२०६७ सालमा तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरी सुरु भएको उदयपुरको त्रियुगा नदीको पुलले पूर्णता पाउन सकेन। निर्माण सुरु गरिएको मोटरेवल पक्की पुल सम्पन्न नहुँदा सर्वसाधारणले आवतजावतमा समस्या बेहोर्दै आएका छन्।
उदयपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा रहेको चौदण्डी गढी नगरपालिका ५ शिवाई र बेल्हा जोड्ने पक्की पुल १५ वर्षदेखि अलपत्र छ। विगत १५ वर्षयता पटक पटक पुल निर्माण छिट्टै सम्पन्न गर्ने भनिए पनि कामै नभएको स्थानीयको गुनासो छ।
एक त पुल नै ढिला गरी निर्माण भएको अनि निर्माण पुरा नहुँदै एक भाग बाढीले बगाएपछि यो पुल निर्माणको काम विगत ३ वर्षदेखि हुन सकेको छैन।
निर्माण सुरु गरिएको १२ वर्षसम्म सम्पन्न नभएको पुल २०७८ साल असार १९ गते त्रियुगा नदीमा आएको बाढीले पुलको एउटा भाग बगाएको थियो। ३ सय ७ मिटर लम्बाइ रहेको १२ वटा पिलर र ११ वटा स्ल्याब रहेको पुलको दक्षिण पश्चिम क्षेत्र शिवाई तर्फको पहिलो र दोस्रो पिलर नदीमा भासिएको थियो।
स्थानीय हर्कबहादुर बस्नेतले ढिलो गरी निर्माण हुँदै गरेको पुल निर्माण सकिने बेला फेरि भासिएपछि कोही हेर्न नआएको बताए।
‘हामीले आशा गरेको यो पुल लामो समयदेखि अलपत्र परेको छ’, उनले भने, ‘अलपत्र परेको बारेमा प्रधानमन्त्रीलाई समेत जानकारी गराउँदा पनि काम हुन सकेन।’
सुरुमा ९ करोड ७६ लाख रुपैयाँ लागत इस्टिमेट गरेर निर्माण सुरु भएको पुल अन्तिम चरणमा पुग्दा लागत बढेर ११ करोड २७ लाख पुगेको थियो। निर्माण सुरु गरिएको १४ वर्ष र पुल भाँचिएको मात्रै पनि ३ वर्ष भइसक्दा पनि कहिले बन्ने हो टुङ्गो नभएको स्थानीय बताउँछन्।
गत भदौ ६ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भाँचिएको पुलको निर्माणका लागि नयाँ नक्साको डिजाइन स्वीकृत भइसकेको र पुल नयाँ डिजाइनमा बन्ने बताएका थिए।
प्रधानमन्त्रीले प्रतिनिधि सभामा गरेको प्रतिबद्धता र सांसदहरूले बेवास्ता गरेको भन्दै स्थानीय पुल निर्माणको लागि चन्दा संकलनमा लागेका छन्।
पुल निर्माण नहुने अवस्था आएपछि चन्दा संकलन गरेर वैकल्पिक रूपमा काम सुरु गर्ने गरी छलफल सुरु भएको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तुलसी ढकालले जानकारी दिए।
शुक्रबार स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, उद्योग वाणिज्य संघका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको भेलाले पुल सम्पन्न गर्न जनस्तरमा वैकल्पिक उपायको खोजी गरी पुल सञ्चालन गर्ने सहमति भएको बताए।
शुक्रबार भएको सर्वदलीय, सर्वपक्षीय भेलाले स्थानीय देवनारायण चौधरीको संयोजकत्वमा बाँध निर्माण समिति गठन गरेको छ।
उक्त समितिले जन स्तरमा चन्दा सङ्कलन गरेर पुलको भाँचिएको भाग पुर्ने र बाँध निर्माण गरेर तत्काल साना सवारी आवतजावत हुने गरी उपायको खोजी गर्ने सहमति भएको समितिका संयोजक चौधरीले जानकारी दिए।
राज्य लाग्दासमेत बन्न नसकेको पुल स्थानीयले संकलन गरेको चन्दाबाट वैकल्पिक रूपमा सञ्चालन हुने आधार भने देखिँदैन।
अल्पकालीन रूपमा समस्याको समाधान भए पनि वर्षामा आउने बाढीले बनाएको बाटो भत्काएर नागरिकको लगानी पनि जोखिममा पर्ने हो की भन्ने चिन्ता स्थानीयको छ।
२०६७ सालमा पुलको निर्माणको जिम्मा लिएको महालक्ष्मी/लोकप्रिय जेभी कलंकी अहिले सम्पर्कमा नआएको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ।
Shares

प्रतिक्रिया