विराटनगरमा रहेको नगर बाल क्लब सञ्जालले शिक्षक आन्दोलनका कारण विद्यार्थीको शिक्षामा प्रभाव परेको भन्दै विराटनगर महानगरपालिकाका मेयर र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।
लामो समयदेखि शिक्षकहरूका आन्दोलनका कारण पठनपाठन ठप्प भएको भन्दै विद्यार्थीहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘जारी शिक्षक आन्दोलनका कारण विद्यालयहरूमा पठनपाठन प्रभावित भएको छ। विशेषगरी विराटनगरका सार्वजनिक विद्यालयहरूमा अध्ययनरत हजारौं बालबालिकारविद्यार्थीहरू नियमित कक्षा, पाठ्यक्रम, परीक्षा र विविध शैक्षिक क्रियाकलापहरूबाट वञ्चित भइरहेका छन्।’
बालबालिकाले बुझाएको ध्यानाकर्षण पत्रमा विद्यालयमा शिक्षकहरू अनुपस्थित हुनाले पठनपाठन अवरुद्ध भएको, विद्यार्थीहरू अन्योलमा परेका र शैक्षिक गुणस्तरमा दीर्घकालीन असर पर्ने स्थिति देखिएको बताएका छन्। शिक्षकहरूको आन्दोलनले विद्यार्थीहरूको भविष्यमा गम्भीर नकारात्मक प्रभाव पार्न सक्ने भन्दै बाल क्लबले चिन्ता व्यक्त गरेको छ।
नगरवाल क्लब सञ्जाल, विराटनगरको तर्फबाट शिक्षाका लागि शान्तिपूर्ण वातावरण सिर्जना गर्न पनि माग गरेका छन्।
‘विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाबाट वञ्चित नगरियोस्’, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘कुनै पनि प्रकारको आन्दोलन वा असहमतिले बालबालिकाको शैक्षिक अधिकार प्रभावित हुन नपरोस् भन्ने हाम्रो विशेष आग्रह छ।’
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेवी यादवलाई बुझाएको ध्यानाकर्षण पत्रमा सम्बन्धित निकायहरूले तत्काल पहल गरी शिक्षक तथा सरकारबीच संवादमार्फत समाधान खोज्न, विद्यार्थीको शिक्षालाई निरन्तरता दिन आवश्यक कदम चाल्न र विद्यार्थीहरूलाई समुचित वातावरणमा अध्ययन गर्न पाउने अधिकार सुनिश्चित गर्न आग्रह गरिएको छ।
Shares

प्रतिक्रिया