कोशी


दमकमा जागरण सभा गर्दै एमाले, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

दमकमा जागरण सभा गर्दै एमाले, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

नेपालखबर
चैत २९, २०८१ शुक्रबार २०:०, विराटनगर

संघीयता र गणतन्त्रको रक्षाका लागि भन्दै नेकपा एमाले कोसी प्रदेशले दमकमा जनजागरण सभा गर्ने गर्दै छ। 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा प्रदेशभरबाट एक लाखको सहभागिता गराउने एमाले कोसी प्रदेश कमिटीले दाबी गरेको छ। 

दमकको पशु हाटमा शनिबार (चैत ३० गते) हुने सभा कोसी प्रदेशका सबै जिल्लाबाट जनप्रदर्शनमा सहभागी हुने एमाले कोसी प्रदेश प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले जानकारी दिए।  जागरण सभाको अघिल्लो दिन दमकमा  मोटरसाइकल र्‍यालीको आयोजना गरिएको जानकारी दिए।

कार्यक्रम गर्ने स्थलमै शुक्रवार  गरेको पत्रकार सम्मेलनमा  नेकपा एमाले कोसी प्रदेश इन्चार्ज शेरधन राईले सङ्घीय लोकतान्त्रिक गणतन्त्र माथि औला उठाउने तत्त्वलाई सशक्त खबरदारी गर्न सभाको आयोजना गरिएको जानकारी दिए।

‘हामीले ल्याएको सङ्घीय गणतन्त्र जनताको बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्ध हो,’  उनले भने, ‘त्यसकै उपलब्धि रक्षाका लागि दमकमा सभा गरिन लागेको छ।’

चैत १५ गते काठमाण्डौमा  हिंसा भड्काउने, लुटपाट गर्ने समूहलाई कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराइने राईले बताए।  

‘प्रतिगमनकारी शक्तिहरूलाई हामी जवाफ दिन चाहन्छौँ, परिवर्तनको पक्षमा जनता जुनसुकै मूल्य चुकाउन तयार रहेका छन्,’ राईले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा बलियो जनमत सिर्जना गर्दै सामाजिक आर्थिक रूपान्तरणका लागि नेपाली जनता अग्रगमनको पक्षमा रहेका छन्।’ 

पछिल्लो समय भएको सबै खाले अराजक गतिविधिलाई निस्तेज पार्न नेपाली जनता सक्षम रहेको बताए।

सभामा झापा, इलाम, मोरङ, सुनसरी, उदयपुरबाट ठुलो सङ्ख्यामा सहभागी रहने एमालेको दाबी छ। यस्तै पहाडी जिल्लाबाट पनि उल्लेख्य सङ्ख्यामा सहभागी रहने उनले जानकारी दिए। पूर्वबाट आउने सहभागीहरूलाई रतुवा पुल पूर्वबाट नै सभा स्थलमा र्‍याली सहित प्रवेश गराइने छ। 

यस्तै पश्चिमबाट आउनेहरूलाई पश्चिम स्टेसनबाटै र्‍याली सहित सभामा प्रवेश गर्ने भनिएको छ।

सभामा झापामा रहेका सबै जातिका झाँकी प्रदर्शन हुने छन्। यस्तै विभिन्न कलाकारहरूले समेत प्रस्तुति दिने छन्। सभालाई नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन्। 

नेकपा एमालेले पछिल्लो समय राजावादीहरूको प्रदर्शनको विषयलाई लिएर विभिन्न प्रदेशमा जागरण सभा गर्दै आएको छ। जागरण सभा मार्फत नागरिकलाई गणतन्त्रको बारेमा र यसका फाइदाको बारेमा जानकारी गराउँदै लोकतन्त्र गणतन्त्र र सङ्घीयतालाई बलियो बनाउने दाबी गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad