको छ। गोमा तामाङ रास्वपा प्रदेश समितिको कार्यवाहक सभापति हुन् भने लालाविक्रम थापा प्रदेशका महामन्त्री हुन्।

कोसी प्रदेशमा रास्वपाभित्रको विवाद सतहमा आएको लामै समय भइसकेको छ। सरकारी जग्गा विवादमा मुछिएका रास्वपाका प्रदेश महामन्त्री लालविक्रम थापा जति बेला केन्द्रीय समितिले क्लिनचिट दियो, त्यसपछि कोसी प्रदेशमा उनै थापाले आफूविरुद्ध लाग्नेहरूलाई खोजीखोजी कारबाहीको डन्डा चलाउन थाले। 

त्यसैको पहिलो निशानामा परेका थिए, प्रदेश सभापति राजेश तिम्सिना । उनी बैंकको जागिर छाडेर व्यवसायमा लागेका थिए। पछि उनी रास्वपाको राजनीतिमा प्रवेश गरे। सरकारी जग्गा विवादको फाइल तिम्सिनाकहाँ आएपछि उनले  लालविक्रमलाई कारबाहीको लागि केन्द्रमा पठाएका थिए।

सरकारी जग्गा घोटालामा मुछिएका लालविक्रम थापालाई रास्वपा केन्द्रीय कार्यालयबाट उनको कारबाही फुकुवा भएसँगै अहिले कोसी प्रदेशमा रास्वपाभित्र तीव्र असन्तुष्टि चुलिएकाे मात्रै छैन, कारबाही गर्ने प्रक्रियाहरू पनि उसै गरी बढ्दै गएका छन्।
 
कोसी प्रदेशका महामन्त्री थापा यसअघि निलम्बनमा परेका नेता हुन्। उनले इटहरीको जनता माध्यमिक विद्यालयको नाममा रहेको जग्गा भाडामा लिएर पैसा नतिरेको, उक्त मुद्दा किनारा लगाउन सुझाव दिँदा नटेरेको, पार्टीको फेसबुक पेज दुरुपयोग गरेको आरोप लगाउँदै २०८० फागुन ७ गतेबाट कारबाही स्वरूप पार्टीले निलम्बन गरेको थियो। 

त्यसपछि उनले आफ्नो कम्पनीको सेयर नै बेचिसकेको भनेर बचाउ पनि गरे। त्यसैको आधारमा झन्डै ७ महिनापछि उनको निलम्बन फुकुवा भयो। यद्यपि, थापाले पेस गरेका कागजात नै नक्कली र किर्ते हुन सक्ने भन्दै पार्टीभित्रबाट प्रश्न उठाउनेहरू अहिले कारबाहीमा परेका तथा पार्टी सदस्यता नै खारेजीमा परेका छन्।  

जब लालविक्रमको सदस्यताको निलम्बन फुकुवा भयो, लगत्तै तिम्सिनालाई प्रहार गरे। बुवाको १३ दिनको किरियामै बसिरहेका बेला उनलाई साधरण सदस्य समेत नरहने गरी हटाइयाे।

त्यसपछि प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका रास्वपाका प्रदेश समिति सदस्य एवं प्रवक्ता कमलबाबु मैनालीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरियो। केन्द्रीय समितिले सोमबार मात्रै दुवै नेतालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको सार्वजनिक गर्‍यो।

को हुन् मैनाली ?
साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका कमलबाबु मैनाली रास्वपा कोसी प्रदेश समितिको प्रवक्ता थिए। मैनाली पूर्व बैँकर हुन्। अहिले उनी इटहरीमा व्यवसायमा सञ्चालन गर्दै आएका छन्। २१ वर्ष देखि उनी यो व्यवसायमा छन्। मदिरा व्यवसायी संघ सुनसरीको वरिष्ठ उपाध्यक्ष, मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत हुन्।
 
उनी प्रवक्ता भएको बेलादेखि नै उनलाई मुकुल ढकाल पक्षीय नेता भनेर घेराबन्दी गर्न थालियो। त्यसको नेतृत्व तिनै लालविक्रमले गरे। उनी निकट एक नेताका अनुसार मैनालीलाई काम गर्ने वातावरण समेत बनेन। उनी प्रवक्ता हुँदा घेराबन्दीबीच उनले कामलाई निरन्तरता दिँदै गए। माघमा उदयपुरमा जिल्ला भेला थियो, उनलाई निर्वाचन समितिको संयोजकको जिम्मेवारी तोकियो।  

उदयपुर जिल्ला संयोजक सहितको पदाधिकारी र सदस्यहरूलाई सर्वसम्मत गर्नु पर्छ भनेर उनलाई प्रदेश कमिटीले दबाब दियो। उदयपुर जिल्लाका एक नेताका अनुसार सर्वसम्मत हुन नसक्ने भएपछि मैनालीले प्रक्रियामा लग्नुपर्छ भन्दै प्रक्रियामा लगे। उनै लालविक्रमको दबाबमा त्यहाँ नेतृत्व चयनमा विवाद देखियो मैनालीले काम नै गर्न सकेनन्।

