कोशी


तेह्रथुममा जेठ १० र ११ गते निःशुल्क बृहत् विशेषज्ञ स्वास्थ्यशिविर आयोजना हुँदै

तेह्रथुममा जेठ १० र ११ गते निःशुल्क बृहत् विशेषज्ञ स्वास्थ्यशिविर आयोजना हुँदै

नेपालखबर
जेठ ४, २०८२ आइतबार १७:७, काठमाडौँ

नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज नेपालको संयुक्त आयोजनामा आगामी हप्ता ‘तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर (२०८२)’ सञ्चालन हुने भएको छ।

तेह्रथुम जिल्ला अस्पताल म्याङ्लुङ्मा १० र ११ गते शिविर सञ्चालन हुन लागेको हो। शिविर जेठ १० गते बिहान ९ बजेदेखि ५ बजेसम्म र ११ गते ९ बजेदेखि ११:३० सञ्चालन हुने आयोजकले जनाएको छ।

यस शिविरअन्तर्गत विभिन्न गम्भीर रोगबाट पीडित तेह्रथुमका नागरिकहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण, औषधी वितरण र आवश्यक उपचारको सुविधा प्रदान गरिने आयोजक तेह्रथुम सरोकार समाजले जनाएको छ।

म्याङलुङ नगरपालिका मेयर सञ्जय तुम्बाहाम्फेले शिविरमा नेपालका विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्यग्राहीहरुको स्वास्थ्य परीक्षण गराई उपचारबारे सरसल्लाहका साथै निःशुल्का औषधि उपलब्ध गराइने जानकारी दिए।

उनले भने, ‘पालिका प्रमुखहरुले आफ्नो पालिकाअन्तर्गतका स्वास्थ्यग्राहीहरुलाई बसबाट म्याङ्लुङसम्म ल्याउने-लैजाने गर्नेछन् भने सरोकार समाजले चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई यातायातको व्यवस्था गरी काठमाडौंबाट म्याङलुङसम्म ल्याउनेछ।’

त्यसैगरी, चिकित्सक संघले स्वास्थ्य जाँच एवं नि:शुल्क औषधि प्रदान गर्नेछ भने म्याङलुङ नगरपालिकाले खाने र बस्ने व्यवस्था मिलाउने पालिका प्रमुखले जानकारी गराए।

उक्त दुई दिने शिविर कार्यक्रममा बिपी मेमोरियल, धरान, भरतपुर क्यान्सर अस्पताल, र टिचिङ् अस्पताल, महाराजगञ्जबाट विशेषज्ञ चिकित्सकहरुद्वारा स्वास्थ्य जाँच तथा सकभर उपचारसमेत गरिने तुम्बहाम्फेले जानकारी गराए। यस प्रकारको कार्यक्रम तेह्रथुम जिल्लाको इतिहासमा यो नै सायाद पहिलो हो।

यस शिविरमा क्यान्सर, मुटुरोग, मृगौला, नाक-कान-घाँटी, हाडजोर्नी, स्त्रीरोग, बालरोग, चर्मरोग, मधुमेह, थाइरोइड, आँखा, दाँत, नसा, मानसिक स्वास्थ्यलगायतका विषयमा विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गर्नेछन्। 

काठमाडौँ, भरतपुर, भक्तपुर, विराटनगर, धरान लगायतका प्रमुख अस्पतालहरूका १०० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीहरू सहभागी हुनेछन्। कार्यक्रम संयोजक हरिपतिलाल श्रेष्ठले यस शिविरलाई सफल बनाउन स्थानीय नागरिक, मिडिया र सम्बन्धित निकायहरूलाई सहयोग गर्न आग्रह गरेका छन्।

उनले भने, ‘यो शिविर ग्रामीण क्षेत्रका मानिसहरूका लागि ठूलो अवसर हो। सबैलाई स्वास्थ्य लाभ उठाउन आग्रह गर्छु।’

यसरी, तेह्रथुम जिल्लाको स्वास्थ्य सेवामा तेह्रथुमवासीको पहुँच बढाउन यो शिविरले ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ नगरपालिका र तेह्रथुम सरोकार समाज नेपालको संयुक्त आयोजनामा हुने यो पहिलो कार्यक्रम हो। 

काठमाडौंमा आएर विभिन्न पेसामाआबद्ध तेह्रथुमे दाजुभाइ तथा दिदीबहिनीहरुबिच आपसी सद्भाव र सहयोग गर्ने उद्देश्यले २०६३ सालमा तेह्रथुम सरोकार समाज नेपालको स्थापना भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad