झापामा कर्मचारीबीच कुटाकुट भएको छ। भद्रपुरमा रहेको भेटेरिनरी अस्पताल कर्मचारीका बिचमा कुटाकुट भएको सार्वजनिक भएको हो।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाका दुई कर्मचारीबीच विवादपछि कुटाकुट भएको एक कर्मचारीले जानकारी दिए। अहिले त्यो कुटाकुट भएको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल भएपछि के भएको हो भनेर सोधी खोजी भएको छ।
सोमबार दिउँसो कार्यालयमा सातौँ तहका पशु चिकित्सक सुजन राईले सोही कार्यालयका पाँचौँ तहका कर्मचारी रोहित महतमाथि हातपात गरेको एक कर्मचारीले बताए। कर्मचारी स्रोतका अनुसार, दुईजना बिचको झगडाका क्रममा अर्का कर्मचारी घाइते भएका छन्। घटना छुट्ट्याउन खोज्दा चौथो तहका कर्मचारी दिवाकर सुनरैत पनि गम्भीर घाइते भएका हुन्। सुनरैतले राईको हातबाट मार्तल खोस्न खोज्दा उनको टाउकोमा मार्तल लागी घाइते भएका छन्।
झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कर्मचारीबीचमा विवाद भएको पुष्टि गरे। प्रजिअ अधिकारीले मनमुटाबबाट सुरु भएको विवादको बारेमा आज जिल्ला प्रशासन कार्यालयमा बोलाएर छलफल गरिएको जानकारी दिए।
‘विवादको विषय बाहिर आएपछि मैले दुवै पक्षलाई बोलाएर छलफल चलाएको छु’, उनले भने, एक अर्काकोबीचमा मनमुटाव देखिएपछि त्यसलाई सम्झाई बुझाई गर्ने काम भएको छ।’
भिडियो भाइरल
सामाजिक सञ्जालमा देखिएको २ मिनेट १० सेकेन्ड लामो भिडिओमा एक आपसमा कुटाकुट भएको स्पष्ट देख्न सकिन्छ। भिडिओ फुटेजमा राईले हातमा हतौडा बोकेर महतलाई धम्क्याउँदै औँला ठड्याएको र लगत्तै मुक्का प्रहार गरेको देखिन्छ।
लिक्युड नाइट्रोजन र पशु वीर्य (सिमेन) को हिसाबकिताब नमिलेको भन्दै विवाद भएको पाइएको छ। कुटाई खाएका महतले लिक्युड नाइट्रोजन र सिमेनको विषयमा विवाद भएको बताए।
महत सिमेन संरक्षण तथा रेकर्ड राख्ने जिम्मेवारी पाएका कर्मचारी हुन्।
महतले भने, ‘राई सरले पटक/पटक यी सामग्री लैजानुभयो तर प्रतिवेदन दिनुभएन। सिमेनको करिब ५०० रुपैयाँ पनि नबुझाएपछि विवाद भएको हो। सोमबार फेरि राई सरले ती सामग्री माग्नुभयो, मैले पहिलेको प्रतिवेदन र बक्यौता रकम नबुझाएसम्म दिन नसकिने बताएपछि विवाद सुरु भएको हो।’
Shares

प्रतिक्रिया