उदयपुरमा दिइएको जिम्मेवारी अनुसारको काम गर्न नदिइएको अनि आफूले काम गर्न नसकेपछि पार्टी प्रवक्ताबाट नै राजीनामा दिएको मैनालीले बताए। मैनालीले भने, ‘जिल्ला संयोजक परिवर्तन गर्ने कुरामा विवाद भयो, मलाई काम गर्न नदिइएपछि आत्मसमीक्षा गरेर पदबाट राजीनामा दिने निधो गरेँ।’ 

उनका अनुसार उदयपुरका बहालवाला सभापति चित्रकुमार कार्कीलाई केही पदाधिकारीहरूले हटाउन लागेका थिए। त्यो विधान, निर्वाचन र अधिवेशन सञ्चालन कार्यविधि विपरीत थियो। ‘निर्वाचन प्रक्रियामा लगेर उहाँलाई नै सभापति बनाउने विषयमा अरूले नमानेपछि मलाई पनि विधि विपरीतको कुरा चिन बुझेन,’ उनले भने।
 
उदयपुरको जिल्ला भेला हुन नसकेर बेलुका घर फर्किएर आएका उनले राजीनामा दिएका थिए। पछि यो विषय प्रदेश समितिले स्वीकृति गर्‍यो र काम गर्न नसकेको भनेर कारबाही गर्न प्रस्ताव गर्‍यो। केन्द्रमा प्रदेश कमिटीले सिफारिस गरेपछि सोमबारको सचिवालय बैठकले सदस्य समेत नरहने गरी कारबाही गरेको रास्वपा स्रोत बताउँछ। 

लालविक्रमले आफू निकटका नेतालाई संयोजक बनाउन खोज्दा समस्या भएको  रास्वपाका नेताहरू बताउँछन्। कोसी प्रदेशका ७० प्रतिशत जिल्लाको भेला सकिएपछि प्रदेश भेला तोक्न सक्ने र त्यसले नयाँ नेतृत्व चयन गर्ने भनिएको छ। प्रदेश सभापतिको लागि तयारी स्वरूप लालविक्रमले अहिले जिल्लाहरूमा आफ्नो छुट्टै समूह बनाउँदा नेताहरू कारबाहीमा पर्ने गरेका छन्। 

इलाम, झापा, मोरङ र उदयपुरका जिल्ला भेलाहरूमा उनले आफू निकटका नेताहरूलाई ल्याई सकेको दाबी गरिन्छ। मोरङको भेलामा जथाभाबी खेल्न खोज्दा लालविक्रमका विरुद्ध कार्यकर्ता उत्रिएका थिए। 

पार्टी अभियानको नामै फेरिदिने लालविक्रम
राष्ट्रिय स्वतन्त्र पार्टीले सात वटा प्रदेशमा नै राष्ट्रिय जनसंवाद कार्यक्रम गर्ने निर्णय गरेको थियो। पार्टीको निर्णय अनुसार कोसी प्रदेशको झापामा जनसंवाद कार्यक्रम गर्ने पनि तय भयो तर कार्यक्रम हुन सकेन। त्यही कार्यक्रमलाई फरक नाम दिने काम कोसी प्रदेशले गरिदियो।

केन्द्रको सर्कुलर र योजना भन्दा बाहिर नामै परिवर्तन गरेर प्रदेश संवाद भनेर लाल विक्रमले नै अर्को कार्यक्रम ल्याए। ‘जनसंवाद जनतासँग संवाद गर्ने भनेर केन्द्रको कार्यक्रम थियो’, रास्वपाका एक नेताले भने, ‘प्रदेश संवाद कार्यक्रम चैँ प्रदेश महामन्त्रीको आन्तरिक कार्यक्रम जस्तो देखियो।’ 

ती नेताका अनुसार रास्वपाको कमीकमजोरी, सहयोग, क्षेत्रगत गर्न सकिने कामहरू के के हुन् भनेर जनतासँग गएर जनसंवाद गर्नु पर्नेमा अहिले प्रदेश संवाद भनेर अधिवेशन केन्द्रित गतिविधि गरिएको छ। 

लालविक्रमले त्यही प्रदेश संवादलाई अघि सारेर आफू निकट गुट समेत तयार पार्दै लगेको रास्वपाका नेताहरू बताउँछन्। रास्वपाले जनसंवाद गर्नको लागि सात प्रदेशलाई नै प्रदेश संयोजक तोकेको थियो। 

थापाले भने पार्टीको लाइनभन्दा फरक तरिकाले अभिव्यक्ति दिएका कारण केन्द्रीय अनुशासन आयोगले स्पष्टीकरण सोधेर कारबाही गरेको भन्दै त्यसमा आफ्नो कुनै हात नरहेको उल्लेख गरे।

‘केन्द्रले लिएको निर्णय हो, यसमा हामीले गर्नसक्ने केही पनि थिएन,’ थापाले नेपालखबरसँग भने, ‘उहाँ (राजेश) केन्द्रीय सदस्य भएकाले हाम्रो निर्णय लागू हुँदैन।’

उनले थपे, ‘पार्टीको आधिकारिक लाइनभन्दा बाहिर गरेर लेखेपछि पार्टीको केन्द्रीय अनुशासन आयोगले नै उहाँहरुलाई स्पष्टीकरण सोधेको थियो। उहाँहरुले स्पष्टीकरण नै नदिए पछि कारबाही भयो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad