कला


नेपाली संगीतलाई फापेको वर्ष : करोडौँ भ्युजदेखि ग्लोबल ट्रेन्ड कब्जासम्म

नेपाली संगीतलाई फापेको वर्ष : करोडौँ भ्युजदेखि ग्लोबल ट्रेन्ड कब्जासम्म

लक्ष्मी बलायर
चैत २९, २०८१ शुक्रबार २०:३, काठमाडौँ

केही महिनादेखि नेपाली संगीतक्षेत्र दुर्गेश थापाको गीत ‘दुस्मन हेरेको हेर्‍यै’ गीतको कब्जामा छ। वृद्ध होस् वा बालक, या हुन् युवायुवती, सबै यसै गीतको धुनमा रमाइरहेका छन्। वर्षको अन्त्यमा पनि दर्शकहरूले भनिरहेका छन्: दुस्मन हेरेको हेर्‍यै।

सांगीतिक हिसाबले ०८१ को अन्त्य उत्साहपूर्ण भएझैँ सुरुवात पनि रोमाञ्चक नै देखियो। केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’को ‘बुझिनँ मैले’ सँगै नयाँ वर्षको सुरुवात भएको थियो। गत चैत अन्तिममा सार्वजनिक गीतमा समीक्षा अधिकारीले स्वर दिएकी थिइन्।

प्रकाश सपुतको सशक्त शब्द र संगीतमा समीक्षाको मिठो स्वरलाई दर्शकहरूले निकै मन पराए। समाजले महिलालाई हेर्ने दृष्टिकोणबारे व्यङ्ग्य गर्ने यस गीतले समीक्षालाई पुनः चर्चामा ल्याइदियो। सुरुवातदेखि चलायमान सांगीतिक क्षेत्र वर्षभरि नै गतिशील रह्यो।

वर्षकै हिट, युट्युबमा करोडौँ भ्युज
‘बुझिनँ मैले’ मात्र होइन, यो वर्ष सार्वजनिक भएका धेरै गीतले दर्शकको ध्यान तान्न सफल भए। जुन गीतहरूले चर्चा मात्रै पाएनन्, युट्युबमा पनि करौडौँ भ्युज बटुले। यसवर्ष फिल्म ‘खुस्मा’ मा समावेश गीत ‘रुकुम मैकोट’ वर्षकै चर्चित गीत हो।

योगीसहित शान्तिश्री परियारको स्वर रहेको यस गीतले कीर्तिमान समेत रच्न सफल भयो। किनकी यो गीत छिटो १० करोड भ्युज पाउने पहिलो नेपाली गीत समेत हो। वर्षकै हिट यस गीतले हालसम्म १२ करोड २० लाख पटक हेरिएको छ।

त्यस्तै, यसवर्ष सर्वाधिक चलेको अर्को गीत हो: म त ढलेँ ढलेँ। शान्तिरानी परियारको स्वरमा तीजमा सार्वजनिक यो गीत पनि टिकटककै कारण एकाएक चर्चामा आयो। दसैँ-तिहारको बीचमा चलेको गीतमा निकै टिकटक र रिल्स बनेका थिए। यसवर्ष तहल्का मच्याउन सफल यस गीतले पनि युट्युबमा ७ करोड ८५ लाख भ्युज पाइसकेको छ।

सुशान्त केसीको शब्द, संगीत र स्वर रहेको ‘बार्दली’ ले निकै चर्चा बटुल्यो। सुशान्तसहित इन्द्रकला राईको स्वर रहेको यो गीत पनि ग्लोबल ट्रेन्डिङमा परेको थियो। गीतका प्रेमिल शब्दमा दर्शकहरू मन्त्रमुग्ध बने। त्यसैले त युट्युबमा यस गीतलाई ७ करोड २४ लाख बढी पटक हेरिएको छ।

त्यस्तै, दुर्गेश थापा यो वर्ष निकै छाए। प्रायजसो विवादका कारण चर्चामा आउने उनी तारिफयोग्य पात्र बने। ‘दुस्मन हेरेको हेर्‍यै’ गीतले हाइप ह्वातै बढाइदियो। यतिसम्म कि स्टेजका किङका रूपमा उनी उदाएका छन्। ग्लोबल ट्रेन्डिङसम्म परेको यस गीतले हालसम्म ६ करोड १४ लाख बढी भ्युज पाइसकेको छ।

‘छक्का पञ्जा ५’ मा समावेश ‘ब्रेकअप सङ’ पनि यसवर्षको हिट गीत हो। बाबुल गिरीको शब्द, संगीत र स्वर रहेको यस गीत ४ करोड १८ लाख पटक हेरिएको छ। त्यसैगरि, सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ को गीत ‘रैयाँ चाँदीको’ पनि यसवर्ष चर्चामा रह्यो। टिकटक र सामाजिक सञ्जालमा छाएको यस गीतले ४ करोड बढी भ्युज बटुलिसकेको छ।

मायालाई पानको पात, नमस्ते ढोगदिया, स्पर्श संगीत, ए आमा जाम भन्यो मलाई, रेशम, दर्शन गरेँ, आउँथ्यो दसैँ, मखमली, काँधेकुरी, राई माइला र पानको पसल लगायतका गीतहरूलाई दर्शकले मन पराए।    

गीतसंगीतमा रुचाइएको विविधता
यो वर्ष फरकफरक शैलीका फिल्म चलेझैँ चर्चामा आएका गीतहरूमा पनि विविधता देखियो। आधुनिक होस् वा लोक दोहोरी, पूर्वेली भाकादेखि देउडा र कौडा पनि दर्शकको रोजाइमा परे।

‘पुजार सार्की’ मा समावेश कौडा भाका ‘दर्शन गरेँ’ होस् वा ‘गाउँ आएको बाटो’ को गीत ‘राई माइला’। ‘रुकुम मैकोट’देखि रमाइला गीतहरू ‘बिहे भाको छैन’ र ‘ब्रेकअप सङ’ले पनि राम्रो चर्चासहित भ्युज पाए।

‘पूर्ण बहादुरको सारंगी’का काँधेकुरी र रैयाँ चाँदीको जस्ता मौलिक गीत चल्दा सुजन चापागाईंको गीत ‘मखमली’ र ‘एक्लै भएनि’ ले दर्शकको मन छोए। त्यस्तै, युवा पुस्तामाझ चर्चित गायक सुशान्त केसीको ‘बार्दली’ देखि प्रकाश दूतराजको लोकगीत ‘रेशम’ चले।

त्यस्तै, लोकदोहोरी क्षेत्रका गीतहरू पनि दर्शकहरूले अत्याधिक रुचाए। लोक दोहोरीतर्फ खेम सेन्चुरीदेखि शान्तिश्री परियारसम्मका गीतहरू दर्शकको रोजाइमा शीर्ष स्थानमा रहे। खेमका गीतहरू म त ढलेँ ढलेँ, सासू बजै, मायालाई पानको पात, नमस्ते ढोगदियाँ, पानको पसल चर्चासँगै राम्रो भ्युज बटुले। त्यस्तै, शान्तिश्रीले स्वर दिएका रुकुम मैकोटदेखि साँझ पर्‍यो झमक्कैदेखि लौन नि भैया, राधा पियारी, हियारैले उत्साहजनक चर्चा बटुले। बद्री पंग्रेनीको ‘कन्या राशि’ गीतले पनि दर्शकको माया पायो। अर्जुन सापकोटाको ‘बस्यौ अलक्कै’ पनि राम्रै चल्यो। बसन्त थापाको ‘मयाली’ गीतले पनि चर्चासँगै करोडौं क्लबमा पुगिसकेको छ।

त्यस्तै, डेउडा भाकामा हियारै, ओ सालिउ, राधा पियारी चल्दा नेवारी गायक कुमा सागरको ‘फुरफुरी’ पनि राम्रै चल्यो। त्यस्तै, रोजमान मर्हजनको गीत ‘मखं त्वा: या ग्वा’ लाई दर्शकले खुबै मन पराए।

आधुनिकतर्फ एकदेव लिम्बूको ‘झिमझिमाउने आँखा’ चल्दा सज्जनराज वैद्यको ‘९८४१’ चर्चा बटुल्यो। र्‍याप गीततर्फ भिटेनको ‘ज्योज्यो’ देखि मिस्टर डीको ‌‘अक्खा छ’, ब्रिजेश श्रेष्ठको ‌‘कान्छीको कति हो नम्बर’ पनि खत्रा चले।

ग्लोबल ट्रेन्डिङमा पनि कब्जा
यो वर्ष गीतसंगीतमा नयाँ उपलब्धि समेत थपियो। किनकि यो वर्ष धेरै गीतहरू विश्वव्यापी ट्रेन्डिङसम्म पुगे। जुन ऐतिहासिक उपलब्धि समेत हो। गत भदौम टिकटक खुलेसँगै महिनौँअघि सार्वजनिक भएका गीतहरू पनि चर्चामा आए। लोकलयमा तयार पारिएको बाबुकृष्ण परियारको ‘कस्मिरे पछ्यौरी’ टिकटक खुलेसँगै भाइरल भएको थियो।

मौलिक शब्द र मिठो धुन रहेको यस गीतमा लाखौँ टिकटकसहित रिल्स बने। जसकारण यस गीतले ग्लोबल ट्रेन्डिङसम्मको यात्रा तय गर्न सफल भयो। ८ करोड बढी भ्युज पाएको यो गीत विश्वव्यापी ट्रेन्डिङमा पर्ने पहिलो नेपाली गीत भएको कलाकारहरू बताउँछन्।

यो सहित यसवर्षको सर्वाधिक रुचाइएको गीत ‘रुकुम मैकोट’ले पनि ग्लोबल ट्रेन्डिङको यात्रा तय गरेको थियो। दुई महिनासम्म ग्लोबल ट्रेन्डिङमा शीर्ष १०० भित्र अटाएको यो गीत ७३ औँ स्थानमा पुगेको थियो। त्यस्तै, दुर्गेश थापाको ‘दुस्मन हेरेको हेर्‍यै’ पनि यसवर्ष विश्वभरका १०० म्युजिक भिडिओको सूचीको ७७ ‍औँ स्थानमा पर्न सफल भयो।

सुशान्त केसीको ‘बार्दली’ पनि ग्लोबल ट्रेन्डिङको ९३ औँ स्थानमा पुगेको थियो। हेमन्त शर्माको ‘आउँथ्यो दसैँ’ गीतले पनि गएको दसैँमा एकलौटी राज गरेको थियो। यो गीत पनि केही समय ग्लोबल ट्रेन्डिङमा परेको थियो। यस वर्ष धेरै गीतहरू नेपालसहित विभिन्न देशमा युट्युब ट्रेन्डिङमा समेत परे।

पुराना ब्यान्ड पनि जुर्मुराए
कोरोना महामारीसँगै केही वर्षयता नेपालसहित ठूला कन्सर्टहरू हुन सकेका थिएनन्। सोलो प्रस्तुतिको लागि कलाकारहरू देशविदेश पुगे पनि ब्यान्डका कन्सर्ट दर्शकहरूले मिस गरिरहेका थिए। तर, यस वर्षभने डायस्पोरादेखि नेपालमा पनि पुराना चर्चित ब्यान्डहरू गुञ्जिए।

गत कार्तिकमा कन्दरा काठमाडौँमा पहिलोपटक गुञ्जियो। ब्यान्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा ‘एनिभर्सरी कन्सर्ट’ मा आफ्ना हिट गीतमा दर्शकलाई झुमाएको थियो। यससँगै सन् २०२५ को जनवरीसँगै कन्दरा विश्वव्यापी टुरमार्फत डायस्पोराका दर्शकका लागि प्रस्तुति दिइरहेको छ।

त्यसैगरि, गत साता काठमाडौंमा चर्चित ब्यान्ड ‘१९७४ एडी’ ले पनि ३० वर्ष पुगेको अवसरमा हजारौँ दर्शकमाझ प्रस्तुति दिएको थियो। ब्यान्डले सन् २००० मा काठमाडौँमा ‘रक यात्रा’ गरेको थियो। ६० हजार दर्शकहरूको उपस्थिति रहेको कन्सर्ट अहिलेसम्मको भव्य मानिन्छ।

त्यसपछि विदेशमा कन्सर्ट गरे पनि नेपालमा रकयात्राले निरन्तरता पाउन सकिरहेको थिएन। तर, यसवर्ष भने लामो समयपछि ‘रक यात्रा २’ को गर्ने मौका जुर्‍यो। यसलाई ब्यान्डले अन्तिम कन्सर्ट समेत भनेको छ।

त्यस्तै, केही महिनाअघि चर्चित भारतीय गायक सोनु निगमको पनि ठूलो कन्सर्ट भएको थियो। जहाँ निगमलाई सुन्न हजारौं दर्शकहरू पुगेका थिए। त्यस्तै, कर्मा, कुटुम्ब, कुमा सागर एन्ड द ख्वप, एक्सिस र झिल्के एन्ड दी कम्पनी लगायतका ब्यान्डहरूले पनि स्वदेशमा प्रस्तुतिहरू दिए।

यसवर्ष पुराना ब्यान्ड मात्रै ब्युँतेनन्, केही नयाँ सांगीतिक ब्यान्डहरू पनि उदाए। गायक देवेन्द्र बब्लुले ‘दि फिरन्ते’ देखि प्रमोद खरेलले ‘प्रमोद खरेल एन्ड परम्परा’ मार्फत सांगीतिक प्रस्तुति दिए। त्यस्तै, चर्चित गीत ‘कालो केशमा रेलिमई’ का दिनेश ढकालको यसैवर्ष पनि नयाँ ‘दिनेश ढकाल एन्ड डोको नाम्लो’ सुरु गरेका छन्।

नेपथ्य ब्यान्डको कन्सर्टसँगै ०८१ अन्त्य हुँदैछ। हालै विदेशमा थुप्रै कन्सर्ट गरिसकेको नेपथ्य २ वर्षपछि काठमाडौंमाको गोकर्णेश्वरमा ३० गते शनिबार गुञ्जिँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad