कोशी


चिकित्सक आन्दोलनको असरः कोसीका केही अस्पतालमा सेवा प्रभावित

चिकित्सक आन्दोलनको असरः कोसीका केही अस्पतालमा सेवा प्रभावित

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार २१:३०, विराटनगर

नेपाल चिकित्सक संघले सुरु गरेको आन्दोलनका कारण कोसी प्रदेशका केही अस्पतालहरूमा सेवा प्रवाह प्रभावित भएको छ।  

नेपाल चिकित्सक संघको कोसी शाखा नेतृत्वमा शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा चिकित्सकहरू धर्ना बसेका थिए।

चिकित्सा शिक्षा आयोगको १६औँ बैठकको निर्णय अनुसार आवसीय चिकित्सकहरूले निर्वाह भत्ता प्राप्त नगरेको भन्दै आवासीय चिकित्सकहरू आन्दोलनमा होमिएका हुन्।

नेपाल चिकित्सक संघ केन्द्रीय समितिको निर्णय बमोजिम शुक्रबार चिकित्सकहरूले सम्पूर्ण निजी तथा सरकारी अस्पताल, क्लिनिक, मेडिकल कलेज र प्रतिष्ठानहरूमा काम नगर्ने बताएका थिए। सरकारी अस्पतालहरूमा सेवा प्रवाह प्रभावित देखिए पनि विराटनगरमा रहेको विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा सेवा खासै प्रभावित भएन।

नेपाल चिकित्सक संघ कोसीका अध्यक्ष डा. राजेन्द्र राजवंशीले शुक्रबारलाई कडाई नगरिएको भएपनि आइतबार सबै ठप्प पारिने चेतावनी दिए। डाक्टर राजवंशी भन्छन्, ‘केही अस्पतालहरूले अटेर गरेको पाइएको छ।  

ठूला भनिएका निजी अस्पतालहरूले नै आवासीय चिकित्सकहरूको निर्वाह भत्ता उपलब्ध नगराउने अडान राख्दै आएका छन्। त्यही अडानका बावजुद चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्।’

प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घले चिकित्सकहरूको आन्दोलनलाई समर्थन गर्ने जनाएको छ। महासङ्घ नेपाल केन्द्रीय उपाध्यक्ष तथा कोसी प्रदेश स्वास्थ्य फ्याक्सन इन्चार्ज अन्जना पोखरेलले निजी अस्पतालहरूले डाक्टरहरूका लागि दिनुपर्ने आवासीय निर्वाह भत्ता दिन्न भन्नु गलत भएको बताइन्।

‘चिकित्सकहरूको आन्दोलनमा हाम्रो समर्थन रहेको छ’, उनले भनिन्, ‘सर्वसाधारणबाट लाखौं असुल्ने निजी अस्पताल सञ्चालकहरू चिकित्सकको सेवा सुविधा दिने कुरामा पन्छिन मिल्दैन।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad